विचार

बलिदानको सम्मान गर

खगेन्द्रराज सिटौला
१२ साउन २०८० ७:१३

बलिदानको सम्मान पृथ्वीविचारको अर्को महत्वपूर्ण पाटो हो। देश र जनताको हितको खातिर बलिदान दिने शहीदको सम्मान भनेको उनको परिवारलाई ध्यान दिनु हो र बलिदानको पुरक बनाउनु भन्ने पृथ्वीविचारले भन्दछ।

देश र जनताको हित र जितको खातिर बलिदान दिने सबै शहीद हरु परम आदरणीय मात्र होइनन् अनुकरणीय पनि हुन् भन्ने पृथ्वीनारायण शाहको दृढ मान्यतायुक्त विचार सार्वजनिक भएको पनि अढाइसय वर्ष भन्दा धेरै भै सकेको छ। फौजी मोर्चा होस् या गैह्र फौजी मोर्चा होस् बलिदानको सम्मान समान हो पृथ्वीविचारले यही भन्छ।

शहीदको सम्मान भनेको उसको सपनालाई विपनामा रुपान्तरण गर्ने काममा अविश्राम निरन्तर लागिरहनु हो। असल उत्तराधिकारी निर्माण गरेर उसको बाटोमा अझ उन्नत तरिकाले अघि बढाइरहनु हो।

देश र जनताको हितको लागि बलिदान दिने जुनसुकै मोर्चाका किन नहुन् ती सबै शहीदहरुलाई सम्मान गर्नु र शहीदका जहान–परिवार तथा बाल बच्चाहरुलाई रेखदेख गर्नु राज्य र नेतृत्वको कर्तव्य र दाइत्व दुबै हो भन्ने पृथ्वीनारायणको निर्देशक विचारको बिर्सनै नहुने अर्को महत्वपूूर्ण पक्ष हो।

शहीदका सन्तानहरु बलिदानका जगबाट खडा भएकोले उनीहरु भरोसा योग्य हुन्छन् भन्ने विश्वास पृथ्वीनारायणको भएकोले नै उनले शहीद परिवार माथि बढि भरोसा लिएको बुझ्न सकिन्छ।

योग्य नेतामा हुनुपर्ने गुण भएकोले नै पृथ्वीनारायण शाह नेपाल एकीकरणको नेतृत्व गर्न सफल भएका हुन्। असल र सफल नेताले मात्र महान शहीदहरुको महत्व बुझ्न सक्छ र नै उसले शहीदहरुको परिवारलाई अलपत्र छोड्नु हुँदैन भनेर निर्देशन दिन्छ। र व्यवहारले पनि प्रमाणित गरेर अनुकरणीय उदाहरण पनि बन्दछ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह यही कोटीका उच्च नेता भएको हुनाले नै शहीदका छोरा छोरीहरुलाई राज्यका छोराछेरी सम्झेर राज्यले नै संरक्षण दिएर क्षमताको सदुपयोग गर्न जिम्मेवारी पनि दिएर अब्बल नागरिक बनाउनु पर्ने निर्देशन अघि सार्छन्।

उनको खोलो तरे पछि लौरो बिर्सनेभन्दा यो भिन्न विचार हो। यो कोरा औपचारिकवाद र सम्मानवाद भन्दा भिन्न व्यवहारवाद हो।
शहीदलाई सम्मान र सम्झनाको औपचारिकता मात्रै पूरा गर्ने र शहीदका परिवारलाई उपेक्षा गर्ने वा चासो नदेखाउने नेता वास्तवमा नेता नै होइन भन्छ पृथ्वीविचारले। झन असल नेता त हुदै होइन, हुुनै सक्तैन।

त्यसैले असल नेताको नेतृत्वमा चलेको राज्यमा शहीदको जहान बालबच्चाको भविश्य असुरक्षित र अनिश्चित हुनुहुँदैन भन्ने पृथ्वीविचार सबैको लागि मार्गदर्शक हुनुपर्दछ।

यदि शहीदका परिवार विचल्लीमा परे भने सर्वसाधरणले भन्ने छन् धूर्तहरु नेता हुन्छन्, मूर्खहरु शहीद हुन्छन्। यस्तो भयो भने यस्तो विश्वास र मत बढ्यो भने परिवर्तन र बलिदानप्रति मान्छेहरु उदास र निरास हुनेछन्। राज्यको लागि परिवर्तनको लागि समर्पित भएर लाग्ने नभएर भाग्ने हुन्छन्।

फलस्वरुप राज्य र परिवर्तनको लागि नागरिकको समर्पण र मरिमेट्ने भावना शिथिल भएर जान्छ। परिणाम राज्य र परिवर्तन कमजोर भएर जान्छ।

पृथ्वीविचारले भन्छ बलिदानलाई राज्य र परिवर्तको लागि उर्जा बनाउनु पर्दछ। उर्जा त्यसबेला बन्दछ जब राज्य र नेताले बलिदानलाई सम्मान गरिरहन्छ शहीदको परिवारलाई ध्यान दिएर राज्यको सेवामा हिँडाइरहन्छ।

“लडाञीमा पनि हान्या र सख दिन्या ई दुबै बरोबर हुन् जागिर दिंदा, पित्तल दिँदा दुबैलाई बरोबरी दिनु मरो भने उसको छोरा खुडा हान्य नहुन्ज्याल मरवट दिनु। खुडाहान्य भयापछि जागिरमा उकाली दिनू”।

यसबाट स्पस्ट हुन्छ कि काम को प्रकृति पदको विविधता अलग भए पनि ठूलो र सानो हुँदैन। सबै समान हिसावका सम्मान योग्य हुन्।

बलिदानलाई पनि त्यसरी नै बुझेर शहीदका सन्तालाई योग्य र दक्ष बनाएर जिम्मेवारी दिनु भन्ने पृथ्वीविचारले साँचो अर्थमा शहीदको बाटोमा हिडाउने आधार बनाएको ठहर्छ।

यसरी राष्ट्र, राष्ट्रियता र परिवर्तको लागि लडेका शहीदका सन्तानहरुप्रति राज्यको के कस्तो कर्तव्य र दाइत्व हुनुपर्छ भन्ने मार्गदर्शन पृथ्वीविचारले दिएको छ।

पृथ्वीनारायणले दिएको पृथ्वीविचारलाई राज्यले व्यवहारमा अनुशरण गरेमा राज्यले बलिदानको उर्जा पाउने छ। तर यसको विपरित राज्य चलेमा भने राज्यले धेरै गुमाउने छ।

नेता सत्तामा रमाउने बलिदान दिने शहीदका परिवार अभाव र दुखमा तड्पिने र मुलुक भ्रष्टाचारले आक्रान्त भइरहने हो भने शहीदको बलिदान प्रति धोका र गध्दारी ठहर्छ।

शहीदका सच्चा आदर्श उत्तराधिकारी उसको परिवारबाटै खोज र उसलाई राज्यप्रति इमान्दार बनाउ र उबाट पनि राज्यले इमान्दारी पूर्वक सेवा लेउ।

शहीदले आफूलाई बलिदान दिएर स्थापित र विकसित गरेको त्याग र समर्पणको राजमार्गमा शहीदको परिवारसंगै अरु लाखौंलाई लामवध्द गराउ भन्छ पृथ्वीविचारले।

पृथ्वीनारायण शाहले यो विचार त्यसै भावनामा बगेर अघि सारेका थिएनन्। यो उनले नेपाल एकिकरण अभियानको दौरानमा आफैंले लागू गरेर सकारात्मक परिणाम हासिल गरेको व्यवहारको सार विचार हो।

नेपाल एकीकरणको अभियानमा उनका भरपर्दा र क्षमतावान् प्रधानसेनापति शिवरामसिंह बस्नेत उपत्यका एकीकरण गर्ने अभियानको क्रममा सांगाको लडाईमा मारिए।

शिवरामको बलिदानले पृथ्वीनारायणमा ठूलो निराशा पैदा गराएको थियो। उनलाई एकीकरण अभियान नै त्याग्ने हो कि अवस्थामा पुर्‍याएको थियो शिवरामको बलिदानले।

उनको निराशामा उर्जा बनेर आइन् शिवराम बस्नेतकी विधवा शुरप्रभा बस्नेत। उनले पृथ्वीनारायणलाई उर्जा भर्दै भनिन् राजा भएर पनि यसरी निरास बनेर झोक्राएर बस्ने होइन। लडाईं भनेकै मार्ने र मर्ने हो।

तपाईंको सेनापति गयो मेरो त सेनापति पनि पति पनि गयो तर पनि म निरास छैन। सिंह बैरीको हातबाट ढलेपनि उसले मलाई ४ डम्मरु छोडेर गएको छ म तपाईंलाई यिनै ४ डम्मरु दिन आएकी हुँ। यी ४ डम्मरुलाई ठूला पार्नुहोस् तलिम दिनुहोस् भविश्यमा यी सबै सिंह हुनेछन्।

पृथ्वीनारायणले शहीद परिवार बाल बच्चा सबैको रेखदेख गर भनेजस्तै जीविका र तलिम दिए। बयस्क भएपछि सेनामा जगिर पनि दिए।

नेपाल एकीकरण अभियानका शहीद सेनापति शिवराम बस्नेतका छोराहरु नाहरसिंह, केहरसिंह अभिमानसिंह, धौकलसिंह बस्नेत सबै शिवरामको आदर्शको उत्तराधिकारी भएर नेपाल एकीकरण अभियानमा ठूलै बहादुरी देखाएका थिए।

सबैले उच्च तहको जिम्मेवारी पनि पाएका थिए। यस्ता उदाहरणहरु धेरै पाइन्छन् पृथ्वीनाराायणमा। त्यसैले शहीद र शहीद परिवारको रेखदेख र जिम्मेवारीको पृथ्वीविचार व्यवहारबाटै जन्मिएको निष्कर्ष विचार थियो।

पृथ्वीनारायणले देश र जनताको हित र जितको खातिर दिएको बलिदानलाई उच्च महत्व दिएका थिए। उनले शहीद परिवारलाई जीविका र जिम्मेवारी दुबै दिने नीति लिएका थिए भन्ने दृष्टान्त माथि शिवरामका छोराहरुलाई गरेको व्यवहारले प्रमाणित गर्दछ।

उनले आदर्श, विश्वास र समर्पणका उत्तराधिकारी पनि बनाउने नीति र व्यवहार अघि सारेको देखिन्छ।

शहीदका सन्तानहरु बलिदानका जगबाट खडा भएकोले उनीहरु भरोसा योग्य हुन्छन् भन्ने विश्वास पृथ्वीनारायणको भएकोले नै उनले शहीद परिवार माथि बढि भरोसा लिएको बुझ्न सकिन्छ।

त्यसैले उनले शहीदका परिवारलाई जीविका र जागिर दिने नीति बनाएको देखिन्छ। यो आफैंमा पृथ्वीनारायणको बलिदानलाई सम्मान हो, विश्वास र भरोसा हो।

बलिदानलाई सम्मान गर्ने र शहीदका सन्तान राज्यका सन्तान मान्ने पृथ्वीनारायणको विचार र व्यवहारबाट राज्य चलाउने सबैले सिक्नुपर्ने हुन्छ। झारपात सबैलाई शहीद भन्ने र दशलाख गन्नेहरुले बलिदान सम्बन्धीको पृथ्वीविचारबाट धेरै सिक्नु पर्ने हुन्छ।

शहीद र बलिदान आफैमा दर्शन ढुंगा हो जो आगोमा हाले पनि धर्तीमा फाले पनि पानीमा हाले पनि उ भित्रको झिल्का बलिरहेकै हुन्छ।

त्यही झिल्काहरुलाई निभ्न नदिएर सन्तान दर सन्तानमा पुख्र्यौली सम्पति बाँड्दै र बाल्दै लाने बलिदान सम्बन्धीको पृथ्वीविचार हो। बलिदान सम्बन्धीको पृथ्वीविचारको धार र सार यही नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *