बजेट जनमुखी र जनताप्रति जवाफदेही छ : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारद्वारा प्रस्तुत बजेट जनमुखी, सन्तुलित र जनताप्रति जवाफदेही रहेको बताएका छन् । विनियोजित बजेटमाथि प्रदेशसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उनले बजेट इमान्दारीपूर्वक कार्यान्वयन हुने विश्वास दिलाए ।
आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि आज भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश नीति, योजना आयोगलाई अझ गतिशील र जिम्मेवार बनाइने स्पष्ट पारे । उनले प्रदेशको दीर्घकालीन योजनालाई कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।
प्रदेशसभाका सबै सदस्यहरूलाई सम्मानजनक भूमिका निर्वाह गराउन प्रदेश सरकारले कार्यदल बनाउने र उनीहरूलाई विकास र प्रशासन क्षेत्रको अनुगमनको प्रत्यक्ष निर्देशन दिने कार्यलाई प्रोत्साहन गर्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ थियो ।
कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्वास्थ्योपचार, भौतिक पूर्वाधारका क्षेत्रमा दलगत स्वार्थभन्दा माथि उठेर योजना र बजेट विनियोजित गरिने दृढता व्यक्त गर्दै उनले पर्यटन, वन सम्पदा र जडीबुटी खेतीका लागि उच्च प्राथमिकता दिने बताए ।
प्रदेश सरकारले सत्तापक्ष र प्रतिपक्ष भनी विभेद नगरीकन वहुवर्षीय आयोजना, राष्ट्रिय गौरवको आयोजना र भौतिक पूर्वाधार विकासलाई प्रदेशको १३ वटै जिल्लामा सन्तुलित ढङ्गबाट वितरण गरिने लक्ष्य रहेकाले कुनै पनि दलले शङ्का गर्ने स्थिती नरहेको मुख्यमन्त्री जम्मकट्टेलले स्पष्ट पारे ।
प्रशासन संरचनालाई दक्ष एवं प्रभावकारी तुल्याउँदै लैजाने र प्रदेशको सबै जिल्लामा जनताप्रति सेवाभावले काम गर्ने वातावरणका साथ कर्मचारीलाई परिचालन गरिने बताउँदै उनले बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँबाट जोड्ने भीमफेदी–कुलेखानीअन्तर्गत पर्ने फाखेल, सिस्नेरी सडकलाई आगामी मङ्सिर महिनाभित्रै मर्मतसम्भार गरी कालोपत्र गर्ने कार्यसम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
प्रदेशसभा सदस्यहरूको थप पूरक प्रश्नमा मुख्यमन्त्री जम्कट्टेलले भीमफेदी–कुलेखानीअन्तर्गत पर्ने सुरुङमार्गको सम्भावित निर्माणको लागि आवश्यक प्रक्रियाका बारेमा आगामी भदौभित्रै सरकारले टुङ्गो लगाउने जानकारी गराए ।
उनले सरकारद्वारा ल्याएको बजेटप्रति प्रतिपक्ष दलहरूले बिमति जनाई संसद् अवरुद्ध गरेपछि सरकारपक्ष र प्रतिपक्षबीच सहमति भएअनुसार नै प्रतिपक्षको मागबमोजिम आवश्यकतानुसारको योजना र बजेट इमान्दारीपूर्वक समावेश गर्ने र प्रतिपक्षहरूले त्यसको अनुगमन गर्न आग्रह गरे ।
सो बैठकमा विनियोजित विधेयकमाथि उठेको विभिन्न प्रश्नमा खानेपानी, ऊर्जा तथा यातायातमन्त्री तीर्थबहादुर लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आ–आफ्नो मन्त्रालयको विनियोजित बजेटसम्बन्धमा जवाफ दिएका थिए ।
उक्त बैठकमा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रतिपक्षसँग गरेको सहमतिलाई अक्षरसः पालना गरी कार्यान्वयन गर्नेतर्फ कदम चाल्न सरकारलाई आग्रह गरे । विनियोजित विधेयकमाथि छलफलमा ५२ जना प्रदेशसभाका सदस्यले भाग लिएका थिए ।
Facebook Comment