माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला

डिसी नेपाल
४ साउन २०८० ८:४९

काठमाडौँ। माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आज (साउन ४ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले स्थानीय बासिन्दाका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा १० करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाका लागि जारी गर्न लागेको हो।

स्थानीयका लागि जारी गरिने आईपीओमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिएको छ। २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १८ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा साउन १८ गते र ढिलोमा भदौ १ गते बैंकिङ समयपछि हुनेछ।

यो आईपीओमा स्थानीयले सानिमा क्यापिटल, आयोजनास्थलस्थित कार्यालय र सानिमा बैंकको विदूर शाखा, किस्पाङ शाखा र धुन्चे शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *