मल अभाव छैन : कृषि सामग्री कम्पनी

डिसी नेपाल
२२ असार २०८० १२:५८

चन्द्रपुर। रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ।

यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो। लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ। लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै आएको छ।

प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ। सोहि पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धाण गर्ने जनाइएको छ। जिल्लाका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ।

स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल नपाएको विन्दवासिनी कृषि सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले बताए। उनका अनुसार चन्द्रपुर वडा नम्बर पाँचका लागि तीन हजार युरिया र डिएपी माग गरिएको हो। लिमिटेडबाट भने चार सय पाँच बोरा युरिया र दुई सय ५० बोरा डिएपी पाएको उनको भनाइ छ। डिलरले माग गरेअनुसारको रासयानिक मल पाउन नसकेको उनको गुनासो छ।

लिमिटेडको चन्द्रनिगाहपुरमा एक सय ७४ डिलर छन्। एक सय ५० भन्दा बढीले रासायनिक मल लगिसकेको लिमिटेडका निमित्त प्रमुख गोपालप्रसाद घिमिरेले बताए। हालसम्म ७३।१ सय मेट्रिकटन युरिया र ४८।९ सय मेट्रिकटन डिएपी मल बिक्री गरिसकिएको उनले जानकारी दिए।

उनका अनुसार यहाँ एक सय २०.७५० मेट्रिकटन युरिया र ६०६.५ डिएपी र ४२ मेट्रिकटन कृषि चुन मौज्दात रहेको छ। कृषि सामग्रीको खरिद मूल्य प्रतिबोरा युरिया मलको आठ सय पाँच र डिएपीको दुई हजार दुई सय ५५ रुपैयाँ छ भने स्थानीय तहअनुसार बिक्री मूल्य निर्धारण हुने निमित्त कार्यालय प्रमुख घिमिरले जानकारी दिए।

जिल्लामा ५३ हजार पाँच सय ४६.३८ हेक्टर खेतीयोग्य जमिन रहेको छ। रासायनिक मल वितरण निर्देशिका अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहने गर्छ। सो समितिमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहन्छन्। सो समितिले बिक्री मूल्य निर्धाण, डिलर सिफारिस, बाँडफाँट गर्ने, सुपरीवेक्षण र निरीक्षण र कारबाही गरी खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *