जिन्दाबादको नारा अनि ठूलो विस्फोट, पाकिस्तानमा ४२ जना मारिएको विस्फोटको डरलाग्दो भिडियो

डिसी नेपाल
१५ साउन २०८० १२:४७

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा भएको विस्फोटको भिडियो सार्वजनिक भएको छ । बम विष्फोटको भिडियो हृदयविदारक छ ।

जमियत उलेमा इस्लाम फजलको सम्मेलनमा मानिसहरु जम्मा भएका थिए । मञ्चबाट पार्टी नेताको भाषण चलिरहेको थियो । साथसाथै भीडले आफ्नो नेता जिन्दाबादको नारा लगाएका थिए । यसैबीच मञ्चबाट गुञ्जियो – ‘हजरत मौलाना अब्दुल रसिद साहब… जिन्दाबाद, जिन्दाबाद। ‘

भीडले आफ्नो नेता जिजिन्दाबादको नारा लगाएको बेला यो विस्फोट भएको थियो । एकैछिनमा वातावरण बदलियो । विस्फोटपछि सम्पूर्ण सभाघरमा धुवाँको बादल मडारिएको थियो। कुहिरोको बीचमा कसैले केही बुझेन र यो कुहिरो हटेपछि मानिसहरूले घटनास्थलमा विकृत शव फेला पारे।

यो घटनापछि घटनास्थलमा हलचल मच्चिएको थियो । मानिसहरु आफ्नो ज्यान जोगाउन यता उता दौडन थाले । घाइतेहरुलाई हतारमा अस्पताल पुर्याइयो । यस विस्फोटमा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

विष्फोटमा प्रमुख नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ । घाइतेहरुलाई पेशावर र तिमर्गेराका अस्पतालमा लगिएको अधिकारीले बताए । जियो न्यूजले प्रहरीलाई उद्धृत गर्दै करिब २०० जना घाइते भएका र नजिकैको अस्पतालमा भर्ना गरिएको बताएको छ । सुरक्षाकर्मीले क्षेत्रलाई घेराबन्दी गरेका छन् । घटनास्थलमा ५ एम्बुलेन्स पुगेको उद्धार ११२२ का प्रवक्ता बिलाल फैजीले बताए ।

जेयुआइ–एफका अध्यक्ष मौलाना फजलुर रहमानले पार्टीको मिडिया सेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री शाहबाज सरिफ र स्थानीय सरकारसँग आक्रमणको छानबिन गर्न माग गरेका छन्। रहमानले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै जेयुआइ-एफ कार्यकर्ताहरूलाई तुरुन्तै अस्पताल पुगेर रक्तदान गर्न अपील गरे।

जेयूआई-एफका नेता हाफिज हमदुल्लाहले आज सम्मेलनमा भाग लिनु पर्ने थियो तर केही व्यक्तिगत प्रतिबद्धताका कारण आउन नसकेको बताए। जियो न्यूजसँग कुरा गर्दै जेयुआइ-एफ नेताले भने कि म विस्फोटको घोर निन्दा गर्दछु र यसका पछाडि रहेका मानिसहरूलाई यो जिहाद होइन आतंकवाद हो भन्ने सन्देश दिन चाहन्छु। उनले आजको घटना मानवतामाथिको प्रहार भएको बताए ।

हमदुल्लाहले विष्फोटको छानबिन गर्न माग गरेका छन् । यसअघि पनि जेयुआइ-एफ लाई निशाना बनाइएको बताएउँदै उनले भने ‘हाम्रा कार्यकर्तालाई निशाना बनाइन्छ । हामीले यसबारे संसदमा आवाज उठायौं तर कुनै कारबाही भएन ।’

उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेलाई उत्तम उपचार सुविधा उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरेका छन् । जमियत-ए-इस्लामीका नेताले आतङ्कवादको पुनरागमन भनेका छन् । जमात-ए-इस्लामीका सिनेटर मुश्ताक अहमदले पनि विस्फोटको निन्दा गरे र मृत्युमा शोक व्यक्त गरे।

उनले ट्विट गर्दै भनेका छन्, ‘केन्द्र र प्रदेश सरकार, गुप्तचर निकाय जनताको सुरक्षा गर्न पूर्ण रूपमा असफल भएको छ । आतंकवादको पुनरागमनले सरकारको सुरक्षा नीति असफल भएको प्रमाणित गर्छ । खैबर पख्तुनख्वाका आदिवासी जिल्लाहरू यो आगोको बिचमा छन्।’ उनले बढ्दो आतंकवादको विषयमा संसदको अधिवेशन बोलाउनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *