मुस्लिम देशको विरोधलाई बेवास्ता गर्दै स्वीडेनले फेरि पनि कुरान जलाउन अनुमति दियो

डिसी नेपाल
४ साउन २०८० १५:३३

काठमाडौं । गत महिना बकरिदको दिन स्वीडेनको राजधानी स्टकहोमस्थित सबैभन्दा ठूलो मस्जिदबाहिर कुरान जलाएको विवाद शान्त नहुँदै स्वीडेन प्रहरीले फेरि एकपटक कुरान जलाउने अनुमति दिएको छ ।

बकरीदका दिन कुरान जलाउने सलमान मोमिका नामका इराकी शरणार्थीले अब बिहीबार फेरि कुरान जलाउने अनुमति पाएका छन्, जसलाई लिएर इराकको राजधानी बगदादमा चर्को विरोध भएको छ ।

कुरानको प्रतिलिपि जलाएर र फेरि त्यसो गर्न अनुमति दिएपछि आक्रोशित इराकीहरूले बगदादमा रहेको स्विडेनी दूतावासमा आक्रमण गरे र दूतावास परिसरमा आगजनी गरे। यो घटना बिहीबार बिहान भएको हो ।

सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा प्रदर्शनकारीहरूले इराकका प्रभावशाली शिया धार्मिक तथा राजनीतिक नेता मुक्तादा अल-सद्रको तस्बिर बोकेका झण्डा र चिन्हहरू फहराउँदै दूतावासमा आक्रमण गरेको देखाइएको छ। उनीहरुले दूतावासमा तोडफोड गरेपछि कम्पाउण्डमा आगजनी गरेका थिए ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार इराकको विदेश मन्त्रालयले स्वीडेनको दूतावासमा भएको आक्रमणको कडा निन्दा गरेको छ।

विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘इराक सरकारले यस घटनाको तुरुन्त अनुसन्धान गर्न सुरक्षा अधिकारीहरूलाई आदेश दिएको छ। उनीहरुलाई दूतावासमा कुन परिस्थितिमा आक्रमण गरियो भन्ने विषयमा अनुसन्धान गर्न भनिएको छ । अपराधीहरुको पहिचान गरी कानुन बमोजिम कारवाही गर्न अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

यसैबीच स्वीडेनको विदेश मन्त्रालयले दूतावासमा भएको आक्रमण र आगजनीमा दूतावासका कर्मचारीलाई कुनै क्षति नभएको, सबै सकुशल रहेको बताएको छ । मन्त्रालयले कूटनीतिक नियोग र तिनका कर्मचारीहरूको सुरक्षा गर्नु इराकी अधिकारीहरूको जिम्मेवारी रहेको बताएको छ।

सोही क्रममा स्विडेनी दूतावासका सबै कर्मचारी सकुशल रहेको एक स्रोतले पुष्टि गरेको छ । तर, उनले थप विवरण दिन मानेनन् ।

प्रभावशाली इराकी नेता अल-सद्रसँग सम्बन्धित टेलिग्राम समूहमा विरोधको आह्वान गरिएको थियो। स्वीडेनमा दोस्रो पटक कुरान जलाउने योजनाको विरोधमा स्विडेनी दूतावास बाहिर विरोध प्रदर्शन गर्ने पोस्टमा लेखिएको छ ।

फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै प्रदर्शनकारीहरूमध्ये एक हसन अहमदले भने, ‘आज हामी कुरान जलाउने अनुमतिको निन्दा गर्न एकजुट भएका छौं, जुन पूर्णतया प्रेम र विश्वासको बारेमा हो। हामी स्विडेनी सरकार र इराकी सरकारलाई त्यस्ता पहलहरू रोक्न माग गर्दछौं।

स्विडेनी प्रहरीले बुधबार भन्यो कि उसले स्टकहोममा इराकी दूतावास बाहिर विरोध प्रदर्शन गर्न अनुमति दिएको थियो। तर, यो कस्तो प्रकारको प्रदर्शन हो भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन ।

यसैबीच, स्वीडेनको समाचार एजेन्सी टीटीमा जारी समाचार अनुसार प्रदर्शनकारीहरूले दूतावासबाहिर कुरानको प्रति र इराकको झण्डा जलाउन लागेका छन्। बकरीदको अवसरमा मस्जिदको अगाडि कुरानमा आगो लगाउने इराकी शरणार्थी सलमान मोमिकाले यस विरोधको संकेत दिन लागेका छन्।

कुरान जलाउने यस घटनाको सबै मुस्लिम राष्ट्रले एक स्वरमा विरोध गर्दै स्वीडेनका कूटनीतिज्ञहरूलाई बोलाएर विरोध जनाएका थिए । इस्लामिक सहयोग संगठनले पनि यस विषयमा आपतकालीन बैठक बोलाएर धार्मिक प्रतीकको सम्मान गर्न सुझाव दिएको थियो ।

स्वीडेनको प्रहरीले अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत विरोध प्रदर्शन गर्न अनुमति दिएको बताए पनि युएई, साउदी, टर्की, पाकिस्तान, कुवेत मोरक्को, पाकिस्तानलगायत विश्वका सबै मुस्लिम राष्ट्रले इस्लामोफोबियाबाट प्रेरित यस्ता कार्यलाई अनुमति दिन नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *