३ वर्षसम्म प्रहरीलाई ३ हजार फर्जी आकस्मिक कल गरेर सताउने महिला पक्राउ

डिसी नेपाल
६ साउन २०८० १४:०९

काठमाडौं । जापानको प्रहरीले करिब ३ हजार नक्कली आपतकालीन कल गर्ने ५१ वर्षीया महिला हिरोको हातागामीलाई पक्राउ गरेको छ । यी महिलाले तीन वर्षदेखि प्रहरी, अस्पताल, दमकलमा नक्कली कल गरिरहेकी थिइन् ।

सोधपुछका क्रममा उनले आफू अविवाहित र बेरोजगार भएको र कसैले आफ्नो हेरचाह गरोस् र कसैले आफ्नो कुरा सुनिदेओस् भन्ने चाहेको प्रहरीलाई बताइन् ।

वास्तवमा हिरोको हातागामी जापानको राजधानी टोकियो नजिकैको मात्सुडो सहरमा बेरोजगार जीवन बिताइरहेकी थिइन् । यस्तो अवस्थामा उनले आफ्नो घर, छिमेक र बजारको लोकेशन पठाएर नक्कली आपतकालीन कल गर्थिन् ।

‘द माइनिची’ अखबारको रिपोर्ट अनुसार, हातागामीले अगस्ट २०२० र मे २०२३ को बीचमा मात्सुडो फायर डिपार्टमेन्टलाई एम्बुलेन्स पठाउन भनि बारम्बार फर्जी कलहरू गरिन् । तर एम्बुलेन्स पुग्ने बित्तिकै उनले चिकित्सा सहायता लिन मानिनन्।

यति मात्र होइन, उनले सहयोगको लागि कुनै पनि कल गरेको कुरा स्वीकार गर्न पनि अस्वीकार गरिन्। यस अवधिमा उनले २ हजार ७ सय ६१ पटक फोन गरिन् ।

यति ठूलो संख्यामा महिलाले फेक कल गरेको यो पहिलो पटक भने होइन । दश वर्षअघि जापानी प्रहरीले ४४ वर्षीया महिलालाई पक्राउ गरेको थियो ।

वास्तवमा ती महिलाले ६ महिनाभित्र १५ हजारभन्दा बढी फेक कल गरिन् । पक्राउ गर्नुअघि अधिकारीहरू यस महिलाको घरमा झण्डै ६० पटक सहयोगका लागि पुगेका थिए ।

जापानमा समाजबाट टाढा बस्ने चलन बढेको छ । जापानमा करिब १५ लाख मानिस एक्लै बस्ने गरेको एक सर्वेक्षणमा देखिएको छ । यस्ता मानिसहरूलाई ‘हिकिकोमोरी’ भनिन्छ ।

यसरी एक्लै बस्ने मानिसहरु न त बूढो हुन्छन् न खाली दिमागका हुन्छन् । बरु, तिनीहरू वास्तविक काम गर्ने मानिसहरू हुन्। यी व्यक्तिहरू जो सामाजिक अन्तरक्रियाबाट टाढा रहन्छन् र आफ्नै जीवनमा हराउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *