सन नेपाल लाइफ इन्स्योरेन्सको ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला
काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ लाख ६० हजार कित्ता आईपीओ आज साउन १ गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत हुन आउने ९६ लाख कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारणका लागि जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
कुल जारी गरिने ९६ लाख कित्ता आइपीओको १० प्रतिशतले हुनआउने ९ लाख ६० हजार कित्ता विदेशमा काम गर्ने नेपाली नागरिकका लागि सुरक्षित गरिएको हो । बाँकी ८६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि केही पछि निष्कासन गरिनेछ।
यस आईपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने छन्। यस आईपीओमा लगानीकर्ताले साउन १५ गतेसम्म आवेदन दिन पाउने छन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
यस आईपीओमा कम्पनीलेले १ सय रुपैयाँ अंकित मूल्यमा थप १३९ रुपैयाँ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोही मूल्य अनुसार लगानीकर्ताले आवेदन दिनुपर्ने छ।
यस आईपीओमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ।
Facebook Comment