एउटा शिक्षकको निजी डायरी

मानबहादुर पाैडेल
९ साउन २०८० ७:४४

भोगाइ जीवन रहेछ। समय बलवान शिक्षक रहेछ। अनुभव सिकाइ हुँदो रहेछ अनि त्यसैलाई गाँस्दा मालारुपी सुन्दर कथा सिर्जना हुँदो रहेछ। अहिले सुनाइ र पढाइमा त्यो त दन्त्यकथा जस्तो बन्दो रहेछ।

हो, त्यो बेला सिकाई कति कष्टकर थियो, बिहान उठेर नित्यकर्म सकी हातगोढा पखाली दतिवनले दात माझेर, गणेश पुज्ने,गोठे धन्दा सकेर, बासी भात तताएर खाइ, एकमेलो काम सकेर स्कुल जानस पर्ने।

बेलुका फर्केर घाँस, दाउरा, स्यउला, पत्कर, गोबर सोराइ, दूध दुहुने, पँधेरोबाट पानी ल्याउनु पर्ने, साँझबत्ती बाल्ने, मोही पार्ने अनि बेलुकाको खाना खाइवरी ढोड,भाटाया सल्लोको दियालोको उज्यालोमा पाठ घोक्ने।

नाेट गर्ने, होमवर्क गर्ने अनि सबै सकेपछि मात्र सुत्न पाइन्थ्यो। पढ्ने कोठा अहिलेको जस्तो अलग्गै नहुने, त्यही अगेनु, मझेरी, खाना खाएर सरसफाइ सकी घरका सबै जहान वरिपरि ओछ्यान लगाएर सुत्नु पर्ने।

राति अलि ढिलोसम्म पढ्दा लौ! मट्टीतेल जखम पार्‍याे भनेर बुवाले हकार्नु हुने। विहान उठेर आफ्नो बिस्तारा मिलाइ सकेर मात्र अरु काम थाल्नु पर्थ्यो। बिद्यालयकहाँ नजिक हुनु र? एक दुई घण्टा हिँडेर असिन पसिन हुँदै पुग्नु पर्ने।

तातो भात खाएर कुद्नु पर्ने। बेलुका घर आउँदा भोक र थकानले हुरुक्क। अहिलेको जस्तो दिवा खाजा, क्यान्टिन, होटेल पसल कहाँ थियो र? काँचा कचिला आरु बखडा,नास्पाती, निबुवा, मेल, काफल, घँगरु, ऐँसेलु जस्ता समयानुसारका फलफूल बिधङ्स बनाइन्थ्यो नास्ताको लागि।

बाँसको छेस्काको कलम, सिमीका पातको मसी अनि धुलौटे पार्टी र बासको पट्ट्यासमा लेख्नु पर्ने। कहाँको टेवल कुर्सी हुनु। गुन्द्रीमा घुडा मारेर बस्दा घुडा,गोली गाँठा र कुहिनो गोरुको काँध जस्तो कडा हुन्थ्यो।

पछि काँचो कागज, सादा कागज, कापी र स्टारलाइन डठपेन, पार्कल पेन, हिरो पेन,टेको पेन,चेलपार्क मसि आएका हुन्। चारना पर्ने डठको सुई र एक रुपैयाँको कपी पहिलो चोटि किन्दा दुईहात उफ्रिनथ्यो।

आज पढेको पाठ भोलि हुबहु कण्ठ नहुँदा कति लठ्ठी खानु पर्थ्यो कुनै लेखाजोखा थिएन। शनिबार छुट्टीको दिन पर्म लाउन या पर्म तिर्न जानै पर्थ्यो।

बर्खाको बेला निगुरो टिपेर बेची आठना कमाउँदा खुशीको सीमा नै नरहने अनि हिउँदमा कटुस टिप्ने, ऐँसेलु टिपेर बेच्ने अनि मेला र सेउलीबजार जादाको खर्चको जोहो गरिन्थ्यो।

बिद्यालयमा मासिक शुल्क तिर्नु पर्थ्यो, बिद्यालय निर्माण हुँदा निदाल बोक्न, दलिन बोक्न, तलो छाप्दा माटो बोक्न, मुछ्न खट्नु पर्थ्यो। कट्टु, कमिज टोपी र खाली खुट्टा स्कुल जानु पर्ने, कक्षा ५ पास गरेपछि खानेपानी कादुरी योजनामा ५ दिन काम गरेर सेसी चप्पल किन्यो जो मेरो खुट्टाको पहिलो चप्पल स्पर्श थियो।

आमाले कप्टेरो तिखारी सुइरो बनाएर उनबाट बुनी दिएको गलबन्दी, टोपी र स्वेटर अघि पछि घ्याम्पोमा राखिन्थ्यो अनि कार्जे या बिबाह बटुलोमा मात्र लगाइन्थ्यो।

स्वीटर बुन्ने कुरुष पछितिर किन्न पाउन थालियो। रेडिमेड कपडा थिएन, खाडीको दौरा सुरुवाल लाउने त मुखिया जिम्मावाल र धनी मानीहरुले मात्र थियो। उनिहरुको काम गरिदिएर, खुशी तुल्याउन सकियो भने जडौरी लगाउन पाइने त्यो पनि खोसाखोस गरेर।

हात्तीछाप चप्पल पट्काउदै स्कुल जादा त शान नै अर्को हुने। पछि कक्षा ९ मा पढ्दा सुन्तला खरितेर बेची खागिका जुत्ता किनेको दिन, कम्ता खुशी भैएन, खुशीले होला भात कम रुच्यो अनि ओछ्यानमै राखेर सुतेको सम्झना छ।

हातमा बोकेर स्कुल पुग्ने बेलामा लाउने, छुट्टी हुने बित्तिकै फेरि फुकालेर बोक्ने मावल, जन्त जादा पुग्ने बेलामा मात्र लगाउने गरेर तीन बर्ष खपाएको थिए।

आफ्नो पेवाको रुपमा कुखुरा, परेवा पाल्ने, अलिकती जिलो बढाउन सकेमा बाख्रोसम्म किन्ने अनि जेव खर्च जुटाउन सकिन्थ्यो।अलि पछि मट्टीतेल पाउन थाल्यो, मसीको बोतलमा कपडाको सलेदो बनाएर कुपी बालेर पढ्न पाउँदा खुशीले कतिरात त छर्लङ्ग नै बनाइयो।

अलि हुनेखानेको घरमा लाल्टिन मैन्टोल बाल्थे त्योबेला। कहिलेकाही त्यहाँ पढ्न जादा हकारेर खेद्थे केको पढ्न पाउनु। त्यही कुपी हुँदा पनि बिहान बेलुका भरी काम सघाएर आधारात सम्म पढ्न पाइने हुनाले नोट, होमवर्क गर्न, पाठ घोक्न धेरै सहज भयो।

तर नाक भरी कालो जम्मा हुने,आँखा पोल्ने गर्थ्यो। यदाकदा हाच्छ्यु आउँदा कुपी निभेर हैरान, कहाँ पाउनु सलाई कुपी बाल्नलाई अगेनुमा छोपेर राखेको आगो सल्काएर मात्र। अलि पछि त टुकिमारा पनि पाउन थाल्यो,सोलार धेरै पछि आएको हाम्रो ठाउँतिर।

त्यस्तै २०५४ सालतिर गाउँका चल्दापुर्दा धामी बाले सोल्लर,सादा टेलिभिजन अनि डेक किनेर गाउँ भरीका मान्छे बटुली दुई रुपैयाँ उठाएर टेलिभिजन देखाउने, फिल्म देखाउने गर्नु हुन्थ्यो।

हामी त पैसा नहुने भएकोले श्वास रोकेर, लुकेर टाटिको प्वालबाट च्याहेर हेरेर पनि धित मारिन्थ्यो। हिउँदे १५ दिने जाडो बिदामा बेल्टार भन्ने बजारमा गएर नुन तथा साहुको भारी बोकिन्थ्यो मैले रु. ८ प्रति धार्नी, भारी बोकेर १५ धार्नीको जम्मा १२० कमाएर अर्को कक्षामा चढ्दा चाहिने पुस्तक,कापी,मसी र कलमको जोहो गर्दा बुवा खुशी भएर परेवा काटेर चामलको भात खुवाउनु भएको थियो।

सायद त्यो अहिलेको शैक्षिक शब्दमा पुनर्बलको ब्यबहारिक रुप रहेछ। बर्खे बिदामा त धान कोदो रोप्नमा ब्यस्त भएर होला कमाइको मौका मिल्दैन थियो खासै।

गाउमा सानातिना कार्जे, बिबाह बटुलो हुँदा बिद्यालयबाट बिदा लिएर पात टिप्न, चिउरा धान कुट्न, दाउरा काट्न, निम्ता गरिदिन, भतेर बार्न, खाना पकाउन, बाढ्ने पानीको जोहो गर्ने जस्ता सामाजिक काममा खट्दाको बेग्लै मज्जा लाग्थ्यो।

दशैं बिदामा साहुको भारी बोकेर नयाँ लुगा किनिन्थ्यो,बाटो घाटो खन्ने, पुल पुलेसा बनाउने पिङ हाल्न बाबियो बटुल्ने, घर छ्याप्ने, न्याहुली खोजेर रङ बनाई झ्याल ढोका कालो बनाउने काम गर्नै पर्थ्यो।

दशैलाई भनेर बाक्लो लामो घाँस जोगाएर राख्ने, खशीलाई दुधे मकै र हरिया खोस्टा खुवाएर पोस्ने अनि अरुको भन्दा ठूलो काट्दा कति मज्जा र गर्व लाग्थ्यो।

सिधा ठूलो काक्रो खल्पीको लागि सिका लगाएर राखिन्थ्यो। यावत् काम गर्नु पर्ने एकातिर, अर्का तिर सबै सरहरुले दशै बिदाको लागि गृहकार्य र नोट गर्न दिनु हुन्थ्यो, दशैंको खुशीमा तेत्रो लेख्नु पर्ने रिस त उठ्थ्यो तर नलेखी साध्य थिएन,रातभरी लगाएर भएपनि लेखिन्थ्याे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *