घोराही सिमेन्टको आइपीओ बाँडफाँट, लगानीकर्ताले ८० कित्तासम्म पाए सेयर
काठमाडौ। घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको छ ।
यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।
यसरी बाँडफाँट गरी बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।
फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएर असार २५ गते बिक्री बन्द भएको थियो । लगानीकर्ताले आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल तथा निष्कासनकर्ता कम्पनी घोराही सिमेन्टको वेबसाइटबाट हेर्न सक्नेछन् ।
यस्तै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।
Facebook Comment