सम्झना र सम्मानमा आमा
‘टोपी नलाउ जुत्ता लाउ छालाको आँशु पुछ दुःखीका गालाको’ हामी सानो बच्चा हुँदा आमाले गाउनु भएको यो गीतमा आमाको जीवन दर्शन रहेछ भनेर भरखर मात्र बुझ्न थालेको छु। मन र वचनमा आमा सधैं दुःखीहरुको सेवामा समर्पित हुनु हुन्थ्यो।
अरुको दुःख घटाउन आफू दुःखको भारी बोक्न तयार हुने आमा साचो अर्थमा एउटा सार्थक जीवन जिएर हामीलाई जीवन केका लागि को अर्थ दिएर विदा हुनु भएको पनि वर्ष दिन बितिसकेछ।
साँचो अर्थमा आमा असलहरुको पनि असल हुनु हुन्थ्यो। एउटा सार्थक जीवनको दृष्टान्त दिएर आमा जानु भयो परलोकमा। आमा बारे केही शब्द दिन पाउनु आफैमा गर्वको वात हो मेरो लागि।
निष्पक्ष माया, समान व्यवहार,समन्वयकारी भूमिका, छक्का पञ्जारहित निश्छल मन, संयमताको खानी धर्यताको धनी श्रमपूर्ण सकृय जीवन उदार र लचिलोपन आमाका विशेषता हुन् जस्तो लाग्छ।
आमाका यिनै प्रवल विशेषताले आमाको सर्वमान्य, सर्व स्वीकार्य व्याक्तित्व बनेको थियो। यही व्याक्तित्वले परिवारमा संस्कार र संस्कृति निर्माणमा निर्णायक भूमिका खेलेको थियो।
यस्तो संस्कार र संस्कृति निर्माणमा हजुरआमा (बुबाकी आमा)बछलाको भूमिका महत्वपूर्ण भएको आमाले हामीलाई सधै बताउनु हुन्थ्यो।
यति धेरै सदस्य भएको संयुक्त परिवार, घर भित्र बाहिरका आन्तरिक व्यवहार, नाता गोताको ठूलो सञ्जाल, पाउनाहरुको आगमन निरन्तर, शिक्षा र समाजसेवाको केन्द्र घरको आन्तरिक व्यवस्थापन कम चुनौतीपूर्ण थिएन आमाको लागि जहिल्यै। कुनै पनि चुनौतीको कुशलतापूर्वक सामना गर्दै आमाले परिवार र समाजलाई अगाडि बढाउन जहिल्यै महत्वपूर्ण भूमिका खेल्नुभयो जीवन पर्यन्त।
पर्दा भित्रबाट दिएको योगदान धेरैलाई थाहा हुँदैन। दर्शकले त मञ्चको पात्रको भूमिका मात्र देखेका हुन्छन् र चर्चा उनिहरुको मात्र हुन्छ। यो आम ग्रामीण महिलाहरुमा आम रुपमा लागू भएको पाइन्छ।
यसबाट हाम्रो परिवार पनि अपवाद थिएन वा भएन जो स्वभाविक पनि हो त्यस्तो वा यस्तो सामाजिक परिवेसमा। बुबा हरिचरण सिटौला त्यो क्षेत्रमा एउटा स्थापित नाम हो। वहाँले आफ्नो सारा जीवन शिक्षा विकास र समाजसेवामा बिताउनु भयो।
नेपाल कै ग्रामीण क्षेत्रको पहिलो कलेज वीरेन्द्र इन्टर कलेज २०१७, को संस्थापकमा बुबाको नाम आउँछ। २००० सालदेखि शिक्षा र समाज सेवामा सामाजिक काममा बुबाको निरन्तर समय व्यतीत हुन्थ्यो जहिल्यै। तर यी सबै सफलताको श्रेय वा नाम त बुबाको मात्रै आएको हुन्छ।
यसमा आमाहरुले आन्तरिक व्यवस्थापनमा निभाएको भूमिका जहिल्यै लुकेको हुन्छ जसको योगदान अतुलनीय हुन्छ। भनिन्छ नि हरेक पुरुषको सफलतामा हरेक असल नारीको भूमिका लुकेको हुन्छ।
अर्थात पुरुषको सफलतामा हल्लिएको जुरोमा स्त्रीको त्याग र मेहनत र सहयोगको चुरो लुकेको हुन्छ। यो हाम्रो आमा र अरु आमाहरुमा लागु भएको छ।
आमा पहाडमा हुँदा पनि शिक्षा र समाज सेवा भएर फुल्नु भयो बुबासँगै। तराइमा झर्नु भयो त्यसरी नै शिक्षा र समाजसेवामा फुल्नु भयो छोरासँगै। आमाबुबा कै प्रेरणा साथ सहयोग हौसला आशीर्वादले साल्दाजुले (रामसर) वालकल्याण वोर्डिङ स्कूल स्थापित गर्नु भयो।
आमाले सधैं यो विद्यालयको अविभावक भएर नैतिक र भौतिक नेतृत्व दिइरहनु भयो जीवनको अन्तिम क्षणसम्म। विद्यालयका फोहर, कागज आदि डढाउने कामलाई जिम्मा जस्तै लिनु भयो स्वेच्छाले। लाग्छ यो आमाले दिएको सन्देश हुनुपर्छ सबैलाई।
मनको, तनको तन छेउको वरिपरिको फोहर डढाई हाल। तनमा मनमा घरमा वरपर कतै पनि फोहर महिलो बस्न नदेउ। यसको अर्थ ठूलो र व्यापक रहेछ। वास्तवमा आमाको स्वच्छ दर्शन। जन जनको स्वच्छता वातवरणको स्वच्छता।
आमाहरुको श्रम संस्कृति जीवन संस्कृति भयो जहिल्यै। श्रमले सम्मान पायो जीवनमा जहिल्यै। गाउँका स्वच्छ मनका श्रमिकसँग श्रममा रमाउँदा आफ्नो मुखियापन होचिएको महसुश गर्नु भएन कहिल्यै। आमा भन्नु हुन्थ्यो ९० सालको भूकम्पले घर लडाएको थियो।
९२ सालमा नयाँ घर ठडियो। सबै घरका चुलीहरुसँग डराए। घरको चुली पोत्न आँट गरेनछन् कसैले। तर आमासँग भने चुलीहरु डराए। सकेनन् हारे चुलीहरुले। चुलीहरु आमाको हातबाट पोतिए।
आमाहरुका लागि दिनहरु पनि छोटा हुन्थे काम गर्दा गदै कति छिटो दिनहरु बितिसकेका हुन्थे कामहरु बाँकी रहँदा रहँदै। पुषका लामा र चिसा रातहरु पराजित हुन्थे आमाहरुसँग।
तीन आँखाले ताराहरु साँक्षी बसेका हुन्थे सधैं आमाहरुसँग पराजित भएको रातहरुको विपक्षमा वकपत्र गर्न। आमालाई जित्न सकेनन् कहिल्यै तामाका ठूला खड्कुला, खरानीसहित आगोमा उम्लिएका बाक्ला खाँडीका कपडाहरुले।
धाराका ठूला चाक्ला फराकिला ढुंगामा पछारिन्थे खाँडीहरु,आमाबाट अनि चुटिन्थे काठका मुंग्राबाट जबसम्म मयल फालिएर सफा हुँदैनथे। प्रारम्भमा आमाहरुको घरबुना खाँडीको जुग थियो।
आफ्नै गाउँ पाखाको कपास र गाउले नारीको सीप। खाँडी र खरानीलाई पछि मात्र विस्थापित गरेको हो बाहिरबाट आएका कपडा र साबुनले। खरबारी हार्थे आमासंग कति छिटै धेरै घाँसका मुठा बाँधेको देख्दा छक्क पर्दथ्यौं हामी।
घरलाई आमाहरुले कहिल्यै होटल वा लज ठान्नु भएन आउने जाने बस्ने खाने गन्न फुर्सद हुँदैनथ्यो। घरलाई होस्टल पनि ठान्नु भएन आमाहरुले रातो दिन पढ्ने खाने बस्ने जति विद्यार्थी भए पनि। न अदालत नै ठान्नु भयो सधैं विवाद र मुद्दाको फैसला दिने ठाउँ भए पनि। घर त घर नै थियो।
तर घर घर जस्तो थिएन। होस्टल पनि थिएन, होटल, लज पनि थिएन, अदालत पनि थिएन। तर थियो त्यस्तै। होस्टलको विशेषता भएको होटलको विशेषता भएको अदालतको विशेषता भएको घर लाई घरकै विशेषतामा कायम राखिरहनु कम चुनौतीपूर्ण कार्य थिएन आमाहरुको लागि।
जुन कुरा वा काम देखिँदैनन् जुनकुरा लेखिदैन् तिनैको मूल्य र महत्व बढि हुन्छ जहाँ पनि जता पनि। पर्दा बाहिरको सफलतालाई पर्दा भित्रको व्यववस्थापन र मेहनतले बोकिरहेको हुन्छ जहिल्यै।
आमा विवाहा गर्दा ६ वर्षको हुनु हुन्थ्यो र बुबा ७ वर्षको। वाल विवाहाको साक्षी भएर लामो जीवन करिव ९५ वर्षको आसपासको जीवन व्यातीत गर्नु भयो आमाले। सधैं सबैको लागि असल भएर। सधै सबैको लागि प्रेरणा भएर ।
जो आमाको समीपमा हुन्थ्यो उसले आमाबाट केही न केही प्रेरणा लिइरहेकै हुन्थ्यो। आमाको छेउमा जो हुन्थ्यो उसैले सबभन्दा आमाको माया पाउने म नै हुँ जस्तो ठान्दथ्यो। मलाई पनि सधैं त्यस्तै लागिरहन्थ्यो।
आमाले जहिल्यै सिकाइ रहनु हुन्थ्यो हामी सबैलाई ‘आफूभलो कि जगत भलो’ भन्ने चल्तिको असलका लागि चाहिने सर्व मान्य भनाइ। असलले खरावलाई पनि असल बनाउन सक्छन् भन्नेमा आमाको दृढ विश्वास थियो र नै आमाले हामीलाई सधै असल हुन प्रेरणा दिइरहनु हुन्थ्यो। मेरो जीवनमा आएको कठिन मोडमा आमाले दिएको आँट र हौसला जहिल्यै प्रेरणा दायक भइरहे मेरा लागि।
आमा मुमा, साइलो बुबा मुमा, मोहनदाइ, साइली भाउज्यू, कृष्ण भाइ दुलही आदि अन्य धेरैसँग चारधाम तीर्थ यात्राको लागि गएका थियौं भारतमा। अलकानन्द नदी किनारमा फसाद आइलाग्यो। माथिबाट पहिरो आइरहने तल छेवैमा नदी बगिरहने।
करीव सय मिटर हिडेर उता गएर गाडी चढ्नु पर्ने भयो। यताको गाडी उता नजाने उताको गाडी यता नजाने। आमालाई दमको पनि विराम छिटो हिडाउन नसकिने छिटो नहिडी पहिराले किच्ने डर।
आमालाई मेरो बुइमा चढ्न भने आमाले मान्नु भएन। आमा तपाइले मलाई जीवनमा कतिपल्ट बुइ बोक्नु भएको छ मैलेत आज पहिलो पल्ट मेरो बुइमा चढ्न भन्दैछु आमा आउनु बुइमा भने। आमाले मान्नु भएको थिएन।
साइलो बुबाले पनि छोराको बुइमा जानु माइली भाउजू छोराले नबोको कसले बोक्छन् त आमालाई भनेपछि आमा मेरो बुइमा आउनु भयो। माथिबाट खसेका ढुंगा माटा बाट छलिदै मातालाई बोकेर छिटो छिटो हिँडेर पारी पुग्नु निकै चुनौती थियो हाम्रो लागि। सकुसल पुगियो।
आमाले किन त्यति धेरै आषिस दिनु भयो मलाई थाहा छैन। शायद आफ्नो कारणले अरुले दुख नपाउन् भन्ने भावना आमामा बढि भएकोले नै आमाले यति धेरै आषिस दिएको हुनुपर्छ। हाम्रो यात्रा टोलीका प्राय सबै बुढा बुढीहरु यो वा त्यो भएर विरामी भएका थिए। तर आमालाई भने केहि नभइ घरमा ल्याइपुर्याउन सफल भयौं।
त्यस्तो यात्रामा हलुंगो सरिरले पनि सजिलो हुँदोरहेछ। आमाको वोजन ४५ केजी जति मात्रै थियो होला। तर मुमाको ८०, ८५ जति हुनुपर्छ। उकालामा वहाँहरुलाई ढाकरमा बोकाएर लानु पर्ने भयो। आमालाई त सजिलै बोकेर हिँडिहाल्यो।
तर मुमालाई तिनजनाले बोक्न खोजे तर तिनै जनाले आँट गरेनन्। चौथो भाइले आँट गरेर बोक्न त बोक्यो तर ५ मिनेट हिँडेपछि नसक्ने भनेर भुइमा बिसायो ढाकर। सुरुमा नै उनीहरुले मागेको डबल ज्याला समेत हामीले कबोले पनि उसले पनि सकेन।
हामीलाई परो ठूलो फसाद। आमालाई बोक्ने कहाँ पुगिसक्यो आमलाई लिएर। मुमालाई बोक्ने नै पाइएन। मुमा घोडामा चढ्न डराउनु भयो। सबैले सम्झाएर आँट दिएर अनि घोडावालले सुरक्षाको विश्वास दिलाए पछि मात्र मुमा घोडामा चढ्न मान्नु भयो र गन्तव्यमा सुरक्षितरुपमा पुग्न सकियो।
दिदी भिनाज्यू आसाममा भेट त बेला बखत भइरहेकै हुन्थ्यो। एकपल्ट भान्जीको विवाहामा पुगेर आसाम तथा आसपासका दर्शनीय स्थानहरु हेरिसकेको थिएँ मैले। आमालाई भेट्न झापा गएका थियौं।
शान्ता र छोरीहरुले पनि आमाको हातको टिका नलगाएको निकै भएको थियो। उनीहरुको विशेष आग्रहमा झापा घरमा गएका थियौं। झापाबाट काठमाडौं नै फर्कने योजनामा थियौं। तर आमाले एकपल्ट आसाम पुगेर आओ दिदी भिनाजु बसेको ठाउँ पनि हेर।
छोरोले त पहिला पनि पुगेर हेरैकै छ बुहारी र छोरीलाई पनि आसाम हेराएर ल्याउदा राम्रै हुन्छ जाओ दिदी भिनाजु पनि खुशी हुन्छन् मात्र भन्नु भएन आमाले कन्तुरबाट झिकेर बाटा खर्च पनि दिनु भयो।
आमाकै प्रस्ताव, हौसला, प्रेरणा र मायाले गर्दा नै हामी सपरिवार आसाम पुगेर रमणीय र आत्मीय भ्रमण सम्पन्न गरेर आयौं। दिदी भिनाजुले हाम्रा आसाम यात्रालाई रमणीय बनाउन कुनै कसर बाँकी राख्नु भएको थिएन।
हामी अरु छोरा छोरीहरु त कहिले कहीँं मात्र भयो आमाको माया र आशीर्वाद लिन भनौ आमाको समीपमा रहन। तर साल्दाजु (राम सर) र साइली भाउजुले भने निरन्तर चालिस वर्ष भन्दा बढि आमाको सेवा गर्नु भयो। आमा सबै प्रति सधैं समान र उदार व्यवहार गर्नु हुन्थ्यो।
आमाका सबै गुण आफूमा समाहित गरेर र आफूसँग भएका थप गुणहरु समेत थपेर वाहाहरुले आमाको अनुकरणीय र उदाहरणीय सेवा गर्नु भयो। हो साँच्चै सम्पतिले किन्न नसकिने सेवा दिनु भयो साल्दाजु र साइली भाउजूले निरन्तर ४ दशक भन्दा बढि समयसम्म। साचै असल आमाका असल छोरा बुहारी।
बुबाको स्वर्गारोहण भएको करीव २० वर्ष पछि निधन भयो आमाको पनि। झापा चारपानेको आफनै घरमा। त्यसरी नै अन्तिम संस्कार गर्यौ पवित्र कनकाई नदीको किनारमा।
पवित्र कनकाइले आमाको पवित्र सरिरलाई पवित्र खरानी बनाएर पवित्र गंगा नदी हुँदै संसार भरि कता पुर्याएको होला। हामीसंग आमा हुनुहुन्न तर आमाबाट प्रेरणा र आशीर्वाद पाएका हामी आमालाई यसरी नै सम्झना र सम्मान गरिरहने छौं निरन्तर निरन्तर र पछि सम्म।
Facebook Comment