युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै
काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै अघि बढिरहेको छ। बुधबार यसले ३९ हजार ९३० रुपैयाँको इन्ट्रा डे हाई बनायो। यो हालसम्मको उच्च विन्दु पनि हो । क्लोजिङ मूल्य भने २.५६ प्रतिशतले बढेर ३७ हजार २३० रुपैयाँ कायम भएको छ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये यसको सेयर मूल्य सबैभन्दा धेरै हो। विगतलाई हेर्ने हो भने यस कम्पनीको सेयर कारोबार अरु कम्पनीहरु जस्तै दैनिक हुने गरेको पनि थिएन तर पछिल्ला दिनहरुमा युनिलिभरको सेयर दैनिकजसो ट्रेड हुने गरेको छ। लगानीकर्ताको आकर्षण यसमा ह्वातै बढेको देखिन्छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट अनुसार युनिलिभर नेपालले ३७ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसको प्रतिसेयर आम्दानी २ हजार १५१ रुपैयाँ र नेटवर्थ ४ हजार १२६ रुपैयाँ रहेको छ। यही ७ महिनामा यसको मूल्य १०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ।
यता, ब्रोकर नम्बर १३ ले भने ३ हजार ८९६ कित्ता सेयर बिक्री गरेको छ। त्यस्तै, ४४ र ३४ नं ब्रोकरले क्रमशः २ हजार ३२३ र १ हजार ३७४ कित्ता बिक्री गरेका छन्। समग्रमा भन्नुपर्दा युनिलिभर नेपाल आधारभूत रुपमा निकै सबल कम्पनी हो, जसलाई बजार भाउले पुष्टि गर्दै गएको छ।
Facebook Comment