तामागढी-सिम्रौनगढ सडकको मुआब्जा वितरण गर्न १० करोड ३० लाख विनियोजन

डिसी नेपाल
२२ असार २०८० १४:५३

बारा। बाराको तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम बिनियोजन गरेको हो। सांसद मैनालीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा हुलाकी राजमार्ग योजना कार्यालय पर्सा वीरगञ्जमार्फत वितरण गर्ने गरी रकम विनियोजन भएको छ।

हुलाकी मार्गअन्तर्गत आयोजनाले अधिग्रहण गरेको जमिनको मुअब्जा लामो समयदेखि जग्गाधनीले नपाएको भन्दै मैनालीले प्रतिनिधि सभा बैठकमा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत पीडितले पाउनुपर्ने मुआब्जाको विषयमा प्रश्न गरेका थिए।

त्यसैगरी २०८०/८१ को बजेट निर्माणको क्रममा समेत सांसद मैनालीले मुआब्जा वितरणको लागि बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा समेत पत्राचार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *