युद्ध र अशान्तिको व्यर्थ चाहना
गर्छौ युद्ध अशान्तिको व्यर्थ रचना अहिले तिमी चाहना
मर्छन् निश्चय ती युद्धमा कति त्यहाँ कुन धर्मको नाममा।
आफ्नै स्वार्थ निमित्त सबले ती युद्ध गर्दा माहा
मारिन्छन् अरु र आफ्ना बन्धु सारा ती युद्धमा ।।
जन्मने मर्न नै पर्छ युद्ध छेड्नेहरु पनि
जीतेर गर्नु नै के छ हारे हारको मुनि ।
डाकी मृत्यु अगाडि नै मार्ने छ चाहना भने
जन्मिने हुर्किने फेरी किन ठुलो बनाउने ।।
अर्कालाई लडाई सुखमा हाँस्नेहरु
ती हुन् उन्नति मेल हेर्न कैले नसक्नेहरु ।
माया प्रेम करुणा ती देखेर जलनेहरु
मान्छे बिग्रँदा पनि रमने ती दुर्योधनहरु ।।
मान्छेले जब श्रेष्ठ कर्म जहिले चाहन्छ गर्ने यहाँ
रोक्छन फेरि ति दुर्मतीहरु हालेर भाँजो यहाँ ।
मान्छे युद्ध अशान्तिमात्र झगडा निम्त्याई आफैं किन
खुसी बन्दछ फेरि ती हर्षहरुले हाँसी खुसी जीवन ।।
आफ्नै व्यर्थ अहम निमित्त यसरी मातेर मान्छे किन
होमी दिन्छन् कठै नि रणमा निर्दोष मान्छे किन ।
बाटो युद्ध अशान्तिको कलहको टुंगिन्न कहिल्यै पनि
धोक, जाल र झेल कपटको यो खेल सकिन्न नि ।।
छोडी देउ तिमी लडाइँ र झगडा संहारको चाहना
आऔं सँगबसी गरौँ दुई सधैं आफ्नै मिठो सिर्जना ।
भोलि जन्म लिने सबै शिशुहरू छन् युद्धका त्रासमा
फेरि युद्ध नदोहोरियोेस् अब कहीं कहिल्यै कसैले यहाँ ।।
युद्ध र अशान्तिको छायाँ नि कैले नरहोस् यहाँ
भावी सन्तति माथि फेरि नपरोस् हामी गरौं कामना ।
आमा ढुक्क भएर जन्मन दिउन् सन्तान भोलि यहाँ
कोही आफ्नो घमण्डको लहडमा मान्छे नमारुन् यहाँ।।
पाउन् हाँस्न बसेर सन्ततिसँगै आमाहरुले यहाँ
हेरी राख्न सकुन् सधैंभरी यहाँ आफ्नै मिठो सिर्जना ।
सारा मानिस जातिको अनि यहाँ हुनेछ एउटै स्वर
मान्छे हौँ सव एक भेद नगरौं सानो ठूलो को छ र ।।
Facebook Comment