ङादी ग्रुप पावरले डाक्यो विशेष साधारण सभा, हकप्रद सेयर ल्याउने प्रस्ताव पेश हुने
काठमाडौँ। ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ। सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ।
यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ। कम्पनीले यसअघि नै शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ।
हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ। कम्पनीले सोही पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ।
यसले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ। सभा प्रयोजनका लागि यसले बिहीबार साउन ४ गते बुक क्लोज गर्नेछ। यसर्थ, बुधबार साउन ३ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन सक्नेछन्।
Facebook Comment