सुडानमा टेकअफ गर्ने क्रममा विमान दुर्घटना, ४ सैनिकसहित ९ को मृत्यु

डिसी नेपाल
८ साउन २०८० १२:४३

काठमाडौं । अफ्रिकी देश सुडानमा आइतबार राति ठूलो विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा ४ सैनिक सहित ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ । यो डरलाग्दो दुर्घटनामा एक बालिका बाँचेकी छिन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।

अरब न्युजको रिपोर्ट अनुसार सिभिल विमान सुडानको पोर्ट सुडान एयरपोर्टबाट उडिरहेको थियो । अचानक त्यसमा प्राविधिक गडबडी भयो र उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो ।

दुर्घटना यति भीषण थियो कि विमानमा सवार ९ जनाको घटनास्थलमै ज्यान गएको थियो जसमा ४ जना सेनाका कर्मचारी थिए ।

तर, यो दुर्घटनामा एक बालिकाको ज्यान जोगियो । उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो ।

सुडानमा जारी गृहयुद्धले २३ जुलाईमा सय दिन पूरा गरेको छ । अफ्रिकी देशको स्वास्थ्य मन्त्रालयले यस लडाइमा हालसम्म १ हजार १३६ जनाको मृत्यु भएको जनाएको छ ।

तर, यस क्षेत्रमा द्वन्द्वकालमा काम गर्ने विभिन्न सङ्घसंस्थाले मृत्युका धेरै घटनाको अनुगमन नै नभएकाले वास्तविक मृत्युको सङ्ख्या धेरै हुनसक्ने दाबी गरेका छन् ।

अनुमान अनुसार यस युद्धमा हालसम्म ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । जसमध्ये करिब ७ लाख मानिस इजिप्ट, चाड र दक्षिण सुडानजस्ता छिमेकी देशहरूमा पलायन भएका छन् ।

सुडानमा जारी यो युद्धका कारण अहिलेसम्म करोडौं रुपैयाँको क्षति भएको छ । बम विष्फोटपछि धेरै भवनहरू ध्वस्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *