युवाको व्यावसायिक पशुपालनमा आकर्षण
बाँके। बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन्। उनले तयार पारेकाे ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ।
बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ। अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ। यो क्रम विगत पाँच वर्षदेखि उनको घरमा चल्दै आएको छ।
बाँकेको कोहलपुर नगरपालिका-१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बनेका छन्। गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर पशु व्यवसायी बनेका उनलाई हिजोआज भ्याइनभ्याइ छ।
बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न सुरु गरेका शशीरामको फार्ममा अहिले ‘होलस्टेनक्रस’ प्रजातिका सात गाई छन्। सुरुमा दुई गाईबाट व्यवसाय गरेका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको सङ्ख्या बढाएको बताए। “व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ। त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ ।” उनले भने।
अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको उनले बताए। गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उनको भनाइ छ। सोँचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उनले बताए।
“हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा रु ६४ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सय देखि एकसय २० सम्म हुँदा पनि गर्न मन लाग्नुभनेको एक प्रकारको बाध्यता पनि हो।” उनले भने, “पढाइलेखाइ धेरै र हातमा अरु नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथेँ।”
शशीरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आएका छन् राम सुहवन यादवले पनि। उनले पनि पुर्खाले पाल्दै आएको पशु पानलाई व्यावसायिकरुपमा अघि बढाउन ‘यादव भैँसीपालन फार्म’ दर्ता गराएका छन्।
रु २० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज एक सय ३० वटा भैँसी पालेका छन्। उनको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ वटा भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन्।
बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध संकलनका लागि पठाउने गर्छन्। त्यसरी दूध संकलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एस के दूध डेरी र डिडिसी दूध डेरी छन्।
खर्च र आम्दानी ठ्याक्कै भन्न नसक्नुभएका राम सुहवनले मासिक नाफा भने रु ५० देखि ६० हजारसम्म हुने गरेको बताए। सरकारले ल्याएको पशु बीमा अन्तर्गत उनले पनि बीमा गराएको बताए तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उनले बताए।
“बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ।” उनले भने, “हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद? हामीले त गत वर्षदेखि नै बीमा गराउन छाडेका छौँ।”
शशीराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर विगत सात वर्षदेखि दूध बेच्दै आएका छन् बर्दियाका गोविन्द उपाध्यले पनि। पन्ध्र वटा गाईबाट व्यवसाय गर्न सुरु गरेका उनले अहिले ४४ गाईको रेखदेख गर्दै आई रहेका छन्।
विसं २०७३ मा एकता पशुपालन फार्म दर्ता गराएर उहाँले व्यावसायिक रुपमा नै पशुपालन गर्दै आएका हुन्। निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उहाँले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताए।
जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उनले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्छन्। किसानबाट उपभोक्तासम्म रु ३० देखि ४० को फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उनको भनाइ छ। आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आएका गोविन्दको मासिक खर्च रु तीन लाखको हाराहारीमा हुन्छ भने आम्दानी रु तीन लाख ७० हजार हुने गर्दछ।
दूधबाट उहाँलाई पनि सरदरमा मासिक रु ४०/४५ हजारको नाफा हुने गर्दछ। पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गरेका छन्। रासस
Facebook Comment