टर्कीमा ठूलो भूकम्प जाँदा चेतावनी दिन कसरी चुक्यो गुगल ‘अलर्ट’ ?
बीबीसी । गुगलको भूकम्पसम्बन्धी चेतावनी प्रणालीले गत फेब्रुअरीको घातक भूकम्पअघि टर्कीका अधिकांश बासिन्दालाई पूर्वसूचना दिन असफल भएको बीबीसी न्यूजनाइटको अनुसन्धानले देखाएको छ।
गुगलले आफ्नो ‘अलर्ट’ प्रणालीले प्रयोगकर्तालाई भूकम्प आउनुअघि एक मिनेटसम्म उनीहरूको फोनमा त्यस्तो पूर्वसूचना दिन सक्ने बताएको छ।
उसले टर्कीको भूकम्पअघि लाखौँ मानिसलाई पूर्वसूचना पठाइएको र त्यो भूकम्पअघि व्यापक रूपमा पठाइएको त्यस्तो खालको पहिलो चेतावनी भएको पनि जनाएको छ।
तर बीबीसीले भूकम्प प्रभावित क्षेत्रका तीनवटा सहरको भ्रमण गरी सयौँ मानिससँग कुरा गर्दा पनि त्यहाँ अधिकांशले त्यस्तो चेतावनी प्राप्त गरेको जानकारी पाउन सकेन।
उक्त प्रणालीले एन्ड्रोइड फोनमा काम गर्छ अर्थात् आईफोनबाहेक प्राय: सबै फोनहरूमा यसले काम गर्छ।
सामान्यतया एन्ड्रोइड फोन तुलनात्मक रूपमा सस्तो र सहजै उपलब्ध हुने गर्छन् र टर्कीमा प्रयोग हुने फोनमध्ये ८० प्रतिशत भाग त्यस्ता फोनको छ।
प्यासिफिक नोर्थवेस्ट साइस्मिक नेटवर्कका निर्देशक प्राध्यापक ह्यारोल्ड टोबन भन्छन्, “यदि गुगलले भूकम्पको पूर्वचेतावनी दिने सेवा प्रदान गर्ने वाचा गर्छ भने मेरो लागि त्यो उसले जुवा खेलेको जस्तो मलाई लाग्छ।”
“उनीहरूमा प्रत्यक्ष रूपमा मानवजीवनसँग जोडिएका कुराहरू हेर्नुपर्ने जिम्मेवारी रहन्छ।” गुगलको उक्त प्रणाली बनाउने नेतृत्व गरेका माइका बर्मनले त्यसले काम गरेको दाबी गरे।
उनले बीबीसीसँग भने, “हामी विश्वस्त छौँ – यो प्रणालीले काम गरेको थियो र अलर्ट पठाएको थियो।” यद्यपि उक्त कम्पनीले त्यस्ता चेतावनीहरू व्यापक रूपमा प्राप्त भएको प्रमाण दिएको छैन।
टर्कीमा गत फेब्रुअरीमा गएको भूकम्पमा परेर ५०,०० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यस दिन बिहान सबेरै ७.८ म्याग्निट्यूडको पहिलो शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि दिउँसोको खाना खाने समयमा अर्को ठूलो भूकम्प गएको थियो।
बीबीसीले उक्त दोस्रो भूकम्पका लागि भने चेतावनी प्राप्त गरेका केही सीमित प्रयोगकर्ताहरूलाई फेला पार्न सकेको छ।
यो प्रणालीले कसरी काम गर्छ?
एन्ड्रोइड फोनहरूमा भूकम्पको पूर्वसूचना दिने गुगलको चेतावनी प्रणाली सन् २०२१ को जुनमा टर्कीमा सुरु गरिएको थियो। यो प्रणाली विश्वका अन्य दर्जनौँ देशहरूमा पनि सञ्चालनमा छ।
कम्पनीले आफ्नो एन्ड्रोइड सेवाको “मुख्य काम” नै भूकम्पको पूर्वसूचना प्रयोगकर्तासम्म पुर्याउने क्षमता भएको वर्णन गर्ने गरेको छ।
यसले एन्ड्रोइड फोनहरूको व्यापक सञ्जाललाई प्रयोग गरेर काम गर्छ। स्मार्टफोनमा ससाना ‘अक्सेलरोमिटर’ हुन्छन् र तिनले हल्लिएको पत्ता लगाउन सक्छन्।
एकै समयमा धेरै फोनहरू हल्लिएपछि गुगलले भूकम्पको केन्द्रबिन्दु र भूकम्पको शक्तिबारे अनुमान गर्न सक्छ। गुगलले यो प्रविधिले कसरी काम गर्छ भनेर जानकारी दिन छुट्टै सामग्री पनि बनाएको छ।
भूकम्पको म्याग्निट्यूड ४.५ वा त्योभन्दा माथि भएको पत्ता लगाएपछि एन्ड्रोइड प्रणालीले चेतावनी पठाउन सक्ने बताइएको छ। “यो एकखाले अलर्ट हो जुन तपाईँले सायद आफ्नो फोनमा पहिले देख्नुभएको थिएन। यो तपाईँको फोनको स्क्रीनमा देखिन्छ,” बर्मन भन्छन्।
चेतावनीले ठूलो आवाजका साथमा “ड्रप, कभर, होल्ड” भन्ने उनले बताए।
यसले प्रयोगकर्ताको ‘डु नट डिस्टर्ब मोड’लाई स्वचालित रूपमा ‘ओभरराइड’ गर्ने भएकाले यो प्रणालीलाई तपाईँले अन गर्नुपर्ने आवश्यकता छैन। “तपाईँको फोन जुनसुकै अवस्थामा भए पनि तपाईँले त्यो चेतावनी पाउनुपर्छ,” बर्मन भन्छन्।
गुगलले उक्त प्रणालीले फेब्रुअरी ६ मा लाखौँ मानिसलाई सफलतापूर्वक त्यस्तो अलर्ट पठाएको दाबी गरेको छ। बर्मनका भनाइमा गुगलबाट मानिसहरूले कति चेतावनी पाउनुपर्ने थियो भन्ने कुरा उनीहरू त्यो भूकम्पबाट कति टाढा थिए भन्नेमा निर्भर गर्छ।
इन्टरनेटबाट जाने सन्देशहरू पृथ्वीमा प्रसारित हुने भूकम्पका तरङ्गभन्दा पनि तीव्र गतिका हुन्छ। “कहिलेकहीँ [चेतावनी] सेकेन्ड वा सेकेन्डको अंशभरिको पनि हुनसक्छ, कहिलेकाहीँ यो २० वा ३० सेकेन्डको हुनसक्छ भने कहिलेकहीँ यो ५० वा ६० सेकेन्डको पनि हुनसक्छ,” उनी भन्छन्।
भूकम्प गएपछि घण्टौँ, कैयौँ दिन र साताभरि भूकम्प गएको क्षेत्रमा व्यापक रिपोर्टिङ गरिए पनि बीबीसीलाई उक्त चेतावनीबारे कसैले पनि बताएनन्। त्यसैले हामीले चेतावनी पाएका मानिसहरूको विशेष रूपले खोजी गर्न थाल्यौँ।
हाम्रो टोलीले भूकम्पको केन्द्रबिन्दुबाट ७० किलोमिटरदेखि १५० किलोमिटरसम्म टाढा रहेका तीन सहर एडना, इस्क्यान्देरुन र ओस्मानियाको यात्रा गर्यौँ। हामीले एन्ड्रोइड फोन भएका सयौँ मानिसहरूसँग कुरा गर्यौँ।
यद्यपि हामीले दोस्रो पटक गएको भूकम्पअघि केही व्यक्तिहरूले पूर्वसूचना पाएको फेला पार्न सफल भयौँ। तर पहिलो अर्थात् सबैभन्दा शक्तिशाली भूकम्पअघि त्यस्तो चेतावनी प्राप्त गरेका कसैलाई पनि भेट्टाउन सकेनौँ।
इस्क्यान्देरुनमा हामीले अलिजानसँग कुराकानी गर्यौँ। उनले एउटा अस्पताल भत्किँदा आफ्नी हजुरआमा गुमाएका थिए। उनले त्यसअघि अलर्ट पाएको तर त्यसपालि भने नपाएको बताए।
भूकम्प क्षेत्रबाट पाएको जानकारी हामीले गुगलका बर्मनलाई पनि दियौँ र त्यसबारे सोध्यौँ। उनले पहिलो घटनापछि मानिसहरू अन्य कुरामा नै व्यस्त भएका बेला त्यस्तो चेतावनी गएकाले उनीहरूले त्यसबारे थाहा नपाएको हुनसक्ने बताए।
तर हामीले कुराकानी गरेका मानिसहरूले त्यस्तो केही पनि नआएको कुरामा अडिग थिए। भूकम्पपछि टहरामा बस्दै आएकी फुन्दाले आफ्नो परिवारका २५ सदस्य गुमाएको बताइन्।
“हामी वास्तवमै भुइँमा खस्यौँ। मेरो जेठाजु र भतिजो एकअर्कालाई अँगालो हालेकै अवस्थामा पुरिए,” उनले भनिन्। उनी पनि एन्ड्रोइड फोन चलाउँछिन् तर उनले कुनै पनि पूर्वसूचना वा चेतावनी नपाएको बताइन्।
सामाजिक सञ्जाल शान्त
भूकम्पपछि यदि मानिसहरूले त्यस्तो चेतावनी पाएका भए त्यसबारे सामाजिक सञ्जालमा पोस्ट गर्ने अपेक्षा गरिन्छ। त्यो गुगलको उक्त प्रणाली सुरु भएपछि भूकम्प आएका अन्य देशहरूको सामान्य प्रवृत्ति हो।
“हामीलाई प्राप्त हुने केही प्रतिक्रियाका स्रोतमध्ये एउटा सोशल मिडिया पनि हो, त्यसमा पनि हेर्न सकिन्छ,” बर्मन भन्छन्। तर टर्कीमा पहिलो भूकम्प गएपछि सामाजिक सञ्जाल असामान्य रूपमा शान्त थियो र त्यसलाई बर्मनले पनि स्वीकार गरे।
“हामीले त्यो विशेष घटनामा किन सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया देखेका छैनौँ भन्ने प्रश्नको उत्तर मसँग छैन,” उनी भन्छन्। बीबीसीले मानिसहरूले पूर्वसूचना पाएको देखाउने विवरण पनि मागेको थियो।
तर गुगलले बीबीसीलाई उपलब्ध गराएको एकमात्र प्रमाणिक अभिलेख भनेको सामाजिक सञ्जालमा गरिएका १३ वटा पोस्टहरूको विवरण हो।
ती पोस्टहरूमा मानिसहरूले आफूले त्यस्तो चेतावनी पाएको लेखेका थिए। हामीले ती पोस्टहरू गर्ने प्रयोगकर्तालाई पनि सम्पर्क गर्यौँ।
त्यसमध्येमा एकजना रिदवान गुन्टर्क पनि थिए। उनले एडना सहरमा चेतावनी पाएको पोस्ट गरेका थिए। तर बीबीसीसँगको कुराकानीमा उनले त्यो दोस्रो भूकम्पका आएका बेलाको भएको स्पष्ट पारे। उनले पहिलो भूकम्पको चेतावनी नपाएको पुष्टि गरे।
सामाजिक सञ्जालमा गरिएका पोस्टमध्ये एउटामा मात्रै पहिलो भूकम्पबारे विस्तृत विवरण दिँदै चेतावनी पाएको लेखिएको थियो। बीबीसीले उक्त पोस्ट गर्नेसँग कुराकानी गर्यो तर उनीहरूले आफ्नो नाम बताएनन्।
उनीहरूले त्यस बेला त्यस्तो चेतावनी पाएकोमा आफूहरू विश्वस्त भएको तर त्यस समयका घटनाहरूबारे पूर्ण रूपमा निश्चित हुन नसकेको बताए।
गुगलले आफूले प्रयोगकर्ताहरूसँग गरेको सर्वेक्षणहरूबाट प्रतिक्रिया प्राप्त गरेको र त्यसले काम गरेको देखाएको दाबी गर्यो। तर त्यो जानकारी बीबीसीलाई उपलब्ध गराउन अस्वीकार गर्यो।
प्राध्यापक टोबनले बीबीसीसँग गुगलको प्रणाली तुलनात्मक रूपमा नयाँ भएको र उपयोगी हुनसक्ने तर कम्पनी पारदर्शी हुनु महत्त्वपूर्ण कुरा भएको बताए।
“यदि तपाईँले जीवन वा सार्वजनिक सुरक्षाको जानकारी प्रदान गर्दै हुनुहुन्छ भने तपाईँले त्यो कसरी गर्दै हुनुहुन्छ र त्यसले कसरी राम्रोसँग काम गर्छ भन्नेबारे पारदर्शी हुनु तपाईँको जिम्मेवारी हो,” उनी भन्छन्।
टर्कीका भूकम्पविज्ञ तथा प्राध्यापक सुक्रु एर्सोईले बीबीसीलाई भूकम्पका बेला आफ्नी पत्नी प्रभावित क्षेत्रमा भएको बताए। उनका अनुसार उनीसँग एन्ड्रोइड फोन भए पनि भूकम्पको चेतावनी प्राप्त भएन।
चेतावनी पाएका कसैसँग पनि कुरा नभएको उनको भनाइ छ। “यदि गुगलको प्रणालीले काम गरेको भए सायद यो धेरै नै लाभदायक हुन्थ्यो,” उनी भन्छन्।
“तर यो जस्तो ठूलो भूकम्पमा काम नगर्ने प्रणालीले प्रश्न उठाउँछ: यदि यो एउटा प्रभावकारी प्रणाली हो भने हामीले विगत १०० वर्षको सबैभन्दा ठूलो भूकम्प जाँदा किन फाइदा लिन सकेनौँ?”
अन्तर्वार्तापछि गुगलले बीबीसीलाई उपलब्ध गराएको एउटा वक्तव्यमा बर्मनले भनेका छन्, “विनाशकारी भूकम्पका समयमा धेरै कारकहरूले प्रभाव पार्न सक्छ। प्रयोगकर्ताहरूले पूरक चेतावनी प्राप्त गर्छन्, सूचना दिन्छन् वा कार्य गर्छन्। त्यसमा भूकम्पका विशिष्ट विशेषताहरूसहित इन्टरनेटको उपलब्धता आदिले पनि प्रभाव पार्न सक्छन्।”
(सान फ्रान्सिस्कोमा जेम्स क्लेटन र बेन डेरिको, टर्कीमा एना फोस्टर/ बीबीसी)
Facebook Comment