मोफसलमा ‘बगान’
काठमाडौँ। आउँदो शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचत्रि ‘बगान’को टिम मोफसल भ्रमणमा रहेको छ। चितवनबाट सुरु भएको भ्रमणअन्तर्गत बुटवलमा सकेर आइतबार पोखरामा पत्रकार सम्मेलन गरिने निर्माता तथा गीतकार सुरेश वाग्लेले जानकारी दिए।
‘दर्शक र मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उद्देश्यले प्रदर्शनकै सातामा समेत मोफसल भ्रमण गरेका हौँ। हाम्रो सार्वजनिक सामग्रीलाई लिएर उहाँहरू उत्साहित हुनुहुन्छ । केही समयको अन्तरालमा पूर्ण पारिवारिक फिल्म लिएर आउँदैछौँ,’ निर्माता वाग्लेले भने।
भ्रमणमा निर्माता वाग्लेसँगै निर्देशक सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की छन्। डेब्यु अभिनेत्री कार्कीले मोफसल भ्रमण गर्दा भईरहेको साक्षात्कारमा चलचित्रसम्बन्धी जानकारी गराइरहेको बताइन्। ’हामीले प्रत्यक्ष रुपमै उहाँहरुको जिज्ञाषा मेटाईरहेका छौँ। यो मेरो लागि पहिलो अनुभवसमेत हो’, अभिनेत्री कार्कीले भनिन्।
यस्तै, चितवनमा गरिएको पत्रकार सम्मेलनपश्चात टिमले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग भेट गरेको थियो। एकल महिलाको संघर्षसँगै शिक्षाले ल्याउने परिवर्तनलाई देखाइएको फिल्मको बारेमा प्रमुख दाहालले जिज्ञासा राखेकी थिइन्।
‘प्रमुख दाहालले उठान गरेको विषयको बारेमा जानकारी लिँदै यी र यस्तै महिलासँग जोडिएको विषयलाई फिल्ममार्फत समाजमा ल्याउनु पर्ने बताउनुभयो। उहाँ समेत फिल्म हेर्न ईच्छुक हुनुहुन्छ,’ निर्माता वाग्लेले भने।
बगान समूहले एकल आमाले परिचय खुल्ने विवरणका आधार पेस गरेर निःशुल्क फिल्म हेर्न पाउने घोषणा समेत गरिसकेको छ। यसमा नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ। स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन्।
नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुसालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ। चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।
Facebook Comment