गुरुराष्ट्रबाट हराएका गुरुहरु
वैदिककालदेखि नेपालका अधिकांश हिमाल, पहाड, गुफा, नदी, जंगल आदिमा विद्याको सागर लहराउँथ्यो, साधकहरु बस्थे, परीक्षणको होड चल्थ्यो, प्रशिक्षणको प्रकाश फैलन्थ्यो। गुरुकुल र वंशकुल (परिवार) बाट विद्या, सीप, कला आदिलाई हस्तान्तरण तथा पुस्तान्तरण गरिन्थ्यो।
ऋषि, साधु र गुरुहरूका पाठशालाहरू हिमालका चोटी, पहाडका टाकुरा, नदीका किनारा र गुफाको एकान्तमा यत्रतत्र भेटिन्थे। यहाँबाट मूल फुटेका ज्ञान र प्रविधिहरू तक्षशिला, नालान्दा, विक्रमशिलामा फूले, फले र संस्थागत रुप लिए।
यहाँबाट गएकाहरू जुनजुन स्थानमा बसे ती क्षेत्रलाई आर्यावर्त, उनीहरूको धर्मलाई सनातनधर्म, उनीहरूको संस्कृतिलाई वैदिक संस्कृति भनियो।
इण्डोनेशियादेखि अफगानस्तानसम्म, तिब्बतदेखि श्रीलंकासम्म हाम्रा शिक्षा, संस्कृति, विज्ञान आदिले जरा गाड्न पुगे। हामी सुस्ताएपछि सिन्धुघाँटीको सभ्यता जग्मगायो।
त्यसको केही शतकपछि वनारसलाई विद्याको भण्डार बनाइयो। समयसँगै वैभवको बासस्थल, ज्ञान मौलाउने भूगोल फरक हुन पुग्यो। अहिले अमेरिका एवं युरोपलाई विद्याको खानी ठानेर विद्यार्थीदेखि विज्ञसम्मको ओइरो त्यतै छ।
भुसुण्डीरामायणको १४० औं अध्यायले राजा दशरथ पशुपति, गुह्ेश्वरीदेवी आदिले दर्शन गर्न आएको, हिमवत्खण्ड, पशुपतिपुराण आदिले कृष्ण, प्रद्युम्न काठमाडौं उपत्यका आएको बताउँछन्।
नेपालका हिमालयतर्फका क्षेत्रहरुमा ऋषिले साधना गरेका गुफा, घाट, तट, जंगल आदि छन्। मुस्ताङको लोमाङथानमा लोमश ऋषिको साधनास्थल छ।
कागभुसुण्डीले तिलिचो ताल, गोरखाजिल्लाको भुसुण्डीखोला एवं काठमाडौंको सुन्दरीजलस्थित कागेश्वरमा साधना गरेका थिए। जनकपुर, पशुपति, गोसाइँकुण्ड, मुक्तिनाथलगायतमा दर्शन तथा स्नान गर्न नेपालइतरका महामनाहरू प्राचीन कालदेखि आउँथे।
हामी नेपालमै बसे पनि भेषभूषा, भाषा, संस्कार, अध्ययन, चिन्तनले नेपाली हुन सकेनौँ। देवस्वरूपमा पुजिने गुरु तलबधारी मास्टरमा रूपान्तरित भए। गुरुलाई नमस्कार गर्नु, कखरा चिनेको स्थान सम्झनु मानव अधिकारको हनन् सम्झन थालिएको छ।
हिमवत्खण्ड, (७१।१७-१९)का अनुसार “ब्रम्हाजीले यहीँ तपस्यापछि तीन कुण्डको स्थापना गरे, कश्यप र दक्षप्रजापतिले यहीँ साधना गरे। मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनूमान्, कृपाचार्य, परशुराम र विभीषणले यहीँ तपस्या गरेर चिरञ्जीवी भए।”
नेपाल दैवी शक्तिसम्पन्न राष्ट्र हो किनकि जहाँका प्रत्येक पत्थरहरूमा शिवको बास छ, प्रत्येक नदी र खोलाहरूमा विष्णुको निवास छ, प्रत्येक फूलहरूमा ब्रम्हाजीको आसन छ, प्रत्येक बाँसमा कृष्णको धुन छ, हरेक कमलमा सरस्वतीको सुबास छ, हरेक गुफामा सिद्धहरूको तपस्यास्थल छ।
नेपाल शैवभूमि हो। महादेवले नाचेको भूमि, व्याकरणका चौध सूत्रको उत्पत्तिस्थल नेपालै हो। सतीदेवीको अंक पतन भएको स्थानमा चौसठ्ठी शिवलिङ उत्पन्न भए।
त्यस स्थानमा जुन ऋषिहरूले साधना गरे उनीहरूकै नामबाट ती शिवलिङको नाम राखियो। ललितपुरस्थित कालेश्वरशिवलिङमा यमराजले, मकवानपुरको पाण्डुकेश्वर शिवलिङमा पाण्डवहरूले पूजा गरे।
असित ऋषिले गौतम बुद्धको पैतालामा चक्रको चिन्ह, हात र खुट्टाको चमकलगायतका दैवी लक्षण देखेपछि नारायणको अंश एवं विष्णुको नवौँ अवतार भनी भविष्यवाणी गरे। धादिङजिल्लामा रहेको असितेश्वर शिवलिङले असित ऋषि यहीँका थिए भन्ने बताउँछ।
कञ्चनजङ्घा हिमालदेखि कालीञ्चोक पर्वतसहित दार्चुलासम्मको भूगोलले देवी, दुर्गा, कालीको इतिहास बोकेका छन्। यहीँबाट शैव र शाक्त तन्त्रको विकास, बोन र बौद्धधर्मको प्रसारण भयो। नेपालले देवता र ऋषिमात्र जन्माएनन् देवी र ऋषिकाहरूसमेत पैदा गरे।
यहीकारण मच्छेन्द्रनाथ, गोरखनाथ र शंकराचार्यहरू तीर्थमयी नेपालको दर्शनाभिलाषी भएर आए। गोरखामा बसेर गोरखनाथले द्रव्य शाह, राम शाह र पृथ्वीनारायण शाहलाई आशीर्वाद दिए।
नेपालको गौरीशंकरदेखि मृगस्थलीसम्म, हलेशीदेखि गोसाइँकुण्डसम्म, वैद्यनाथदेखि पाथीभरासम्म महादेव र पार्वतीको इतिहास जोडिएको छ। शिरध्वज जनकले यहीँ सीतालाई प्राप्त गरे, जनकदर्शन लेखे।
देवपत्तन (पाशुपत क्षेत्रलाई देवपत्तन भनिन्छ जसको अर्थ देवीदेवताको निवास स्थान हुन्छ) र ऋषिपत्तन (ऋषिहरूको निवासस्थानका रूपमा इतिहासले नुवाकोटलाई बताएको छ) यही राष्ट्रमा पर्छन्।
नरहरिनाथ महाराजीका अनुसार काशीभन्दा पहिले विद्याको केन्द्र कास्की भएकाले न्याय हराए गोराखा जानु विद्या हराए कास्की भन्ने चलन थियो। पर्वतबाट ज्योतिष, कास्कीबाट विद्या हराएपछि भारतको काशी ज्ञानलाई काखमा खेलाउन थाल्यो।
भारतबाट मात्र होइन चीन र तिब्बतबाट प्रभावकर मित्र, ह्वेनसाङ, लिंपियाओ, शान्तरक्षित, मञ्जुश्री आदि महामनाहरू विभिन्न प्रयोजनका लागि नेपाल आएका थिए।
क्रकुच्छन्द बुद्धले शिवपुरीडाँडामा शिष्यहरुलाई भिक्षु बनाउने क्रममा जुङ्गा, दाह्री खौरिएर चूडाकर्म गराई वाक्यद्वारा वाग्वतीको उत्पत्ति गराएको चर्चा स्वयम्भूमहापुराणले बताउँछ। जैनधर्मका आचार्य भद्रबाहु र स्थूलभद्रसमेत नेपाल आएका थिए।
यसरी साधना गर्न, ज्ञानलाई परिष्कृत गर्न, देवस्थल र तीर्थस्थलको दर्शन गर्न, विज्ञानको परीक्षण गर्न आउँथे। यसैले यो भूमि देवभूमि, ध्यानभूमि, ज्ञानभूमि भयो अनि गुरुभूमि वा गुरुराष्ट्रका नामले चिनिन थाल्यो।
दमौलीमा बसेर वेदव्यासले वेद संकलन गरे, महाभारत र पुराणहरु लेखे। लुम्बिनीले त्रिपिटक दियो, जनकपुरले याज्ञवल्क्यस्मृति, अष्टवक्रगीता र जनकदर्शन जन्मायो, किँरातप्रदेशमा मुन्धुमको सुगन्ध फैलियो।
गौरीशंकर हिमालमा बसेर महादेवले पार्वतीलाई तन्त्रको अभ्यास गराए, यहीँ विश्वामित्र ऋषिले गायत्री मन्त्र प्राप्त गरे। योगीराज नरहरि नाथका अनुसार जुम्लाबाट जैमिनीले जैमिनी सिद्धान्तलाई फैलाए।
यसरी मन्त्र, तन्त्र, यन्त्र, ज्ञान, विज्ञानको बिजारोपण भए पनि विभिन्न भेग र भूगोलबाट यहाँ आउने क्रम शुरु भयो। विभिन्न ऋषिहरुले ऋषिकुल, गुरुकुल, वंशकुलद्वारा ज्ञान र विज्ञानलाई हस्तान्तरण र पुस्तान्तरण गर्न थाले। आदि नेपालमै संकलन गर्ने र लेख्ने काम भयो।
अक्षर, शब्द, वाक्य गठन र लेखनको अभ्यास यहीँबाट भयो। ढुङ्गा, तामा, सुन, भोजपत्र आदिमा लेख्ने कला विदेशीबाट हाम्रा पुर्खाले सिकेका होइनन्। मन्दिर, गुम्बा, विहार, तीर्थस्थलमा अभिलेख राख्ने परम्परा हामीले नै जन्माएका थियौँ।
ज्ञानलाई परमात्माको प्रसाद मानिने हुँदा विद्याका मन्दिरबाट ज्ञान बेचिँदैनथ्यो। उपयुक्त व्यक्तिलाई दिइने हुँदा विद्यादानलाई सर्वोत्तम दान मानिन्छ। पैतृक सम्पत्ति सबै सन्तानले बराबर नपाउन पनि सक्छन् तर गुरुबाट ज्ञान समानरूपले शिष्यहरूलाई दिइन्छ।
ज्ञान र विज्ञानको वितरणस्थललाई गुरुकुलका नामले चिनिन्छ। गुरुकुलमा विद्यार्थीहरू भर्ना गर्दा जात, भात, आर्थिक हैसियत सोध्ने चलन थिएन। न त फिसको बोझ, न त तीन/चार वर्षका कलिला नानीहरूलाई किताब, कापी र खाजाको भारी बोकाइन्थ्यो।
फि तिर्न नसकेर परीक्षा दिन एवं प्रमाणपत्र लिन नपाउने अवस्था थिएन। व्रतबन्धदेखि २५ वर्षसम्म गुरुको आश्रममा बसेर ब्रम्हचर्य पालनसहित अध्ययन गर्नुपर्दथ्यो। गुरुका ज्ञान र अनुभव निःशुल्क रूपमा छात्र-छात्रालाई पढाइदिने, सिकाइदिने, अभ्यास गराइदिने परम्परा थियो।
आफ्नो ज्ञान नदिई मर्यो भने ब्रम्हराक्षस हुन्छ भन्ने डरले पनि शिक्षा सर्वसुलभ रूपमा पाइन्थ्यो। घर वा विद्यालयबाट सहजै ज्ञान पाउँथे।
गुरुकुल र शिक्षालयहरू जंगल, नदी एवं प्राकृतिक स्वरूपले सुन्दर, शान्त ठाउँमा हुन्थे।
छात्रछात्राहरू हलो जोत्ने, युद्ध गर्ने, संस्कार सिक्ने, जीवन र जगत् पढ्ने, सामूहिक संगठनमा आबद्ध हुनेलगायतका विषयमा निपूर्ण हुनुपर्दथ्यो। गुरुकुलमा नर(मानिस)लाई नारायण बनाइन्थ्यो।
जहाँ शास्त्र र शस्त्रको अभ्याससहित माला र भालाको प्रशिक्षण गराइन्थ्यो। शास्त्र र मालाले मुक्ति दिलाउँछ, शस्त्र र भालाले खाना र राष्ट्र सुरक्षा गर्न सहयोग गर्छ। सर्वशास्त्र र सर्वशस्त्रमा पारंगत गुरुहरूसँग शिष्यहरूले विधिसम्मत् तरिकाबाट ज्ञान लिन्थे।
कुल र मूललाई जोगाउन गुरुकुलको अहंभूमिका रहन्थ्यो। गोत्र र प्रवर, सामे र पाछा, समाज र स्रष्टाको तन्तुलाई जोड्न गुरुकुलको योगदान थियो। शिक्षा र संस्कारको अभ्यास गराउने, शास्त्र र ग्रन्थको अध्ययन गर्ने, पास होइन प्रशिक्षित गर्ने कार्य गुरुकुलमा हुन्थ्यो।
श्रद्धा र परिश्रम नभई शिक्षाको अंकुरण एवं समाजको अस्तित्व मौलाउँदैन। गुरुकुलमा विश्वास र श्रद्धा लहराउँथे, संस्कार र संस्कृति फुल्थे, ज्ञान र विज्ञान झुल्थे।
हाम्रो भूमिमा माष्टर, सर, टिचरले होइन गुरुआमा र गुरुबाले पाठ्यपुस्तकका विषयवस्तुसहित जीवन र जगत्लाई पढाउनुहुन्थ्यो । ब्रम्हतत्व जानेको, अनुभूत गरेको, दक्ष शिक्षकलाई गुरु भनिन्छ। विद्यार्थीभित्रको अँध्यारो हटाई ज्ञानको ज्योति बालिदिने ईश्वरको प्रतिनिधि नै गुरु हो।
उनीहरूले ज्ञानार्थीहरूलाई छात्रछात्रा बनाउँथे। गुरुले शिष्यलाई छोरा-छोरी, शिष्यहरूले शिक्षक-शिक्षिकालाई माता-पिता सम्झन्थे। गुरुकुलमा राजाको सन्तान र ककांलको वंशमा विभेद थिएन। परशुरामले भीष्मपितामह, द्रोर्णाचार्य, कर्ण आदिलाई, सान्दिपनि गुरुले सुदामा र कृष्णलाई समभावले पढाए।
वैदिक शास्त्रले दुई प्रकारका वंश (सन्तान) बताएका छन्। गुरुको ज्ञान, अनुभव, सीप–कला आदि लिई उहाँकै नामबाट चिनिएका सन्तानलाई नाद पुत्र वा पुत्री भनिन्छ। अविवाहित गुरुको अन्त्यष्ठी (मृतकर्म) गर्ने अधिकार छात्र-छात्रालाई हुन्छ।
संन्यास दीक्षा लिएको नादपुत्रलाई संन्यास नलिएको नादपुत्रको भन्दा धेरै अधिकार हुन्छ। दोस्रो सन्तान हो, औरस (विन्दु) वंश–बुबा, आमाबाट जन्मिएको सन्तानलाई औरस पुत्र-पुत्री भनिन्छ। उनीहरूले बुबाको गोत्र र सम्पत्ति प्राप्त गर्दछन्, जुन परम्परा अहिले सर्वाधिक प्रचलनमा रहेको छ।
विद्यार्थीहरू निमेक(ज्याला)का लागि होइन विवेकका लागि पढ्दथे। विद्या विवादाय धनं मदाय शक्तिः परेषां परिपीडनाय अर्थात्, “विद्या विवाद जित्न, धन घमण्ड देखाउन, शक्ति अरूलाई दुःख दिन आर्जन गरिँदैनथ्यो।”
गुरुले शिष्य र छात्रछात्रामात्र उत्पादन गर्दथे । शिष् अनुशिष्टौ र शाष् अनुसिष्टौ धातुबाट शिष्य शब्द बन्दछ। जसको अर्थ अनुशासनमा रहनु वा पालना गर्नुहुन्छ। शासितुं योग्य शिष्यः गुरुको शासनमा प्रशिक्षित हुन अनुशासनमा रही अध्ययन गर्न रमाउने नै शिष्य हो।
हजारौँ शिष्यहरूमध्येबाट थोरै छात्र बन्दथे। गुरोर्दोषावरणं छत्रमस्यास्तीति छात्रः अर्थात् गुरुमा भएका दोषलाई त्यागेर राम्रा गुण, ज्ञान लिनेलाई छात्रछात्रा भनिन्छ।
गुरुमाथि श्रद्धा र विश्वास गर्नेको ज्ञान, सीप, साधना नै फलीभूत र जीवनोपयोगी हुन्छ। त्यसैले ब्रम्हा, विष्णु र महादेवका रूपमा गुरुलाई पूजन र स्मरण गरिन्छ।
गुरुको वचनलाई आशीर्वाद र मन्त्र मानेर उहाँका चरणकमलमा शिर राख्नेहरू वेदव्यास, गोरखनाथ, षडानन्, स्वर्गद्वारीमहाप्रभू, फल्गुनन्द महागुरुजस्ता उदाहरणीय शिष्य बन्दछन्।
आजका विद्यार्थी भोलिका सचिव, प्रधानसेनापति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रपति हुन्छन्। शिक्षा र सरस्वती कहिल्यै बन्ध्या हुँदिनन् तर त्यसका लागि गुरुको वचन वा मार्गदर्शनलाई अनुशरण गर्नुपर्छ।
गुरुमुख्याः क्रियाः सर्वाः भुक्तिमुक्तिफलप्रदाः ।
तस्माद् सेव्यो गुरुर्नित्यं मोक्षार्थिभिः समाहितैः ।।
अर्थात्, “गुरु सबैको भुक्ति–मुक्तिको कारक हो। मोक्ष वा योग्यता चाहने शिष्यहरूले गुरुको सेवा गर्दै विद्यार्जन गरोस्।” हाम्रो गुरुकुल र वंशकुलमा समस्या आउन थालेका छन्। कुलमा विध्न आए मूल पनि सिद्धिन्छ।
गुरुकुलले शिक्षा, संस्कृति र संस्कारलाई, वंशकुलले परिवार र परम्पराको जर्गेना गर्छ। आधुनिक र पाश्चात्य विद्या पढ्ने बाहानामा गुरुकुललाई नाश गरियो। हाम्रा विद्यार्थी न त विदेशका, न त स्वदेशका बने।
न त योगदान दिन सक्ने, न त भविष्यलाई सम्हाल्न सक्ने भए। उनीहरूभित्र राष्ट्र, धर्म, पुर्खाको सुगन्ध आउन सकेन। विदेशी र अन्तरसंस्कारबीचको विवाहले वंशकुलको विनाश भयो।
हामी नेपालमै बसे पनि भेषभूषा, भाषा, संस्कार, अध्ययन, चिन्तनले नेपाली हुन सकेनौँ। देवस्वरूपमा पुजिने गुरु तलबधारी मास्टरमा रूपान्तरित भए। गुरुलाई नमस्कार गर्नु, कखरा चिनेको स्थान सम्झनु मानव अधिकारको हनन् सम्झन थालिएको छ।
कुन कलेज एवं विषय पढ्दा जीवन चल्छ, विदेश पुगिन्छ त्यसैमा विद्यार्थीको ओइरो छ। अहिले शिक्षा एवं शिक्षण संस्थाहरूमा नेपालीपन, संस्कृति र सन्तानको भविष्य छैन।
गुरुकुलमा बिहान, दिउँसो, बेलुका कुनै न कुनै विषयमा अध्ययन, चिन्तन, तर्क, अभ्यास भइरहन्थ्यो अर्थात् विद्याको यज्ञ अविच्छिन्न रूपमा चलिरहन्थ्यो। प्रयोग र परीक्षणविना कुनै पनि सीप र शिक्षा सिकाइँदैनथ्यो।
विद्या मुक्तिका लागि हो अर्थात् अवरोध, अज्ञान र अभावलाई बिदा गर्ने साधन हो। योग्यतालाई थर्काएर, चोरेर, किनेर पाएपछि प्रमाणपत्र झोलामा, ज्ञान किताबमा हुन पुग्यो । याज्ञवल्क्यशिक्षामा भनिएको छ-
गुरुशुश्रूषया विद्या पुष्कलेन धनेन वा ।
अथवा विद्यया विद्या चतुर्थं नैव कारणम् ।।
अर्थात्, “गुरुको सेवा गरेर, पैसा तिरेर, विद्या साटासाट गरी यी तीन तरिकाले विद्या प्राप्त गर्न सकिन्छ, त्योबाहेक चौँथो उपाय छैन।” मिहिनेतबाट प्राप्त ज्ञान र सीपमात्र भविष्यमा उपयोगी हुन्छ। सजिलै पाइएको वस्तुको अर्थ हुँदैन, महत्व बुझिँदैन।
टेलिभिजन, पत्रिका, नेट आदिबाट प्राप्त सूचना विद्या होइन जानकारी हो। योग्य र संस्कारी गुरुका साथमा रही ज्ञान लिनुपर्छ। छात्र हुँदाको परिश्रम, पुस्तकको महत्व बुझेमात्रै विद्याको महिमा थाहा हुन्छ।
अध्ययन अवधिमा कागको जस्तो चेष्टा (होशियारी), बकुल्लाको जस्तो एकाग्रता, कुकुरको जस्तो छोटो निद्रा, आवश्यकमात्र भोजन, ब्रम्हचर्यको पालन आदि नियम अनिवार्य हुन्छ।
हरेक क्षेत्रमा सफलता पाउन परिश्रम र पुनरावृत्ति गर्न छोड्नुहुँदैन, नियमलाई तोड्न हुँदैन, ध्यानलाई मोड्न हुँदैन, आलस्यलाई जोड्न हुँदैन। व्यवहारमा प्रयोग गर्ने, शंका लागेमा सोध्ने परम्परा छुटेर निश्चित समयमात्र शिक्षक र विद्यार्थी भेट हुन्छन्।
नजानेको सोध्न टिउसन धाउनुपर्छ, नगदलाई समर्पण गर्नुपर्छ। यसरी गरिबका लागि ज्ञान आर्जन गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ बनेको छ। चाणक्यनीतिमा भनिएको छ-
सुखार्थी चेत् त्यजेद्विद्यां विद्यार्थी च त्यजेत् सुखम्।
सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।।
अर्थात्, “सुख चाहनेले विद्या त्याग्नुपर्छ, विद्यार्थीले सुख त्याग्नुपर्छ, सुख चाहनेले कसरी विद्या प्राप्त गर्न सक्छ र? विद्यार्थीले कसरी सुख प्राप्त गर्छ?” छोराछोरीलाई संस्कार होइन सम्पत्ति दिने लहरले विद्यार्थी बढ्दै छात्रछात्राको संख्या घट्दै गएको छ।
अभिभावकहरूले ज्ञानवर्धकभन्दा मनोरञ्जनका सामग्री दिएर सन्तानको भविष्यमाथि खेलवाड गरिरहेका छन्। सुविधाबाट बञ्चित होइन, साधनलाई दुरुपयोग गर्न गुरुकुलमा दिइँदैनथ्यो। ‘श्रुत्वा धर्मं विजानाति श्रुत्वा त्यजति दुर्मतिम्।
श्रूत्वा ज्ञानमवाप्नोति श्रुत्वा मोक्षञ्च लभ्यते अर्थात्, “सुनेर नै धर्मलाई जान्न सकिन्छ, सुनेर दुष्कर्महरूलाई त्याग्न सकिन्छ, सुनेर ज्ञान प्राप्त गर्न सकिन्छ, सुनेर मोक्ष प्राप्त गर्न सकिन्छ।”
अहिलेका विद्यार्थीहरू बोलेरै जित्ने प्रयास गर्दछन्। जित्नु भन्दा सिक्नु महत्वपूर्ण कुरा हो। श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यः ज्ञानलाई बचाई राख्न, विज्ञानलाई फूलाई रहन, विवेकलाई जगाइरहन गुरुराष्ट्रलाई जोगाइरहनुपर्छ। नेपालमा गुरु र गुरुकुल हुँदासम्म गरिबी, भ्रष्टाचार, कुसंस्कार, अविकाश थिएन।
गुरुत्व भएकाले नै विदेशीलाई नचाउने, छिमेकीलाई घुमाउने, राष्ट्रलाई बनाउने तागत थियो। गुरुकुलबाट ऋषिहरू जन्मिए, वीरहरू पैदा भए, ध्यानीहरू उत्पन्न भए, ज्ञान र विज्ञान फुले, सुख र शान्ति मौलाए।
हामी विदेशमा पलायन होइन विदेशीहरु सिक्न, बुझ्न नेपाल आउने वातावरण बताउनुपर्छ। लक्ष्मण रेखा कोर्ने तागत, पाशुपतास्त्र बनाउने शक्ति, दर्शन र वेदलाई जन्माउने भूऊर्जा भएकाले नेपाल गुरुराष्ट्र थियो।
यहाँका ऋषिमुनि, साधकहरु गुरु थिए। हामी त्यहीँ विरासत, वैभव र चेतनामा फर्कन आवश्यक छ अन्यथा लुम्बिनीमात्र होइन भूगोल एवं धर्मसमेत छिमेकीको हुन बेर लाग्दैन। यसैले हरेक क्षेत्रका गुरु, विभिन्न तहका ज्ञान, अनेकौँका प्रकारका विज्ञानलाई पुनः बित्यूँताउनुपर्छ र गुरुसहित राष्ट्रलाई जगाउनुपर्छ।
Facebook Comment