मणिपुरमा फेरि हिंसा भड्कियो, चुराचांदपुर जिल्लामा भारी गोलीबारी

डिसी नेपाल
११ साउन २०८० १५:२३

काठमाडौं । मणिपुरमा हिंसा फेरि भड्किएको छ । अहिले चुराचांदपुर जिल्लामा हिंसा भड्किएको छ । जानकारी अनुसार यहाँ थोरबुङ क्षेत्रमा भीषण गोलीबारी भइरहेको छ । यस गोलीबारीमा कति हताहती भयो भन्ने अहिले नै थाहा हुन सकेको छैन । थोरबुङ क्षेत्र सबैभन्दा संवेदनशील छ ।

मणिपुरमा मे ३ मा कुकी समुदायले निकालेको ‘आदिवासी एकता मार्च’ मा हिंसा भड्किएको थियो । यसै क्रममा कुकी र मेइती समुदायबीच झडप भएको थियो । त्यसयता त्यहाँको अवस्था तनावपूर्ण रहेको छ ।

हिंसामा हालसम्म १६० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । मेइतीहरू मणिपुरको जनसंख्याको लगभग ५३ प्रतिशत छन् र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्, जबकि नागा र कुकीहरूसहित ४० प्रतिशत आदिवासीहरू प्रायः पहाडी जिल्लाहरूमा बस्छन्।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा मणिपुरका नौ कुकी जनजातिहरूको प्रतिनिधित्व गर्ने जोमी काउन्सिल स्टीयरिंग कमिटीले देशको यस संवेदनशील र रणनीतिक पूर्वी कुनामा शान्ति र सामान्य अवस्था पुनर्स्थापना गर्न प्रधानमन्त्रीको तत्काल हस्तक्षेपको आवश्यकता रहेको बताएको छ ।

पत्रमा राज्यमा संवैधानिक व्यवस्था र कानूनको व्यवस्था हुन नसक्दासम्म संविधानको धारा ३५६ (राष्ट्रपति शासन) तत्काल लागू गर्न आवश्यक भएको उल्लेख गरिएको छ । जेडसीएससीले राज्यभरि सुरक्षा बलहरूबाट ५ हजार भन्दा बढी अत्याधुनिक हतियार र लाखौं गोला बारुद लुटिएको दाबी गरेको छ। यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न उपत्यकाका सबै जिल्लामा पुनः सशस्त्र बल (विशेष अधिकार) ऐन लागू गरि सेनाले पूर्ण नियन्त्रण लिन माग गरिएको छ ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा समितिले कुकी–जोमी आदिवासीमाथि दशकौंदेखि अन्याय, संस्थागत उपेक्षा र भेदभाव भइरहेको पनि आरोप लगाएको छ । पत्रमा सारा विश्वको चेतना जगाउने भाइरल भिडियो क्लिप मणिपुरको वर्तमान संघर्षको एउटा उदाहरण मात्र भएको भनिएको छ । उक्त पत्रमा दुई कुकी महिलासँग भएको क्रूरताको भिडियोको उल्लेख छ । यो घटना मे ४ मा भएको थियो र जुलाई १९ मा भाइरल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *