महाराजलाई चिठी
श्री १,०४,३५५ महाराज,
कोटीकोटी नमन र सलाम ।
आज महाराजलाई स्मरण र सम्मान गर्ने दिन। जय जयकार गर्ने यो बिशेष दिनमा महाराजप्रति सादर भक्ति दर्शाउँदै स्तुति गर्न यो आलेख पस्किएको छु।
महाराजको जो हुकुम।
बिगतको याद
हाम्रो महाराजलाई कसले छुने? कसले आँखा तर्ने? जसले हानि नेक्सानी गर्दछ त्यो जेल जान्छ। बिना सम्झौता। पुराना स्वाभिमान श्रीमान न्यायाधीशहरुको गौरवशाली भाष्य र प्रतिबद्धता। श्रीमानहरुबाट महाराजको अधिनस्थ क्षेत्रको साप्ताहिक भ्रमण र दर्शन।
रक्षा कल्याण सम्मान गरिछाड्ने दृढ संकल्प। पुनराबेदन अदालतका श्रीमानको झन् कडा संकल्प। राजा बचाउन श्रीमानहरु एकमत। ती संरक्षणकर्मी श्रीमान नवराज उपाध्याय र उहाँको टिमलाई ससम्मान सलाम।
महाराजको अधिनस्थ क्षेत्र बाहिर नेपाल प्रहरीको कडा पहरा। रात्रि गस्ती। भगुवा र अवकाश सुरक्षाकर्मीको अभिलेख र सुक्ष्म अनुगमन। रक्षा कार्यमा गोलबद्ध गर्ने असल काम।
जिल्ला प्रहरी प्रमुखले संगठनलाई महाराजको रक्षा कल्याण सम्मानमा लाग्न फिल्डबाट गरेको जोडदार आग्रह। प्रहरीले स्वस्फूर्त पुर्याएको त्यो योगदानप्रति मलाइ आजीवन स्वगौरवको अनुभूत हुनेछ।
टिम बिल्डङ र टिमवर्कमा प्रहरीले पुर्याएको त्यो अद्भूत योगदान म कसरी बिर्सूँ। संरक्षणप्रेमी टपेन्द्र हमाल र उहाँको टिमलाई सम्मान र सलाम।
महाराजको स्याहार सेवा रक्षा कल्याण सम्मानमा अधिनस्थ क्षेत्र भित्र पंक्तिकार सेवकले पुर्याएको एकाग्र र गहिरो सेवा। सत्प्रतिशत सुरक्षाको सुनिश्चितता। अधिनस्थ क्षेत्रको पूर्ण रखवारी। न बिजुली, न सिसी क्यामरा।
तर, सर्वत्र बुट्स् अन द ग्राउण्ड। सर्वत्र आँखा र कान। सर्वत्र सुराकी। सर्वत्र पहुँच। हाम्रा बाइपंखी घोडा जस्ता चुस्त दुरुस्त होनहार बफादार सकरात्मक पुराना सैनिक गार्डहरु। संरक्षणमा प्रतिबद्ध त्यागी स्थानीय समुदाय र युवाहरु।
महाराजलाई कसैले छड्के आँखा लाउन नसक्ने स्थिति। पाप गर्न परै जावस् चियाउन नसक्ने अवस्था। अपराधीलाई पानी मुनि गएर पक्रने संरक्षणकर्मीहरु।
जसरी महाराजको समय, सिमाना, बन्धन हुँदैन उसैगरि अपराधी र आतंककारीहरुको सिमाना हुँदैन भन्ने विश्वास बोकेको सुरक्षाकर्मीहरु। महाराजको अधिनस्थ क्षेत्र भन्दा धेरै टाढा र बिदेश पुगेर अपराधीहरुलाई पक्रने र कानुनको दायरामा ल्याइछाड्ने प्रतिबद्ध संरक्षणकर्मीहरु।
सिकारीलाई सुट एट साइटको आदेश दिने तालुक मन्त्रालय र साहसिक मन्त्री। सुरक्षाकर्मीलाई स्याबासी, हौसला र मनोबल दिने तालुक बिभाग र जंगी अड्डा। तलदेखि माथिसम्म टम्म मिलेको एकढिक्का बृहद् टिम। महाराजपनि शान्त, खुशी सुखी। जनता पनि सुन्दर शान्त खुशी। हामी संयुक्त एक ढिक्का सेवकहरु उसै हर्षित र गौरवान्वित।
द्वन्द्वकाल
महाराजको उछितो काड्न शुरु भयो। द्वन्द्वको निशानामा महाराज र महाराजको आहार विहार। बम बारुद गोली बर्षा। महाराजको बर्बाद। महाराजसँगै एकमुष्ट गुँड नास। न रह्यो रुख न रह्यो गुँड।
संक्रमणकाल
शान्ति सम्झौता पछि पनि पल्किएको कालले महाराज माथि निरन्तर निशाना। महाराजलाई खोजी खोजी हत्या हिंसा। महाराजको अधिनस्थ क्षेत्र करीब करीब खाली। महाराजविहीन राज्यको आशंका। मातृभूमिको दुर्भाग्य। माटोलाई पीडा। ईतिहासमा कलंक। अन्तर्राष्ट्रिय बेइज्जती र बदनाम। एक्लो टुहुरो निरीह अबोध प्रकृतिलाई पीडा माथि पीडा।
रिकोभरी
क्षत विक्षत पूर्व एकढिक्का टिम स्तब्ध भयौं। इज्जतको सवाल। मर नत्र गर (डु अर डाई) रणनीति अख्तियार गर्यौं। सत्यनास भैसकेको महाराजको रिकोभरिमा संयुक्त टिम ज्यानको बाजी लगाएर अहोरात्र खटेपछि धन्य महाराजहरुको चामत्कारिक रिकोभरी भयो।
वर्तमान
वर्तमान कहाँबाट के भनेर कसरी जाहेर गरुम् महाराज? महाराज चाहिँदैन। महाराजलाई जिस्क्याउने, उत्तेजित पार्ने, तनाबमा राख्ने धरापमा पार्ने, कैद गर्ने, मार्ने अंग व्यापार गर्ने र महाराजको अधिनस्थ क्षेत्र अतिक्रमण गर्ने रहर र लहर चलिरह्यो।
भविष्यमा प्लटिङ गर्ने, बेच्ने, धन कमाउने र सन्ततिको सास बास खोसेर भविष्य अन्धकार पारिदिने खाका कोरिदै छ। दुर्भाग्य! यही हो वर्तमान ग्राउण्ड रियालिटी र रोडम्याप।
माफ पाउँ महाराज ।
बहुदलको निशाना महाराज। द्वन्द्वको निशाना महाराज। हाईब्रिड गणतन्त्रको निशाना सोझै महाराज। “किन चाहियो महाराज? महाराजलाई पक्र, थुन, मार।” यही हो आज निर्माण भएको सस्तो खपतको भाष्य।
क्यारिङ क्यापसिटी छैन रे। महाराजको संख्या बढी भयो रे। महाराज-जनता द्वन्द्व बढ्यो रे। अर्को तर्कहीन र अर्थहीन भाष्य।
जल जमिन जंगल जीब नभएर होइन।
त्यही खराब भाष्य आज र भोलिको प्रमुख चुनौती भएको छ। अस्थिर बिकृत राजनीति, सर्वत्र राजनीतिकरण र प्रकृतिप्रेमी संरक्षणप्रेमी राजनेताको अभावमा सिर्जना भएको नया भाष्य र चुनौतीले महाराजको भविष्य अन्धकार छ। फेरि बिउ मासिने खतरा।
यो भाँड्ने, उचाल्ने, टिम फुटाउने, फिल्डलाई टुहुरो बनाउने प्रायोजित गलत भाष्यले हो फिल्डमा तनाब बढेको। राष्ट्रिय अनुशासन, हौसला र मनोबल गिरेको।
महाराजसँगको द्वन्द्व बढेको। महाराजको अस्तव्यस्त धरपकड बढेको। विज्ञहरु छायामा र बिचौलिया मायाजालमा बाँधिएको। घडी उल्टो घुमिरहेको। उल्का भइरहेको।
क्षमा याचना
महाराज,
क्षमा पाउँ। महाराजको मुटु चिरेर छातीबाट सडक हाल्यौं। नहर, बत्ती, पानी कुदायौं। क्षणिक भन्यौं। भविष्यमा हटाउने संकल्प गर्यौं। तर, अहिले हटाउने होइन रेल गाडी र हवाइजहाज कुदाउन नया बिकासका काम आघि सारिरहेका छौं। वन खाने दाउ।
नयाँ राजा महाराजहरुको सिकार सोख र जिब्रोमा सुकुटीको स्वाद अर्को चुनौती भएको छ। दलाल र बिचौलियाहरुको आक्रमण र अतिक्रमण जगजाहेरै छ। महाराजहरुको पत्तासाफको डर। अनिष्ट संकेत।
बर्दियाको रेञ्जमा बर्दियाजस्तै भारतको जिमकर्बेट निकुञ्जमा १४ महाराज प्रति १ सय वर्ग कि.मि. क्षेत्रफलमा। जब कि हाम्रोमा मुस्किलले ७ मात्र। क्यारिङ क्यापसिटी बढी भएको होइन। बरु महाराजको आहार बिहार घटेको हो। गलत भाष्यले हाम्रो माग घुसपैठ बदमासी बढेको छ।
हाम्रो व्यवस्थापन र संरक्षण फितलो भएको छ। त्यसैले हो महाराजहरुलाई मूलघर छाडेर गाउँ बस्ती पहाड जानुपर्ने बाध्यता। उखुबारीमा गएर सन्तान जन्माउनु पर्ने बाध्यता।
महाराज,
पंक्तिकार र संरक्षणकर्मीहरुलाई ठूलो पश्चाताप छ। घिन र हिनताबोधले पोलेको छ। भुँइतहका गरिब, निमुखा, आदिवासी धर्तीपुत्रहरुले दोहोरो तेहोरो मार खानुपरेको छ। आज मानव निर्मित बिपदको मार। शासक निर्मित कुशासनको मार। सधैं गरीबिको चक्रमा पिसिरहनुपर्ने कष्टकर मार।
जसले हजारौं लाखौं बर्षदेखि सहअस्तित्व स्वीकारे, रमाए। प्रकृतिको खटनमा बसे। महाराजलाई प्राथमिकता दिए। उब्रेको आफूले खाए र रमाए। ती मालिकहरु आज झन् सिमान्तकृत र पीडित छन्। तिनले चुकाएको मुल्यमा तिनकै सिरमा गिर खेलेर तिनलाई जिस्काईरहेका छन् कथित् धनाढ्य ५ तारे होटलहरु।
यी वास्तविक मालिकहरुको आँगनमा समृद्धि नपुर्याए सम्म महाराजलाई शान्ति, सुरक्षा, सुख र खुशी नहुने भएकोले पंक्तिकार लगातार बफरजोनको अनिवार्य उत्थान र बिकासको लागि निरन्तर लेख्दै बोल्दै आएको छु।
महाराजको रक्षा कल्याण सम्मानमा ती निमुखा स्थानीय आदिबासीको त्याग र बलिदानी कदरयोग्य छ। कदर समृद्धि हो। आशा गरौं अब समृद्धि आउने छ।
महाराज,
क्षमा पाउँ। १० वर्ष लामो द्वन्द्व। २० वर्ष लामो संक्रमणकाल। त्यसको प्रत्यक्ष मार महाराजलाई। ३० वर्षपछि आज झन् दुराबस्था!
महाराज,
स्थानीय समुदाय आजपनि दुर्गाको वाहन प्रभुलाई धुमधाम पूजा गर्दछन्। संरक्षणमा समृद्धि देख्दछन्। वन, पार्क संरक्षणकर्मीहरु र नेपाली सेनाले राष्ट्रिय पुँजी र ऐतिहासिक बिरासत भनेर महाराज बचाइछाड्ने संकल्प बोकेर जीउधन नभनी अन्धभक्त भइ लागेका छन्।
प्रकृतिप्रेमी आमजनता र विश्व समुदायलाई पनि महाराज नभई भएको छैन। तर कथित बिद्वान अधिकारकर्मीहरु महाराजको संरक्षण चाहँदैनन्।
विचौलियाको बुई चढेर राजनीतिक नेतृत्वहरु समेत किन चाहियो बाघ, हात्ती, गैंडा, कस्तुरी भनेर लल्कारिरहेका छन्। स्थानीय जनतालाई भड्काइ राखेका छन्। सेना चाहिँदैन र किन निकुञ्ज, किन सेना, भन्ने समूह एउटै भाष्य निर्माण गर्ने खतरनाक समूह हुन्। धर्म संस्कृति, प्रकृति विनासमा रमाउनेहरु।
उज्वल भविष्य
आशा गरौं, अब कुशासनको अन्त्य हुनेछ। मातृभूमिले प्रतिबद्ध र त्यागी राजनेता पाउने छिन्। जसले महाराजको रक्षा गरेर हरित अर्थतन्त्रको बिकल्प दिने छ।
५० हेक्टर जंगल छुट्याएर सुन्दर प्राकृतिक पाटेबाघ पार्क खोल्ने छ। र, हाल अन्धाधुन्ध धरपकड गरी खोरभित्र कैद गरी बिजोकसाथ राखिएका महाराजहरुलाई त्यो प्राकृतिक पार्कमा छाडिने छ। स्वतन्त्र बिचरणले महाराजहरुलाई सच्चिने सुध्रिने र प्राकृतिक मूलघरमा फिर्ता हुने अवसर पनि प्राप्त हुनेछ।
आशा गरौं बृद्ध र अशक्त महाराजहरुको पूर्व पहिचान हुने छ। सुक्ष्म अनुगमन हुने छ। र, द्वन्द्व अगाडि नै नियन्त्रणमा लिएर बाघ पार्कमा स्थान्तरण गरिने छ।
ज्यादै दक्ष र अनुभवी बिज्ञ र बन्यजन्तु प्राविधिकहरुका लागि यो व्यवस्था गर्न धेरै समय र शक्ति लाग्ने छैन। महाराजको अनुगमन अव आधुनिक सुचना प्रविधि (आईटी) ले गर्ने छ।
मातृभूमिका सारा प्रकृति तथा वातावरणप्रेमी र संरक्षणप्रेमी बिज्ञ र अभियन्ताहरु साझा संरक्षण छातामुनि गोलबद्ध हुनेछन्। पूर्व राष्ट्रपति, प्रधानमन्त्री, बनमन्त्री, वनसचिव, महानिर्देशक लगायत सम्पूर्ण संरक्षणकर्मीहरु भूमिगत होइन, सक्रिय भएर यो छातालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने छन् र जोडदारसँग नया बुलन्द भाष्य लल्कार्ने छन्-
“हामीलाई जंगलको महाराज चाहियो चाहियो।
हामी मातृभूमिलाई टाइगरल्याण्ड बनाउछौं बनाउछौं।।
हामी हाम्रा महाराजलाई सुख शान्ति र खुशी दिन्छौं दिन्छौं।।।”
त्यसपछि प्रकृतिको धनी सुन्दर मातृभूमिको अर्को नाम “टाइगर ल्याण्ड” होस्। र, हेरक नेपालीले समृद्धि दिने महाराजलाई पेटभरि हेर्न पाउन्। र, यो गौरवशाली मातृभूमि महाराजलाई खुशी र सुखसाथ पाल्ने अन्तिम स्वर्गको टुक्रा होस्।
महाराज,
आजपनि ६० प्रतिशत बढी पर्यटकले यहाँका संरक्षण क्षेत्र भ्रमण गरेको तथ्याङ्क छ। हेरक पर्यटकको पहिलो र ठूलो आकांक्षा महाराजलाई हेर्नु भेट्नु र फोटो खिच्नु रहेको पंक्तिकारको अनुमान छ।
हिमालमा हिमाली महाराज (हिम चितुवा) र तराईमा जंगलको महाराज (पाटे बाघ) देखाउन सक्ने हो भने धनाढ्य पर्यटकहरुले मातृभूमिलाई बिदेशी मुद्राले पुरिदिने निश्चित छ।
महाराजहरुको रक्षा कल्याण सम्मानमा अनवरत त्याग गर्ने भगवान सरहका स्थानीय समुदायहरुलाई नमन। फिल्ड फ्रन्टलाईन पार्क र संरक्षणकर्मीहरुलाई नमन। संरक्षण साझेदार संघ-संस्थाहरुलाई नमन। ८ हजार नेपाली सेनाको त्याग र बलिदानिलाई सलाम
छ।
अन्त्यमा, १ सय बर्ष अगाडि १ लाख संख्यामा रहेका महाराजहरु एउटा मान्छेको १ सय बर्षे आयुकालमा घटेर ४ हजारमा झर्नु र यो तपोभूमिमा बाँकी ३५५ जंगलका राजाहरुलाई देखिनसक्नु बरु शिकार गर्नु गराउनु र जंगल खाली गराउने सोच पलाउनुलाई चरम दरिद्रता, दुर्भाग्य र अनिष्ट नभनेर के भन्नु। पाठकलाई १,०४,३५५ को स्पष्टोक्ति।
जय बाघ दिवस।
महाराजको अनन्य सेवक
बाबुकृष्ण कार्की
बाघ गोठालो
Facebook Comment