कविता: हजारौं माइल टाढाबाट

सुष्मा दाहाल
३१ असार २०८० ८:२७

कसले नजरअन्दाज गर्न सक्छ
मेरो स्वतन्त्रतालाई?
कसले अड्कलबाजी लगाउन सक्छ
मेरो ताकतलाई!?

कसले दिनसक्छ चुनौती
म र मेरा कर्महरुलाई??
हाे याे सब सब
समयले बुझाउनुपर्ने हाे,
समयका सारथीहरुले बुझ्नुपर्ने हाे।

म हजारौं माइल टाढाबाट
हजारौं काेष माथिबाट,
धुलाेमा ताँती लागेर गुँडकाे
माटाे ओसार्न हिँडिरहेका

राता घिउकमिलाहरु देख्नसक्छु,गन्नसक्छु
म समयका सारथीहरुका दिल दिमाग र साेचमा लागेका
धमिराहरु र तिनीहरुले उठाएका देवलहरु
गन्नसक्छु,चिन्नसक्छु।

म आकाशमाथि स्वतन्त्र उडेर
धर्तीकाे ताप,चाप,उर्वरता,
उदासिनता र खुसी
नाप्न सक्छु!

अरु पनि के के कतिकति सहजै
अनुमान लाउनसक्छु
मेरो स्वतन्त्रता धर्तीमा जति छ,
उति नै अन्तरिक्षमा पनि छ थाहा छ!

मैले आफूभित्रका यी यावत् सम्भाबना र
स्वतन्त्रतारुपी उर्वरताहरु नाप्दानाप्दै
प्राप्तिकाे लागि संघर्षशील बाटाेहरुमा
नांगा पैताला पछार्दा पछार्दै, एउटा युग बितेको छ!

मसँग दुनियाँ परास्त गर्नसक्ने साहस छ, थाहा छ,
मै हुँ भन्ने हाँकहरुलाई पछार्न सक्ने जवाफ छ थाहा छ!
म स्वतन्त्र छु, बलवान् छु, बिशिस्ट छु, याे पनि थाहा छ।

यी सबै सबै सम्भावना, सक्षमता प्रवल हुँदाहुँदै पनि
सबै ताकत र बहादुरीकाे मानचित्रमा
जब नियतिकाे क्रुर प्रहार हुन्छ….र

मेरा सारा ताकतरुपी साेच र सपनाहरु
चकनाचुर हुन्छन्,केवल एकनिमेषमै
मेरो सिंगाे युग तुहिन्छ,
म रित्तो रित्तो हुन्छु!खाेक्राे,खाेक्राे हुन्छु!
बेहाल,बेसहारा हुन्छु!

परिबन्ध भित्रकाे बन्दी झैं बनेर
केवल कट्नलाई कट्छन् रातहरु,
कट्नलाई कट्छन् दिनहरु!
म अदृश्य बन्धनमा बाँधिन्छु

अनि त्याे युगले देखेका सपना र
भाेगेका बिपनाहरु
केवल भ्रम झैं बनेर
घुम्नथाल्छन् मानसपटलमा!

उदास र मलिन अनुहार,
जसलाई सकल बनाएर
म दुनियाँ माझ
नतमस्तक हुँदै,
प्रश्न गर्न पुग्छु:
के म साँच्चै स्वतन्त्र छु!???




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *