पोखरामा ट्रेकिङ गाइड तालिम सुुरु

डिसी नेपाल
२३ असार २०८० २२:३८

गण्डकी। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा पाँचहप्ते ट्रेकिङ गाइड तालिम पोखरामा सुरु भएको छ ।

पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका तालिम सुरु गरिएको हो । आवश्यक मापदण्ड पूरा गरी अन्तर्वार्तामार्फत छनोट भएका तीन सय प्रशिक्षार्थी तालिममा सहभागी छन् ।

लेकसाइडस्थित तालवाराही माविमा विभिन्न छवटा सेक्सनमा विभाजन गरी तालिम दिइने संयोजक गोपालकृष्ण सङ्ग्रौलाले जानकारी दिए । विगत ३० वषयता विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।

देशको राजनीतिक उतारचढाव, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा हुन तालिम महत्त्वपूर्ण हुनेमा उनले विश्वास व्यक्त गरे । तालिमले दक्ष जनशक्ति उत्पादन मात्र नभई व्यवसाय गर्न इच्छुकका लागि पनि यो पहिलो खुड्किलो भएको उनले बताए ।

नाथमका प्राचार्य रामकैलाश विच्छाले टानसँगको सहकार्यमा सुरु गरिएको तालिम महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सहभागीलाई अधिकतम ज्ञान, सीप हासिल गर्न आग्रह गरे। तालिममा सहभागीलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले अभिमुखीकरण गराएका थिए।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *