स्वीडेनमा कुरान जलाएको घटनापछि अफगानिस्तानको कडा कारवाही

डिसी नेपाल
२७ असार २०८० १४:०२

काठमाडौं । स्वीडेनको राजधानी स्टकहोमको एक मस्जिदबाहिर भएको विरोध प्रदर्शनका क्रममा कुरान जलाएको विषयमा तालिबान सरकारले स्वीडेनविरुद्ध कडा कदम चालेको छ ।

यो कुरा बाहिर आएपछि तालिवान सरकारले अफगानिस्तानमा स्वीडेनको गतिविधि स्थगित गरेको जनाएको छ । तालिवानका प्रवक्ता जबिउल्लाहले यस सम्बन्धमा विज्ञप्ति जारी गरेका छन् ।

जसमा भनिएको छ, “पवित्र कुरानको अपमान र स्वीडेनमा मुस्लिमहरूको धार्मिक भावनाको अपमान गरेपछि अफगानिस्तानमा स्वीडेनको गतिविधि निलम्बन गरिएको छ। यो निलम्बन जबसम्म मुस्लिमहरूमाथि यस जघन्य कार्यको लागि माफी मागिँदैन तबसम्म यो निलम्बन जारी रहनेछ।”

यस वक्तव्यमा अन्य मुस्लिम बाहुल्य देशहरूलाई पनि स्वीडेनसँगको सम्बन्धमा पुनर्विचार गर्न भनिएको छ । हालै इद-उल-अजहा (बक्रिद) को अवसरमा इराकमा जन्मेका एक शरणार्थीले स्वीडेनको मस्जिद बाहिर मुस्लिमहरूको पवित्र कुरान जलाए।

विगत केही महिनामा स्वीडेनमा कुरानको प्रतिहरू जलाउने योजनालाई लिएर धेरै पटक दंगा भड्किएको छ।

त्यसयता साउदी अरेबिया, इरान र पाकिस्तानलगायत धेरै इस्लामिक देशले स्वीडेनविरुद्ध कडाइको घोषणा गरेका छन् ।

इरान सरकारले स्वीडेनमा आफ्नो नयाँ राजदूत पठाउन समेत अस्वीकार गरेको थियो । यसै क्रममा साउदी अरेबियाले यस विषयमा स्विडेनका राजदूतलाई बोलाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *