रसिलो एसएलसी, बिरसिलो एसइई

मानबहादुर खत्री
१ साउन २०८० १०:४३

उबेला एसएलसीमा फस्ट डिभिजन ७२ प्रतिशत ल्याएको थिएँ। नतिजा कुर्न हप्ता दिन पछि गोरखापत्रको बिकल्प थिएन। नतिजा आएपछि चार गाउँ, चौरासी ठाउँ हल्लियो। गाउँमा सानोतिनो पठेक्रो काटेर भोज नै लगाइयो। सबैतिरबाट बिबाहको प्रस्ताव आएर हैरान।

हाटबजार, मेलापात पानी पधेँरो, फलैंचा चौतारा, भोज भतेर जताततै। करिव अर्को बर्षको नतिजा नआउन्जेल चर्चो चलेको चल्यै हुन्थ्यो। खाली निधार लिएर सिँदुर लगाउन गाउँ भरी नपुगेमा लु ठूलो भैहालेछ, हामीलाई गन्न छोडेछ भनेर फलाकिन्थ्यो।

फलानोको छोरो जस्तो भएस् भनेर दशैंको आशीर्वाद फेरिन्थ्यो। गाउँमा छोराछोरीलाई गाली गर्दा फलानोको नाेकर बस भन्थे। आशीर्वाद र गाली दुबैमा प्रयोगमा नाम आउँथ्यो।

गाउँका चेलिबेटी सबैले तिहारमा माला लगाउन बोलाउन थाले। बाटो घाटोमा हिँड्दा हत्केलाको पाली बनाएर हेर्नेको लर्को लाग्थ्यो। बिद्यालयमा पढाउन बोलाउनेको हानाथाप हुन्थ्यो। सिरानमुनी प्रेम प्रस्तावका असंख्य पत्र।

बिद्यालय जाँदै गरेका केटाकेटीहरु फर्की फर्की एक टकले हेर्थे। गाउमा चिठी, तमासुक, बैनाबट्टाको कागज, झै-झगडाको मिलापत्रको कागज लेखी माग्नेको घुइँचो।

हस्पिटलको औषधिको खाने तरिका,मात्रा म्याद गुज्रे नगुज्रेको चेक गरिदिने, पानासोनिक र टाइवन रेडियोको बेट्री फेरिदिने, समाचार लगाइदिने, एभ्रेडी टर्चको बल्ब फेरीदिने सामान्य बिग्रेको बनाइदिने।

बिबाह बटुलोमा पेटोलम्याक्स जलाइदिने, क्यामेरामा रिल लगाइदिने, कक गरिदिने, फोटो खिची दिने, रिल झिकी दिने, क्यासेटको रिल बिग्रेमा बनाइदिने।

एन्टिना घुमाएर सादा टेलिभिजनमा नेपाल टिपाइ दिने, पैसाको ब्याज निकालिदिने, बिबाहमा गेटमा स्वागतम् लेखिदिने,देवी संसारीको सामुहिक पूजामा पैसा उठाउने, भेज लगाउने जस्ता कामको चापाचाप। गाउँमा मीठो मसिनु पाक्दा उसलाई बोला, सबै काम गरिदिने उही हो।

उ नभए त आँखा फुट्छ, हर्जै पो हुन्छ,जे होस गाउँको इज्जत कमाएको छ भनेर सबै उमेर समूहका मानिसको बोलीमा कुरो उनिन्थ्यो। मेलापातमा काम अराउन बोलाउन बाठो छ भनेर खेतालो छुट्याइँदैन थियो।

बिबाह बटुलोमा सहयोग कागज लेख्न, भान्सामा खट्न, निम्ता गरिदिन, नाच गानमा सरिक हुन कहिँ कहिल्यै छुट्याइएन। पशुमा नाम्लेको ओखती,जुकाको ओखती, ल्याइदिन तथा गाउँभरीका भुराभुरी भेला बनाएर दियालोको उज्यालोमा पढाउन भ्याइ नभ्याई हुइन्थ्यो।

अहिले को ४.० जीपीए आउँदा पनि वातावरण कूल कूल, ठन्डा छ त। स्वादहीन र रंगहीन छ। नत बजार हल्ला,नत उत्साह उमंग आखिर किन? सायद यस्तो भएर पो होकि? जसले नुहाएर कट्टु भेस धुन जानेन, आफूले खाएको माल्ताल धुन जानेन,आफ्नो बेड बिस्तारा मिलाउन जानेन।

नातागोता आफन्त आउदा ढोग दर्शन गर्न जानेन, साइनो केलाएर बोल्न जानेन, भोजभतेरमा गएर खाना पकाउन,पस्किन जानेन, मर्दापर्दा मलामी जन्तीको कर्तव्य जानेन,संस्कार, धर्म, अनुशासन, नैतिकता, जिम्मेवारी, कर्तब्य, आफ्नो भूमिका केही बुझेन,सामाजिकरण भएन,ठुलाको आदर सम्मान र सानालाई माया गर्न जानेन।

कितावी कोरा ज्ञान अलिकती बटुल्यो तर सामाजिक र स्वाबलम्बी सीप केही हासिल भएन रपो होकि?एकलकाटे,अन्तरमुखी,अल्पभाषी,कटु व्यबहार र बिरसिलो हुनाले पनि हुन सक्ला।प्राक्टिकलको नम्बरले घचेटेर या,चिटको करामत पनि हुन सक्ला ,खैर!जे होस एसइइ उबेलाको जस्तो रसिलो,चखिलो,उमंग र जोसिलो हुन सकेन।

भगवती मावि खाेटाङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *