चित्कारबाट मुक्तिको बाटो

शंकरप्रसाद रिजाल
८ साउन २०८० ८:२७

चित्कार मानसिक असन्तुलन, डर, त्रास र प्रसव बेदनाबाट उद्भिज आवाज हो, जसको शब्द रचना चित्कारमा नै नीहित रहेको हुन्छ। जसबाट मुक्ति पाउन मानिस अनन्तकालदेखि हरपल छटपटाइ रहेका छन्।

यो ब्रम्हाण्डको सृष्टी भएदेखि चित्कारको ठूलो आवाज यो पृथ्वीमा कहिले नआएको हो र? बैज्ञानिक दृष्टिकोणले हेर्दा सृष्टिको सुरुवात मै ठूलो ध्वनिको मुलाधारको प्रस्फुटनमा कत्रो आवाज आएको थियो होला पृथ्वी नै कम्पायमान हुने गरि।

यसै क्रममा सृष्टिको प्रथम सत्य युगमा भयंकर देवासुर संग्राम भयो लाखौँ देवता र दैत्यको हताहत भयो। त्यसताका कत्रो चित्कार पृथ्वीमा भयो होला।

सारा देवता र दानवले आ-आफ्नो उन्मुक्तिको लागि चित्कार छोडी दश दिशातिर भागाभाग हुँदा यो पृथ्वी चित्कारै चित्कारले भरिएको थियो होला।

उप्रान्त बचे कुचेका देवता र दानवले फेरि युग परिवर्तन भए लगत्तै त्रेतायुगमा भगवान रामचन्द्र जस्ता मर्यादा पुरुषको बेलामापनि राम र रावणको भयंकर युद्ध र रामद्वारा वीर र बुद्धिमान रावणको हत्या हुँदा पृथ्वीमा कति चित्कारको बिस्फोट भएको थियो होला, त्यो अनुमान गर्न सकिँदैन।

स्वयम् राम नै पछुताएका थिए रे। द्वापर युगमा फेरि बसुदेवका सात भाइ छोराहरुको कंशद्वारा प्रत्येकलाई ढुंगामा पछारी हत्या गर्दा कत्रो चित्कार छोडिएको थियो होला र त्यस्तै आठौं छोरा श्री कृष्णले दुस्ट कंशलाई हत्या गर्दा कत्रो चित्कार घन्केको होला।

त्यस्तै फेरि त्यही युगमा जाबो एक गाउँ माग्दा दुर्योधनले पाण्डवलाई एक आना जग्गा पनि नदिई ज्यादै अन्यायको आवेगमा भगवान श्रीकृष्णले नेतृत्व लिएको महाभारत युद्धमा लाखौँ मानिसहरु र हजारौं हात्ती घोडाहरुको हत्या हुँदा कत्रो चित्कार भएको थियो होला।

चित्कारै चित्कारको हाहाकारमा कलियुगको समयमा प्रथम विश्व युद्ध र द्वितीय विश्व युद्ध र देश भित्रको आन्तरिक कलहमा भारत चीन, फारसी देश इरान इराक त्यस्तै इजिप्ट, बेलायत, अमेरिका, रुस, जर्मनी र फ्रान्स जस्ता देशमा कति मानिसहरुको हत्या भइ चित्कारको कोलाहाल भएको थियो त्यो अझै इतिहासका पानामा जल जल भएर रहेका छन्।

यस्तो बेलामा खै शान्तिको शंखनाद? आजभन्दा २६०० वर्ष अगाडि शान्तिको सन्देश लिइ पृथ्वीमा अवतरण भएका माहात्मा गौतम बुद्ध, सन्त कबिर, गुरु नानक र चार सताब्दिमा चीनमा देखिएका माहात्मा र सत्यका माहान दार्शनिक लाओत्सेका दिब्य शान्ति सन्देशहरु खै कसले याद गरेको छ?

सत्य र शान्तिको पथमा लागेका यस्ता सयौं माहापुरुषको गाथा खै संसारमा बर्षा भएको? यिनीहरुको महान सन्देशमात्र प्रत्येक तहको पाठ्यक्रममा समाबेश भइ दिएको भए आज संसारमा यत्रो चित्कारको पहिरो जाने थिएन होला।

आज संसारमा हरेक प्रकारको चित्कारको हुंकार भइनै रहेको छ। भोकको चित्कार, दुःखको चित्कार, बेदनाको चित्कार, खडेरीको चित्कार, गर्मीको चित्कार, कठांग्रिँदो हिउँको पहिरोको चित्कार, युद्धको चित्कार र मानिस मानिसबीचको आपसी कलहको चित्कार हेर्दा सारा संसार नै आज चित्कारमा रुमल्लिएको छ।

त्यस्तै एकले अर्कोलाई जबर्जस्ती बलात्कार गरेको क्षणाको चित्कार, एकछाक खान पनि नपाउने सारा गरीब मानिसहरुको चित्कार, बाबुले छोरालाई ,आमाले छोरीलाई, दाजुले भाइलाई र एकले अर्कालाई निरपराध हत्या गर्दाको क्षणको चित्कारले र रसिया युक्रेनको भिषण युद्धमा युक्रेनका नागरिकहरु भागा भाग भएका निरपराध जनता जनार्दनको चित्कारले आज संसारनै चित्कारको कालो मडारिएको धुँवामा कालो डढेको कागजको टुक्राहरू सरह आफ्नो जीवनलाई मृत्युको अन्तिम घडीमा धकेली रहेका छन्। सम्पूर्ण जीवन तवाह र निरर्थक बनेको छ।

युद्धले आक्रान्त भएको आजको रुस र यक्रेनको अबस्था उपर नजर लगाउँदा यो भुसको आगो झैं सल्किइ विश्वमा कतै तेस्रो विश्व युद्ध त हुने होइन? त्यस्तै यसले संसारको अर्थ व्यवस्था धरासाही त बनाएको छैन? यस विषयमा किनै गम्भीर भई सोच्नु पर्ने बेला आएको छ।

आपसी समझदारीमा बाच्नुपर्ने बेला आएको छ। आजसम्म निर्माण भएका सारा युद्ध सामाग्रीहरुलाई आपसी समझदारीबाट नष्ट गर्नु पर्ने बेला आएको छ।

र, सम्पूर्ण शासकहरुलाई एकपटक शान्तिको शंखघोष गरि आफू भित्र रहेका कुबिचारलाई निर्मुल पारी शान्त, सुशील, दयावान, क्षमा, करुणा र प्रेमको सद्विचारले नुहाइ सारा संसारका मानिसलाई उन्मुक्ति दिनु परेको छ।

यो काममा संसारको एक ठूलो संस्था संयुक्त रास्ट्र संघ ले आजैदेखि अभियान सुरु गरोस् र कोही पनि पसलबाट बिकिसकेको, आँखाबाट झरेको आँसु जस्तो, आकाशबाट झरेर हराएको तारा जस्तो, सबैले छोडी दिएको पाहाडको धारा जस्तो बेवारिशे नबनुन् र संसारको यो अपूर्व झिलिमिलिबाट कोही पनि अकालमा हताहत हुन नपरोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *