सिनर्जी पावरको हकप्रद सेयर दाबी गर्ने आज अन्तिम दिन
काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद सेयर दाबी गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो। बिहीबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद सेयर जारी गर्न भने बाँकी छ। तर हकप्रद बिक्रीका लागि यसले शुक्रबार साउन १२ गते बुक क्लोज गर्ने भएको छ। यसअधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ।
Facebook Comment