सय किलो सुनमा कुनै संलग्नता नभएको व्यावसायी दीपक मल्होत्राको स्पष्टोक्ति
काठमाडौं। व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताएका हुन्।
उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए।
किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताए।
अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे।
मल्होत्राले आफूले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत हुने भएकोले प्रचलित कानूनबमोजि व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गरेको पनि स्मरण गराएका छन्।
उनले आफू र आफ्नो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवम् परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानूनी कुनै कारोबार गर्ने नगरेको पनि दाबी गरेका छन्।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘म र मेरो परिवारको कारोबार, आय सबै कानूनबमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानूनबमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन्।’
Facebook Comment