राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछः परराष्ट्रमन्त्री साउद

डिसी नेपाल
३० असार २०८० २०:३७

पाटन। परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताएका छन्।

नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताएका हुन्।

“हरेक देशको राष्ट्रिय गानले राष्ट्र कुन स्थितिमा निर्माण भएको छ भन्ने विम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्”, उनले भने, “राष्ट्रको भावी पदयात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ ।”उनले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए।

मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न संयुक्त राष्ट्रसङ्घले काम गर्नुपर्छ भन्ने अवस्था सृजना गर्न खोजेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पुर्‍याएको धारणा राखे। उनले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गरे।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए । उनले विश्वका राष्ट्रिय गान पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनःप्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गरे ।

उनले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउँदै नेदरल्यान्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको बताए । उनले राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्व भएको बताउँदै यसले एकताको लागि प्रेरित गर्ने भनाइ राखे ।

गीतकार तथा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विश्वका राष्ट्रिय गान पुस्तक सुन्दर संग्रहणीय र अद्वितीय उपहारका साथै सिङ्गै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताए।

पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्याउनुपर्ने बताए । उनले अप्ठेरो काम गर्न सफल भएकामा प्रशंसा गर्दै पैसाभन्दा सबैको अपनत्व हुने गरी लैजान आग्रह गरे ।

नेपाल वाङ्मय फाउन्डेसनका अध्यक्ष विप्लभ ढकालले प्राज्ञिक क्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यले स्थापित संस्थाले पुस्तक प्रकाशन गरेर मौलिक अस्तित्वको आधार निर्माण गर्न खोजेको बताए । उनले सबैसँग सद्भाव र समन्वय कायम गर्दै संस्थालाई अगाडि बढाइने धारणा राखे । काव्यिक र साहित्यिक शब्दहरूको संयोजन गर्दै नेपाली वर्णानुक्रमअनुसार पुस्तक तयार पारिएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशका राष्ट्रिय गानको नेपाली अनुवादमा आधारित विश्वका राष्ट्रिय गान पुस्तकको अनुवाद प्रदीप निरौलाले तयार गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *