मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु छलफलमा जुट्न थाले

डिसी नेपाल
१४ साउन २०८० १४:४५

महोत्तरी। मधेशमा खडेरीसँगै पिउने पानीको समस्या झन विकराल बन्दै गएको छ ।  यथास्थानमा रहेका कतिपय कल, ट्युबवेल र इनारहरु सुकेका छन भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर मानवको दैनिक जीवनमा परिरहेको छ ।

विशेषगरी  पर्साको वीरगञ्ज, धनुषा, महोत्तरी लगायत मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकारकै स्थिति सिर्जना भएको छ। साउनको तेस्रो  साता बित्नै लाग्दासम्म राम्रोसँग वर्षा नहुँदा मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ।

केही दिनअगाडि बसेको नगर कार्यपालिकाको पूर्ण बैठकले नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो। खडेरी परेसँगै मधेश प्रदेशवासी पानीको चरम समस्या झेल्नुपर्ने अवस्थामा पुगेपछि जलवायु विज्ञ छलफलमा जुट्न थालेका छन्।

शनिबार मधेश प्रदेश सरकारका अर्थ र जल तथा सिंचाइ मन्त्रालयमा जलवायु परिवर्तनका कारण उत्पन्न हुँदै गएको संकटको विषयमा गम्भीर छलफल भएको जलवायुविज्ञ नागदेव यादवले बताए। छलफलमा थप समस्या आउन नदिने तत्कालीन र दीर्घकालीन उपायबारे कुराकानी गरिएको यादवले जानकारी दिए।

‘दीर्घकालीन सावधानका लागि चुरेको पानी चुरेमा नै होल्ड गर्ने र पोखरीहरु बनाएर यसको रिचार्ज गर्नुपर्ने बिषयमा हामीले सुझाव दियौँ,’ उनले भने, ‘उहाँहरुले  हाम्रो सुझावलाई गम्भीररुपमा लिनुभएको छ।’

पहिले ३० फिट खन्दा पनि पानी भेटिने ठाउँमा अहिले सय फिट खन्दा पनि पानी भेटिएको छैन । पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन्। नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरवदल देखापरेपछि किसानहरु अनुकुल उपायको खोजीमा छन्।

‘पहिले नियमित लगाउने बालीहरु हुन छाडेको छ । सिँचाइको समस्या बढिरहेको छ,’ महोत्तरीका स्थानीय रामान्दन यादवले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *