दार्चुलामा लम्पी स्किनको प्रभाव: एघार सय पशुचौपायाको मृत्यु, ३३ हजार सङ्क्रमित

डिसी नेपाल
७ साउन २०८० १८:२५
खलङ्गा। ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन ।
लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन् । त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी सङ्क्रमित भएका छन् ।
लम्पी स्किन विशेषगरी गोरु साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको छ । यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि दार्चुलाका किसान चिन्तित बनेका छन् ।
“रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएका छैनन्, गाउँमा अहिलेसम्म कुनै पनि पशु प्राविधिक आएका छैनन्”, दुई दिनअघि एक हल गोरु र एउटा लैनो भैँसी मरेको भन्दै शैल्यशिखर नगरपालिका–६ का किसान राम धामीले गुनासो गरे ।
भेटेरिनरी अस्पताल दार्चुलाका पशु विकास अधिकृत दिगम्बर जोशीका अनुसार झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन् ।
  यो रोगको खोप भर्खरै नेपालमा आइपुगेको भए पनि सुदूरपश्चिममा पुग्न केही समय लाग्ने जोशीले बताए । जैविक सुरक्षामा ध्यान दिएन भने यसले झन विकराल समस्या देखिन सक्ने उनको भनाइ छ ।
यो रोगको सङ्क्रमण फैलिन नदिन गोठवरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने पशु विज्ञहरूको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *