प्रचण्डको विप्लव भित्र्याउने रणनीतिले माओवादीमा पुन र शर्माको मोर्चाबन्दी

शरद रिजाल
२९ असार २०८० १२:५५

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आन्तरिक राजनीतिमा सदैव प्रतिस्पर्धी देखिएका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन नजिकिएका छन्।

पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना आफ्ना विश्वासपात्र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याउन पहल थालेपछि अलग धारको नेतृत्व गरेका पुन र शर्माले गठजोड गर्न थालेका हुन्।

शान्तिप्रक्रियामा आएपछि विभाजित भएर छिन्नभिन्न बनेको माओवादीमा मूलधारको रुपमा रहेको सत्तारुढ माओवादी केन्द्रले आफ्नै पार्टीबाट विभाजित विप्लवलाई फेरि पार्टीमा ल्याउने पहल गरिरहेको छ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विप्लवलाई पार्टीमा पुनरागमन गराउन निकै मेहनत गरिरहेका छन्। उनकै जोडबलले असार ४ गते गठन गरिएको समाजवादी मोर्चामा विप्लव सामेल भएका हुन्।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले केही समयदेखि विप्लवको प्रशंसामा समय खर्चिन थालेका छन्। उनले आफूलाई पछिल्लो समयमा परेका संकटमा विप्लवले साथ दिएको सार्वजनिक रुपमा बताउँदै आएका छन्।

उनको अभिव्यक्तिले दाहाल र चन्दबीच विगतको कटुता मत्थर पार्दै फेरि सहकार्यको वातावरण बनाउन दुबैले आआफ्नो तर्फबाट पहल गरिरहेका छन्।

विप्लवलाई भित्र्याउने दाहालको रणनीति बुझेका माओवादीका दुई प्रभावशाली नेता पुन र शर्मा भने दाहालको कदमले सशंकित बनेका छन्।

माओवादी विभाजनको श्रृंखला चल्दै गर्दा सधैं साथ दिँदै आएका नेताद्वय पुन र शर्माले आफूहरुलाई भन्दा पार्टी विभाजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विप्लवलाई प्राथमिकता दिएको भन्दै उनीहरु असन्तुष्ट बनेको माओवादी स्रोत बताउँछ।

माओवादी केन्द्रको हरेक प्रतिकूल अवस्थामा साथ दिँदै नेताद्वय पुन र शर्माले पार्टी परित्याग गरेर कमजोर बनाएका विप्लवलाई अध्यक्ष दाहालले प्रश्रय दिएकोमा रुष्ट बनेका हुन्।

उनीहरुले अध्यक्ष दाहालको विप्लवलाई भित्र्याउने लचकताप्रति विगतमा विप्लवले दाहालविरुद्ध गरेको क्रियाकलापको स्मरण गराउँदै कटुतालाई पुनर्जिवित तुल्याउन खोजेको स्रोतले जनाएको छ।

विगतमा आफूविरुद्ध हिंसात्मक आक्रमण गर्न तम्सिएका विप्लवलाई अध्यक्ष दाहालले पार्टीमा मुख्य भूमिका दिएर महासचिव बनाउन खोजेको चाल पाएपछि पुन र शर्मा मोर्चाबन्दी गर्दै एक ठाउँमा उभिएका हुन्।

उनीहरुले विप्लवलाई महासचिव बनाउने पार्टी अध्यक्षको मनशाय बुझेरै आफूहरु मध्येबाटै एक जनालाई महासचिव बनाएमा कुनै आपत्ति नहुने समेत दाहाललाई सुझाएको सा्रेतको दाबी छ।

स्रोतका अनुसार उनीहरुले विगतमा पार्टी र अध्यक्ष दाहालविरुद्ध विप्लवको क्रियाकलाप बारे उनले आत्माआलोचना गर्दै माफी माग्नुपर्ने अडानमा नेताद्वय पुन र शर्मा रहेका छन्।

यिनै नेताद्वयकै आन्तरिक तिक्तताले माअ‍ोवादीले २०७८ पुषमा सम्पन्न गरेको आठौं महाधिवेशनमा पुनको अनुपस्थितिमा पदाधिकारी चयन गर्न असफल भएको थियो। पार्टीमा अध्यक्षका लागि दाहाल निर्विकल्प देखिएपनि अन्य पदाधिकारी करिब एक वर्ष पछि माओवादीले चयन गरेको थियो।

महाधिवेशनको क्रममा स्वास्थ्य उपचारका लागि चीनमा रहेका पार्टीका प्रभावशाली नेता पुनकै कारण पदाधिकारी चयन गर्न ढिलाइ भएको माओवादी नेताहरुले अनौपचारिक रुपमा बताउने गर्दथे।

उनको सहभागीता बिना पदाधिकारी चयन गर्दा असन्तुष्ट हुने सम्भावना भएकाले माओवादीले महाधिवेशन सकिएको एक वर्ष पछि पदाधिकारी चयन गरेको हो।

विप्लवलाई पार्टीमा भित्र्याउन पहल गरिरहेको माओवादीले माओवादीबाट विभाजित अर्का नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा.बाबुराम भट्टराईलाई समेत पार्टीमा ल्याउन निकै रस्साकस्सी गरेको थियो।

दुबै विभाजित पूर्वसहकर्मीलाई पार्टीमा समाहित गर्न पहल गरिएपनि भट्टराईसँग तत्काल एकता टरेको माओवादी स्रोतले बतायो।

यद्यपि दुबैले पार्टी एकताका लागि औपचारिक प्रस्ताव माओवादी केन्द्रीय कार्यालयमा पठाएका छन्। त्यसबारेमा कुनै औपचारिक सुनुवाई हालसम्मै भएको छैन। आगामी दिनमा बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताब बारे ठोस निर्णय गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *