सिआइबीद्वारा एक वर्षमा १२५ पक्राउ, ४३ मुद्दा दर्ता

डिसी नेपाल
५ साउन २०८० १९:२३

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ ।

जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जना विरुद्ध एक, सङ्गठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ ।

यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दुरसञ्चार हानीसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ ।

आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

यस्तै लिखत\ठगी\वैदेशिक रोजगाररनागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।

वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी रु ३० करोड छ लाख जरिवना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्योटका लागि अदालतमा पठाइएको छ ।

अपराध नियन्त्रण चुनौतीपूर्ण

समाजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धानकार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको सिआइबीको निष्कर्ष छ ।

अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धानकार्य प्राविधिकरूपमा अझै जटिल हुँदै गइरहेको प्रवक्ता थापाले बताए ।

यस्तै सिआइवीले ज्यानसम्बन्धी कसुरको सङ्कास्पद घटनामा सफल अनुसन्धानमार्फत २६ व्यक्ति पहिचाान गरी कारबाहीको दायरामा ल्याएको जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *