नाइजरमा सेनाले सत्ता कब्जा गरेपछि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले यस्तो सन्देश दिए

डिसी नेपाल
१४ साउन २०८० १४:५९

काठमाडौं । रुसमा राष्ट्रपति पुटिनको शक्तिलाई चुनौती दिने वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले पश्चिम अफ्रिकी देश नाइजरमा भएको सैनिक विद्रोहको स्वागत गरेका छन् ।

यससँगै येभगेनी प्रिगोजिनले त्यहाँको अवस्थालाई सम्हाल्न आफ्ना लडाकुहरूको सेवा पनि प्रदान गर्ने प्रस्ताव गरेका छन्।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार येभगेनी प्रिगोजिनको यो सन्देशपछि उनको सक्रियता गत महिनाको असफल विद्रोहपछि पनि बाँकी रहेको देखिन्छ ।

टेलिग्राममा वाग्नर समूहसँग जोडिएको एउटा च्यानलले येभगेनी प्रिगोजिनको रेकर्ड गरिएको सन्देश जारी गरेको छ, जसमा उनले नाइजरमा भएको विद्रोहमा कुनै भूमिका नभएको दाबी गरेका छन्।

तर उनले यो लामो समयदेखि प्रतिक्षामा रहेको पल हो भनेका छन् । उनले यो घटनालाई पश्चिमी देशको औपनिवेशिकताबाट मुक्तिको रुपमा व्याख्या गरेका छन् ।

बिहीबार साँझ जारी गरिएको यो भ्वाइस म्यासेजमा भनिएको छ, “नाइजरमा के भयो त्यो त्यहाँका जनताको औपनिवेशिक व्यवस्थाको विरुद्धको संघर्ष थियो। यी औपनिवेशिक मानिसहरूले आफ्नो जीवन शैली उनीहरूमाथि थोपाउन खोजिरहेका थिए र उनीहरू अफ्रिकालाई कब्जामा राख्न चाहन्छन्। यो सयौं वर्ष पहिलेको अवस्थामा थियो।”

रेकर्ड गरिएको आवाज सन्देशमा बोल्ने व्यक्तिले वाग्नर समूहका मालिकको जस्तै रूसी उच्चारणमा बोलेका थिए, तर समाचार एजेन्सी रोयटर्सले यो आवाज उनकै हो भनेर स्वतन्त्र रूपमा पुष्टि गर्न नसक्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *