राजस्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्नुहोस् : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिएका छन् ।
बिहीबार विरगंजमा रहेका भन्सार , सुख्खा बन्दरगाह र आन्तरिक राजस्व कार्यालयहरुको निरिक्षण भ्रमण गर्दै अर्थमन्त्री महतले राजस्वको लक्ष्य हासिल गर्न विरगंज भन्सारको महत्वपूर्ण योगदान रहेको भन्दै राजस्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिएका हुन् ।
उनले नाकाबाट हुने चोरी पैठारीमा ध्यान दिन पनि निर्देशन दिए । उनले करदाताहरुलाई झण्झट नहुने गरि नियमाअनुसार काम गर्नुपर्ने र भन्सार भोग्नुपर्ने समस्या न्यूनीकरणमा ध्यान दिनुपर्ने उल्लेख गरे । मन्त्री महतले भन्सारमा हुने अनियमितता रोक्न महत्वपूर्ण जिम्मेवारीमा रहेका सबै गम्भीर भएर लाग्नुपर्ने बताए ।
उनले समग्र कर्मचारी र सुरक्षाकर्मीको तलबभत्ताको स्रोत जुटाउने जिम्मेवारी अर्थमन्त्रालयको भएको र त्यसमा ८० प्रतिशतभन्दा बढी भन्सार र राजस्वबाट उठाउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।
Facebook Comment