सम्झना

अर्को रकस्टारको अवसान

कपिल लोहनी
३० असार २०८० ७:४८

वि.सं. २०७९को अन्त्य र २०८०को शुरुवातमा केही समयको फरक पारेर नेपालका दुई अति विशिष्ट रकस्टारहरूले यो धर्ती छोडेर गए।

आजभन्दा करिव ४ महिना अघि नेपालका एल्भिस भनेर चिनिने माइक (मुकुन्द) खड्काको निधन भयो भने हालैमात्र अर्का ख्याती प्राप्त रकर रविन तामाङको अकल्पनीय रूपमा अल्पायुमा नै निधन भयो।

उच्च अध्ययन गरेका र पश्चिमा तथा पूर्वीय संगीतको समेत राम्रो ज्ञान भएका यी विलक्षण प्रतिभाहरू नेपालमा मात्र नभई विदेशी भूमिमा पनि प्रख्यात थिए। यिनको निधनले नेपालको संगीत क्षेत्रलाई ठूलै आघात पुगेको छ।

सिंगापुरमा सन् १९६३ अप्रिल १७ (वि.सं. २०२० बैशाख ४)मा जन्मेका रविनका पिता केशव तामाङ वृटिश सेनाका उच्च अधिकृत थिए र उनका कान्छा छोरा रविनसहित अन्य चार जना छोराछोरी थिए।

अन्तरजातीय विवाह गरेका उनका पिताको केही वर्ष अघिमात्र निधन भएको थियो भने आमा सरस्वती तामाङको निधन रविन १२ वर्षको छँदा यानी आजभन्दा ४८ वर्षअघि भएको थियो।

उनका एकजना दाजु, जो नेपालमा हेलिकप्टर चालक थिए, उनको केही वर्ष पहिले जहाज दुर्घटनामा निधन भएको थियो। कान्छा छोरा भएकाले उनलाई दाजु तथा दिदीहरूले निकै लाडप्यारका साथ हुर्काएका थिए। उनकी आमाको निधन पश्चात उनका बाबाले हङकङस्थित गोर्खा हाई स्कुलकी प्रख्यात रेणुका गुरुआमासँग दोस्रो बिहे गरेका थिए।

सेनाको जागीरको दौरान सिंगापुर, ब्रुनाई तथा हङकङमा खटिएका आफ्ना बाबासँगै विभिन्न वातावरणमा हुर्केका रविनको शिक्षा पनि यी अधिकांश मुलुकहरूमा हुन पायो।

हङकङ छँदा उनका बाबा वृटिश कमिशनिङ अफिसर भइसकेकाले उनले काउलुनको गन क्लब निरको गोरा अधिकृतहरूका बालबच्चाहरूले अध्ययन गर्ने विद्यालयमा पढ्ने अवसर पाएका थिए।

त्यहाँको अध्ययनले उनी अङ्ग्रेजी भाषामा ज्यादै पोख्त भएता पनि नेपाली भने उनलाई लेख्न र पढ्न पछिसम्म पनि आउँदैन थियो। आफ्नो नेपाली गीत पनि उनी रोमन लिपीमा लेख्ने गर्दथे।

जागीरको सिलसिलामा बुवा विभिन्न मुलुकमा गइरहनु पर्ने भएकाले रविन र उनका दिदीदाजुहरू हङकङको सेकङ भिलेजकै गोर्खा हाइस्कुलको होस्टेलमा बस्ने गर्दथे भने स्कुल हङकङको बिच शहरमा थियो।

त्यतिबेला हङकङमा ‘द हिमालयन व्याण्ड’ जस्ता उनीहरूका अग्रजहरूले स्थापना गरेको सशक्त व्याण्डका गीतहरू सुनेर उनलाई पनि नेपाली पप गीतमा आकर्षण बढेको थियो।

त्यसै पनि उनी डिप पर्पल, जिमी हेन्ड्रीक्स, बिटल्स आदिका गीतहरूबाट सानैदेखि प्रभावित थिए। उनले उतै ‘द तामाङ व्याण्ड’को नाममा पनि कार्यक्रमहरू गरेका थिए।

उनकै उमेरको हाराहारीका गायक/संगीतकार दीपक थापा, सचिन लिम्बु र र अन्य साथीहरू जस्तै ध्रुव लिम्बु, सस्टिका इङनाम आदि पनि त्यतिबेला हङकङमा वृटिश गोर्खा पल्टनका उच्च अधिकृत पिता तथा परिवारका साथ बसेर अध्ययन गर्दै थिए भने केही साथीहरू संगीतमा पनि प्रसिद्धी कमाउने क्रममा थिए।

हङकङको ओके प्राक्टीस स्टुडियोमा रविन, दीपक र सचिन घण्टाको २० डलर तिरेर संगीतको अभ्यास गर्न जान्थे। त्यतिबेला आजका प्रख्यात गीतारवादक दीपक थापा ड्रम, सचिन लिम्बु बेस गीतार र रविन तामाङ रिद्म र लिड गीतार बजाएर खासगरी बिटल्सको गीतको अभ्यास गर्दथे।

फुटबल, बास्केट बल तथा अन्य खेल खेल्न रुचाउने यी सब साथीहरू मध्ये रविन नै सबैभन्दा अग्ला थिए। रविन अग्लो भएकै कारण गोलकिपर हुन्थे फुटबलमा।

रविन पछिसम्म पनि माउन्टेन वाइक र मोटर साइकल चढेर लामो यात्रा गर्न निकै रुचाउँथे। हेर्दा अजङ्गका देखिए पनि उनी मनका कोमल र हँसिला स्वभावका थिए।

दिदी र दाजुहरू जस्तै उच्च शिक्षा प्राप्त गरेका रविनले क्यानाडामा १७ वर्ष बसेर मेकानिकल इन्जिनियरिङमा मास्टर्स डिग्री प्राप्त गरेका थिए र उतै गतिलो जागिर खाएर बसेका थिए। मनोविज्ञानको शिक्षासमेत प्राप्त गरेका थिए उनले।

तर सांगीतिक पारिवारिक माहोलमा हुर्किएका रविनलाई काम र उच्च जीवनस्तरबाट मात्र सुख प्राप्त भएन। त्यस्तै उनमा सानै उमेरदेखि आफ्नो मुलुकको निम्ति केही गर्ने ठूलो अभिलाषा थियो।

सन् १९९६मा उनी केही महिनाको निम्ति बिदामा नेपाल आएका थिए तर यहाँ आएपछि आफ्ना पुर्खौलीस्थल पोखरा र नेपालको प्राकृतिक सौन्दर्य, यहाँको सांस्कृतिक र सांगीतिक माहौल तथा एक भिन्दै प्रकारको माहोलबाट मोहित भएर उनी यतै बस्न थाले।

सुन्नमा आए अनुसार उनका अग्रजहरू देहरादुनबाट पोखरामा आएर बसेका हुन्। उनलाई पोखरा र काठमाडौँको ठमेलमा विश्वभरबाट पर्यटकहरू आउने तथा यहाँका रेष्टुरेन्टहरूमा दिनहुँ विभिन्न थरीका सांगीतिक कार्यक्रमहरू आयोजना भइरहने र यी ठाउँहरूमा विश्वभरका खानाका परिकारहरू र कफी तथा अन्य पेय पदार्थ समेत पाइने भएकोले यो क्षेत्रसँग विशेष स्नेह थियो।

यदाकदा उनी ‘नेपाली घाँस’ भन्दै गाँजाको सर्को पनि लिन चुक्दैनथे। नेपालमा शुरुका दिनहरूमा उनको उमेर पनि कलिलै भएर होला उनी दिनहुँ ठूलो परिमाणमा मदिरा सेवन गर्दथे, तर कहिल्यै पनि मात्तिएर उनले कुनै नराम्रो हर्कत गरेको कसैले देखेका वा भनेका सुनिएको छैन।

बरु त्यस्तो माहोलमा त उनी निक्कै हँसाउँथे रे पो त। पछि रविनले ठमेलमा नै आफ्नै एउटा रेष्टुरेन्ट खोले ‘ब्याम्बुज रेष्टुरेन्ट’को नाममा। त्यहाँ हर साँझ सांगीतिक कार्यक्रमहरू भइरहन्थे भने अन्य समयमा त्यहाँ आएर खाना र पेय पदार्थको मज्जा लिँदै आराम गर्ने पर्यटक, साहित्यकार तथा संगीतप्रेमी र उनलाई नै भेट्न आउने युवाहरूको पनि राम्रै उपस्थिति हुने गर्दथ्यो।

शुरुमा रविनले सन् १९९६मा ‘रविन एण्ड लुजा’ नामको व्याण्ड खोले भने सन् २००५ तिर लुजा अलग भएपछि ‘रविन एण्ड द न्यु रिभोल्युशन’ को नाममा एक समूहको गठन भयो र पछिसम्म पनि यो व्याण्डमार्फत नै उनी आफ्नो प्रस्तुति दिने गर्दथे।

खासगरी शुक्रबारको दिन रविन आफ्नै रेष्टुरेन्टमा आफ्नो सांगीतिक प्रस्तुति गर्दथे। रक एण्ड रोलको विधा उनलाई सबैभन्दा बढी मन पर्दथ्यो भने उनी विश्वका रक एण्ड रोलका ख्याती प्राप्त कलाकारहरूका गीतहरू गाउन ज्यादै रुचाउँथे।

उनको प्रस्तुतिको विशेष शैली, गीतका शब्दहरूको ठीक उच्चारण र गायन तथा वाद्यवादन कलामा उत्कृष्टताले गर्दा सबै प्रकारका दर्शकहरूले उनलाई निकै मन पराउँथे।

यस्तै बेलातिर उनको भेट एक फ्रेन्च युवतीसँग ठमेलमा नै भयो। दुवैले एक अर्कालाई मन पराएर यी दुई प्रणयसुत्रमा बाँधिन पुगे। पछि यी जोडीबाट दुई छोरीहरूले जन्म लिए।

उनकी श्रीमती र छोरीहरू नेपाल र फ्रान्स दुवै ठाउँमा बसोवास गर्दथे र बेला बेलामा नेपाल र फ्रान्समा आइजाइ भइरहन्थ्यो। रविन क्यानाडामा छँदा पनि उनी केही समय त्यहीँ कै एक युवतीसँग बिहे गरेर बसेका थिए भन्ने कुरा पनि सुन्नमा आएको थियो।

यस्तो कुरा बारे बुझ्न खोज्दा उनी आफ्नो दुई तीन पटक बिहे भइसकेको भनेर खुबै सजिलो सँग भनेर हाँस्थे अरे।

सांगीतिक प्रस्तुती कै दौरान मदिरा, सिगार, चुरोट र गाँजासमेत पिउन नहिच्किचाउने रविनलाई यसो गर्दा लज्जावोध हुँदैन? भनेर कसैले सोध्दा उनी आफ्नो गायकी र प्रस्तुती बिग्रेमा मात्र लज्जित हुने कुरा खुलस्तसँग बताउँथे रे।

झट्ट हेर्दा निकै कडा तथा गरम मिजासका देखिए पनि उनीसँग संगत गर्नेहरू उनी ज्यादै प्यारा र हँसमिजासका मान्छे भएको कुरा बताउँथे। उनी कुनै कुरा पनि चपाएर गर्दैनथे। मनमा लागेका कुरा खुलस्तसँग भनिदिन्थे, चाहे त्यो राम्रो होस् वा तितो।

थोरै खाना खाए पनि उनलाई मिठो खाना चाहिन्थ्यो, चाहे ढिँडोको सेट होस् वा कुनै कन्टिनेन्टल परिकार नै किन नहोस्। जापानी र कन्टिनेन्टल खाना पाइने महँगा रेष्टुरेन्टदेखि ठमेलका सानासाना भट्टीहरूमा पाइने सुकुटी, जिब्रो, गिदी र लोकल रक्सी अनि छ्याङ जस्ता खानपान पनि उनलाई निकै मन पर्दथे।

काठमाडौँका विभिन्न वारहरू खासगरी संगीतको कार्यक्रम पनि आयोजना भइरहने जस्तै रेगी वार, पर्पल हेज, रेड अनियन आदि उनलाई मन पर्ने वारहरू हुन्। आफू पनि मनोरञ्जन क्षेत्रसँग सम्वद्ध भएकोले यस्ता वारहरूमा हुने मनरञ्जनका कार्यक्रमहरू अवलोकन गर्न रातभर बस्नु परेपनि त्यसो गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल विकासको बाटोमा सजिलै लम्कन सक्ने भए पनि यहाँका नेताहरूले मुलुकलाई डुबाए भनेर रविन निकै दिक्क हुने गर्दथे। अब नयाँ पिँढीबाट नेताहरू जन्मेर मुलुकलाई बचाउनु पर्ने धारणा राख्दथे उनी।

समाजमा हुने गलत कार्यहरूको विरोध गर्नुपर्छ भन्ने उनी सबै क्षेत्रलाई समेट्न नसके पनि कला क्षेत्रमा लाग्नेहरूलाई यस्ता राम्रा काममा हौस्याई रहन्थे।

खासगरी लोकप्रिय नेपाली गीतहरू जस्तै ‘जति माया लाए पनि’, ‘चिसो चिसो हावामा’ आदिलाई रक ढाँचामा रिमिक्स गरेर उनले गाएका छन्। त्यस्ता गीतहरू आजकलका युवाहरूले मन पराए पनि अन्य उमेरका संगीतप्रेमीले खासै मन पराएको पाइएको थिएन।

तर उनैले लेखेका, संगीत दिएका र गाएका धेरै गीतहरू भने निकै मार्मिक, घत लाग्दा र सन्देशमुलक हुनुका साथै कर्णप्रिय पनि थिए। उनका अल्बमका गीतहरू जस्तै केटाकेटी, दम मारो दम, स्वतन्त्र जीवन, एकता, हाम्रो देश, मुग्लान, ठीकै छ, वीरताको चिनो, मेरो माया, माइला भाइ आदि निकै चर्चित छन्।

सन् २०१५को भूकम्पबाट धेरै जनधनको क्षति भएकोमा निकै दुखित भएका रविनले त्यतिबेला देखि नै भूकम्प र अन्य दैविप्रकोप पीडितहरूको सहयोगार्थ च्यारिटी शोहरू आयोजना गर्ने गरेका थिए। यस्ता थुप्रै कार्यक्रमहरूमा उनले गीतहरू गाउँदा उनी ज्यादै लोकप्रिय हुन पुगेका थिए।

संगीत र मनोरञ्जन विधामा आएपछि सधैँ व्यावसायिक हुन सिक्नु पर्छ र दर्शक ५ जना भए पनि वा २५,००० भए पनि आफ्नो शक्ति र तन मन उत्तिकै लगाएर हौसलाका साथ आफ्नो कलाको प्रदर्शन गर्नु पर्छ भन्ने रविनको भनाइ थियो।

उनको विचारमा नेपाली दर्शकहरू बिस्तारै निकै सौम्य र जिम्मेवार हुँदै आएका छन् र उनीहरूलाई संगीतमा बढी सहभागी बनाउन कलाकारको पनि उत्तिकै हात हुन्छ। उनको विचारमा कलाकार र दर्शक दुवैले संगीतको मजा लिने हो भने अनुशाषित हुनु र संगीत बारेको ज्ञान हासिल गरिरहनु अति आवश्यक छ।

संगीतको साथ साथै उनले फिल्म क्षेत्रमा पनि ज्यादै लोकप्रियता कमाएका थिए। खासगरी खलनायकको भूमिकामा देखिने उनका केही फिल्महरूले ख्याती कमाएका थिए।

छड्के, मुखौटा, वान वे, नाका, तीन जन्तु, चिसो एस्ट्रे, नौका आदिमा उनले सशक्त अभिनय गरेका छन्। एक हिन्दी धारावाहिक फिल्म ‘द लास्ट आवरमा पनि उनले अभिनय गरेका थिए।

एक वर्ष अघि नेपालमा आयोजना भएको ‘व्याण्ड च्याम्पियन्स’मा देव राना तथा ज्योति घिमिरेको साथै रविन तामाङ निर्णायकको भूमिकामा थिए।

व्याण्ड च्पाम्पियन्सको निर्णायकको भूमिकाका साथै तीनै जना दिग्गजहरूले विभिन्न नयाँ व्याण्डको कलाकारहरूलाई संगीत बारेका ज्ञान बाँड्नुका साथै उनीहरूका राम्रा पक्ष र गल्तीहरू अँगाली दिएर आउँदा प्रस्तुतिहरूमा के के सुधार गर्नु पर्छ भन्ने कुरा पनि सिकाएका थिए।

यो प्रतियोगिता निकै निस्पक्ष ढङ्गले सञ्चालन भएको थियो। रविनलाई अझ नजिकबाट धेरैले चिन्ने अवसर पाएका थिए टेलिभिजनको यो कार्यक्रम मार्फत। यही कार्यक्रमको एक एपिसोडमा रविनका बाल्यकालका साथी दीपक थापा पनि आमन्त्रित भएका थिए।

योभन्दा पहिले पनि उनी अभया सुव्वाद्वारा वर्षेनी आयोजना हुने ‘विमन इन कन्सर्ट’को निर्णायक टोलीमा कवि विप्लव प्रतिकका साथ बसिसकेका थिए।

शिवरात्रीको दिन पोखरामा ईश्वर गुरुङले आयोजना गर्ने सांगीतिक कार्यक्रममा पनि उनी सकेसम्म भाग लिन्थे र गत शिवरात्रीको कार्यक्रम उनको अन्तिम कार्यक्रम हुन गयो।

सांगीतिक भ्रमणमा नेपालभित्र र बाहिर धेरै पटक गइसकेका रविन र उनको व्याण्डले केही महिना पछि अष्ट्रेलियामा आफ्नो प्रस्तुति गर्ने योजना मुताविक त्यसको लागि उनिहरूको अभ्यास शुरु भइसकेको थियो।

तर गत ४ जुलाई २०२३ को दिन आफ्नै बुढानिलकण्ठस्थित घरको कोठामा मृत फेला परेका थिए ६० वर्षीय रविन। पोष्टमार्टम र उनकी छोरीको काठमाडौं आगमन पश्चात उनको पार्थिव शरीर नक्सालस्थित संगीत तथा नाट्य प्रतिष्ठानको प्राङ्गणमा केही समय राख्दा उनका फ्यान, हितचिन्तक, संगीतज्ञ तथा कलाकारहरूको ठूलो भिड लागेको थियो उनलाई अन्तिम श्रद्धाञ्जली दिन र बिदाइ गर्न।

नेपाल सरकारका सूचना तथा  सञ्चार,  पर्यटन मन्त्री र सांसद गगन थापा, अभिनेता नीर शाह, रविन्द्र खड्का र अन्य केही गन्यमान्य व्यक्तित्वहरूको पनि त्यहाँ उपस्थिति थियो।

उनीसँग निकै नजिकबाट काम गरेका सांगीतिक र सिने कलाकारहरू तथा विभिन्न व्याण्डका सदस्यहरूका साथै अग्रज ड्रमर देव राना, गायक तथा गितारवादक मुक्ति शाक्य र ज्योति घिमिरेको पनि त्यहाँ उपस्थिति थियो।

उनका दुई लोकप्रिय गीतहरू त्यहाँ उपस्थित व्यक्तिहरूले गाएर उनलाई श्रद्धासुमन अर्पण गरेका थिए। आखिर केही क्षणमा नै उनको शवयात्रा त्यहाँबाट शुरु भएर दरवारमार्ग, ठमेल हुँदै उनका प्रसंशकहरूलाई रुवाउँदै आफ्नो परम्परा अनुसार दाहसंस्कारको निम्ति स्वयम्भू, शोभा भगवतीतिर लाग्यो भने हामी पनि निकै भारी मनका साथ घर फर्कियौं।

आगोको लप्कोमा पार्थिव शरीर कति नै बेर टिक्छ र। आखिर उनी खरानी भएर धर्तीेमा बिलिन भए। तर उनको कृति र याद भने सदाको लागि स्वर्ण अक्षरले लेखिएर रहने नै छ। हार्दिक श्रद्धाञ्जली।

लेखक विकास अर्थशास्त्री हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *