पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू-माफियाको कब्जामाः जफर अन्सारी

डिसी नेपाल
३१ असार २०८० १५:२०

काठमाडौं। राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राहमणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् ।

सरकारी जग्गा हड्पिनेहरुका विरुद्धमा आफूले कानुनको साहरा लिन खोजेपनि न्यायलयमा भू–माफियाको पकड र प्रभाव रहेको कारणले सम्भव नभएको उनको दुःखेसो छ ।

‘वीरगञ्ज छपकैया वडा नं–२ स्थित घण्टाघरदेखि रक्सौल भारतको मितेरी पुल जाने मेन बाटोमा लगभग चार विघा क्षेत्रफल भएको जग्गा कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा कानुन विज्ञहरुको सल्लाहअनुसार मैले मुद्दामामिला गर्दा अहिलेको परिस्थितिमा न्याय पाउन धेरै गाह्रो भयो । न्यायालयमा पनि भू–माफियाहरुको पकड र प्रभाव अतिनै मजबुद छ,’– उनले भने ।

परापूर्वदेखि सार्वजनिक रहिआएको छपकैया पोखरी भू–माफिया प्रमोद विक्रम शाहले किर्ते जालसाजी गरी आफ्नो नाममा जग्गाधनी श्रेस्ता पुर्जा कायम गराएको उनको आरोप छ । भू–माफिया साहको उक्त कार्यविरुद्ध आफूले दायर गरेको मुद्दामा २०६५ साल असार २६ गते जिल्ला अदालत पर्सा र २०६७ साल असार २८ गते पुनरावेदन अदालत हेटौंडाबाट उक्त जग्गा सार्वजनिक नै भएको ठहर भएको उनले बताए ।

जिल्ला अदालत र उच्च अदालतको उक्त फैसलालाई तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र दीपकराज जोशीको संयुक्त इजलाशले भूमाफिया साहकै हक लाग्ने ठहर गरेको उनले बताए । न्यायाधीशद्वयले प्रलोभनमा परेर उक्त फैसला गरेको उनको ठहर छ ।

उक्त सरकारी जग्गा व्यक्तिको नामबाट सार्वजनिक गराउन आफूले अहिले पनि मुद्दा अगाडि बढाइरहेको उनले बताए । उनले अहिले उच्च अदालत बीरगञ्जमा उक्त मुद्दा लामो समयदेखि विचाराधीन रहेको बताए ।

त्यस्तै, पर्साकै छपकैयास्थित कित्ता नं. ११७ र ९७ को नेपाल सरकारको नाममा रहेको जग्गा इन्दुमती देवी केडियाको नाममा दर्ता भएको उनको दाबी छ ।
वीरगञ्ज महानगर वडा नं. १२ को कित्ता नं.४३ को राम जानकी मन्दीरको जग्गा हिरा देवी ब्राहमणीको नाममा दर्ता भएको उनको आरोप छ । उक्त मुद्दामा आफूले अदालतमा मुद्दा दर्ता गराएपनि प्रलोभनमा परेर अदालतले भू–माफियाकै पक्षमा फैसला गरेको उनको आरोप छ ।

एउटा साधरण नागरिकले कानुनी प्रक्रिया, कानुनी जटिलता, कानुनी आधार र प्रमाण खोजेर आफ्नो नीजि खर्चबाट सार्वजनिक सम्पत्तिको संरक्षण गर्न खोज्दा राज्यले नै बेवास्ता गरेको उनको दुखेसो छ । न्यायमा सर्वसाधरणहरुको सहज पहुँच हुनुपर्ने भएपनि केही भ्रष्ट न्यायाधीशहरुका कारण नेपालमा त्यो असम्भव भएको उनको दाबी छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि आफूलाई सहयोग गर्न उनले सबैसमक्ष आग्रह गरे ।

कार्यक्रममा सामाजिक अभियन्ता तबरेज आलम र अधिवक्ता पुण्यप्रसाद गौतमले आफ्नो धारणा राख्दै पर्सामा मात्रै नभएर सरकारी जग्गा हड्पिने गिरोह देशभर नै व्याप्त रहेको बताए । उनीहरुले सबै जिम्मेवार नागरिकलाई सरकारी सम्पत्ति संरक्षणमा लाग्नसमेत आह्वान गरे । कार्यक्रम सञ्चालन हरि तामाङले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *