पाइपबाट पानी ल्याएर पश्चिम रुकुमको गाउँमा घट्ट सञ्चालन

रुकुम (पश्चिम)। प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ ।
बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । “गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो”, स्थानीय भक्तबहादुर केसी भने।
अब भने दुःखका दिन गएको उनको भनाइ छ । “गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुसी छन्”, केसीले भने । गाउँमा घट्ट निर्माण नहुँदासम्म माथिल्लो काँडाका मान्छे अन्न पिसानीकै लागि निकै टाढा डार्ने, तिलिचा खोला, खारखोलालगायत ठाउँमा जाने गर्थे ।
उनका अनुसार टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो । दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि सङ्गीता केसीलाई सम्झना आउँछ ।
प्रदेश सरकारको रु १५ लाख, मारपूजा सामुदायिक वन उपभोक्ता समितिको रु दुई लाख र स्थानीयको रु तीन लाख बराबरको लगानीमा गाउँमा घट्ट सञ्चालनका लागि पानी ल्याइएको छ । वडाकै गारकटेरा मुहानबाट गाउँसम्म पाइपमार्फत पानी ल्याइएको स्थानीय धु्रवराज केसीले बताए।
घट्ट सञ्चालन गर्ने योजना लामो समयदेखि बनाइए पनि यस वर्ष भने त्यो योजना पूरा भएको उनले बताए। घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन् । साथै घट्ट सञ्चालनका लागि ल्याइएको पानीलाई गाउँमा खानेपानीका लागि पनि वितरण गरिएको छ ।
दिनमा घट्ट सञ्चालन गरिसकेपछि रातिको समयमा गाउँमा पानी वितरण गर्ने ट्याङ्कीमा भण्डारण गर्ने गरिएको छ । त्यही पानी गाउँमा खानका लागि धारामा छाडिन्छ । पाइपबाट आएको पानी पिउन लायक रहेको वडाध्यक्ष मनु शाहीको भनाइ छ।
Facebook Comment