नाइजरमा सेनाद्वारा सत्ता कब्जा, राष्ट्रपति हिरासतमा र सीमा सिल

डिसी नेपाल
११ साउन २०८० १०:३९

काठमाडौं । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकहरूले राष्ट्रिय टेलिभिजनमा सत्ता कब्जाको घोषणा गरेका छन्। देशको संविधान विघटन भएको, सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको सैनिकहरुले बताएका छन् ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई सैनिकहरूले हिरासतमा लिएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई अमेरिकाको समर्थन अटल रहेको बताएका छन् ।

यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् । राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमी देशहरूको प्रमुख सहयोगी हुन्।

टिभीमा घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ सिपाहीहरूसँगै थिए। सो क्रममा उनले भने, ‘हामी, रक्षा र सुरक्षा बलले तपाईलाई थाहा भएको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौं । यो सँधै बिग्रँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक सुशासनको परिणाम हो।”

स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताए । साथै, अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू जारी रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *