मधेस प्रदेशमा नेपाल टेलिकमको अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिसी नेपाल
७ साउन २०८० १४:०९

काठमाडौँ। मधेस प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरूसँग विभिन्न विषयमा छलफल भएको थियो।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन् ।सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने धारणा राखिन्।

मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्‍याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रूपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेस प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरूको भूमिका हुने बताए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।

मधेस प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *