कृषि मन्त्री भुसालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

डिसी नेपाल
१७ साउन २०८० २२:२९

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो र हितका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री भुसालले हालै भएको आफ्नो भारत भ्रमणका क्रममा भारत सरकारबाट भएको स्वागतप्रति धन्यवाद व्यक्त गर्दै भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन तहमा लैजानुपर्नेमा जोड दिए । उनले भारत भ्रमणका क्रममा कृषिवस्तुको निकासीमा सहजीकरण, रासायनिक मल ढुवानीको क्रममा विशाखपटनममा गरिदिनुपर्ने सहजीकरण, लम्पी स्किन नियन्त्रणमा गरेका प्रतिबद्धता कार्यान्वयनबारे स्मरण गराउनुभएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा भारतीय राजदूत श्रीवास्तवले भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि नेपालको तर्फबाट तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको प्राथमिकता पठाउन अग्रह गरे । राजदूत श्रीवास्तवले रासायनिक मल ढुवानी र नेपालमै कारखाना स्थापना गर्न भारतले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल र भारतको भैगोलिक अवस्था समान रहेकाले दुवै देशको बालीनाली एउटै हुने हुँदा मिलेरै सहकार्य गर्नुपर्नेमा उनको भनाइ थियो । राजदूत श्रीवास्तवले नेपाललाई गाई, च्याङ्ग्राको उच्च नश्लका लागि सहयोग गर्ने र कफीको उन्नत जातको बिरुवामा सघाउने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *