रोकिएन ‘असारे विकास’ : जनप्रतिनिधिहरूले कार्यकर्ता पाल्नकै लागि गर्छन् असारमा विकास

डिसी नेपाल
२६ असार २०८० ११:३०

सिरहा। आर्थिक वर्षको अन्त्यमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माण गर्ने ‘असारे विकास’ को बेथिति चालु आर्थिक वर्षमा पनि रोकिएन। स्थानीय तहहरूमा वर्षको ११ महिना सुस्ताए बसेका जनप्रतिनिधि र कर्मचारीहरूलाई आर्थिक वर्षको अन्त्यमा भ्याइनभ्याइ खर्च हुने प्रवृत्ति रोक्न नसक्दा चालु आर्थिक वर्षमा पनि असारे विकासले निरन्तरता पाएको हो।

अपादर्शी ढंगले काम गर्न पल्केका स्थानीय जनप्रतिनिधिले अन्तिम समयमा स्थानीय उपभोक्तालाई दवावमा पारेर काम गर्न असार महिना रोज्ने गरेको आरोप लाग्ने गरेको छ। जनप्रतिनिधिले अन्तिममा काम गराउँदा स्थानीय उपभोक्तालाई ‘ठेक्केदारमार्फत् काम नगराए बजेट फ्रिज हुन्छ’ भन्दै कार्यकर्ता र आफन्तलाई जिम्मा लगाएर काम गर्न असारे विकास रोजेको बताइन्छ।

स्थानीय कर्मचारी तथा उपभोक्ता समितिलाई प्रभावमा पारेर जनप्रनिधिहरूले नामकै लागि उपभोक्ता समिति गठन गरे पनि काम भने अन्तिम समयमा कार्यकर्ता र आफन्तमार्फत् धेरै पालिकाहरूले विकासक निर्माणका काम गराइरहेका छन्। यसको एउटा उदाहरण सिरहाको लहान लगरपालिकाका– १ मटियरवा देखि कृष्णा टोलसम्म गरीएको आरसीसी ढलान पनि हो।

यस कार्यका लागि बेचु चौधरीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन भए पनि काम भने शम्भु चौधरीले गराएका थिए। नगरपालिकाले वडा नम्बर १ मटियरवादेखि कृष्णा टोलसम्म गरिएको आरसीसी ढलान र नाला निर्माणको लागि ६० लाखको विनियोजन गरेको थियो।

आरसीसी ढलान, पक्की नाला तथा पीसीसी ढलान गरिएको साईड इन्जिनियर सुशील मन्डलले ‘छेदी चौधरीको घरदेखि पूर्व कपलेश्वर यादवको घरसम्म २ सय ८७ मिटर लम्बाइ र ६ मिटर चौडाइमा आरसीसी ढलान र १ सय २९ मिटर पक्की नाला निर्माण कार्य भर्खरै सम्पन्न भएको जनकारी दिए। उनले भने, ‘यो योजना आरसीसी ढलानकै थियो। पछि नाप जाँच गर्दा ६ मिटर चौडाइ गर्नुपर्नेमा कुनै ठाउँमा ४, ५ र कुनै ठाउँमा ६, ७ सम्म मात्रै पुगेकोले बाँकी रहेको रकमलाई फ्रिज नहुनदिन पीसीसी ढलान गरेको हो।’

उनले भने, ‘नाला निर्माण र आरसीसी गराउँदा एभरेजमा लम्बाइ र चौडाइ कम भएपछि करिब ९ लाख रुपैयाँ बराबरको क्वानटिटी घटियो । त्यसैलाई पुरानो बाटोमा ग्राभेल भएकै थियो । सोही बाटोमा पीसीसीको योजना नगरले बनायो।’

नाला निर्माण तथा सडक ढलानको लागि गरिएको बजेट विनियोजनमा व्यापक अनियमितता भएको स्थानीयहरू बताउछँन्। यो नगरपालिकामा करिब ४० प्रतिशत विकाश निर्माणको काम असारमा भएको स्रोतको दावी छ।

नगरपालिकामा नगरप्रमुखले भनेकै कन्सट्रक्सनले ठेक्का पाउने र उनकै आसेपासेहरू उपभोक्ता समितिमा बस्न पाउने कार्य भइरहेको नाम नखोल्ने सर्तमा एकजना स्थानीयले जानाकारी दिए।

नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरूले असारमा योजना ल्याउने पूर्व बनेको योजनालाई कार्यकर्तामुखी बनाउने तथा आफन्त र नजिककाहरूबाट काम गराउने प्रवृतिले पनि असारे विकासमा व्यापक अनियमितता भएको पुष्टि गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *