पाठक्यौली

मुन्नी सापकोटाको ‘सागरपारिको सपना’ भित्रका सपनाहरू

खेमराज पोखरेल
२० साउन २०८० ७:१२

म ठानिरहेको हुन्छु कि जीवन चल्ने आकस्मिकताले हो। न प्रारब्ध, न योजना, न सोच, न बुद्धि, न केही। प्रख्यात नाटककार बालकृष्ण समले भनेझैँ त्यो आकस्मिकता पनि नियमित आइरहे त हुन्थ्यो। तर होइन रहेछ।

त्यो आकस्मिकता अनियमित तरिकाले पो आउँदो रहेछ। त्यस्तै अचानक याने नसोचिएको आकस्मिकता आइलाग्यो-असम गुवाहाटी। भारतको गुजरात हिँडेको मान्छे असम पुगेँ। गुवाहाटीमा नेपाली साहित्यकारहरूले गर्नुभएको खातिरदारी पनि तिरिनसक्नुको रह्यो।

अनि पाएँ कोसेली पुस्तकका बिटा। एउटा थियो कथाकार मुन्नी सापकोटाको कथासङ्ग्रह ‘सागरपारिको सपना’। र, यो बेला अमेरिकाको प्रवासमा यो कृति आफैँसँग अन्तर्य बात मार्ने साथी भएको छ मेरो।

म कम्तीमा लेखनीमा त इमान राखूँ भन्छु। चेपारो नपारूँ भन्छु। फेरि पनि मानवीय त्रुटी हुन्न भन्न त सकिन्न। खसोखास भन्नुपर्दा मैले कथाकार मुन्नी सापकोटाको नाम सुनेको पनि थिएन। कृति पढ्ने कुरा त परैको हो।

यति बेला आफ्नै कुवाको भ्यागुतो ज्ञानको सुस्तताबारे आफैँ रिसाउँछु। र, मुन्नी सापकोटाको जीवनचक्र केलाउन थाल्छु। सन १९५० मा भारतको असम राज्यको गुवाहाटीमा जन्मेकी कथाकार सापकोटा बालकथा, बालकविता, कथा, अनुवाद, सम्पादन आदि कार्यमा हरर र सरर चलेको नाम हो रहेछ।

पेसाले शिक्षक, सोचले समाज सेवा, स्वभावले गृहिणी, कर्मले साहित्यकार सापकोटाको गुवाहाटीमा मात्र नभएर पुरै नेपाली साहित्यमा उम्दा नाम रहेछ। गुवाहाटीकै अति मान्यवर समाजसेवी स्व. इन्द्रसिंह ठकुरी र स्व. पदममाया ठकुरीकी प्रिय छोरी र प्रसिद्ध साहित्यकार नव सापकोटाकी श्रमती हुनु सायद मुन्नीको संयोगीय भाग्य होला।

असम सरकारबाट कीर्ति शिक्षक पुरस्कार, भारत सरकारको राष्ट्रिय कीर्ति पुरस्कार तथा साहित्य एकादमी बाल साहित्य पुरस्कार जस्ता अति विशिष्ट पुरस्कारबाट सुशोभित मुन्नी नेपाली साहित्यको इतिहासमा चम्किलो तारा रहेको कुरा यति बेला थाहा पाउँदा मेरो सूचनात्मक ज्ञान लिलिपुटियन साम्राज्यमा खँदारिएको महसुस गरेको छु।

कृति ‘सागरपारिको सपना’ को आवरण शीर्षकअनुसार नीलो सागरका माथि सिगल चरा उडिरहेको र सागरका छालले जीवनबोध गराइरहेको बिम्बमा प्रस्तुत छ। अनुराग प्रकाशन गुवाहाटीले सन २०२० मा भारु २०० मोल राखेर प्रकाशन गरेको यो कथाकृतिलाई कथाकारद्वारा आफ्ना पति नव सापकोटाप्रति कवितात्मक शैलीमा ससम्मान समर्पित गरिएको छ।

अति विशिष्ट तथा वरिष्ट आख्यानकार सर्व प्रिय ‘बसाइँ’ उपन्यासका शिल्पी लीलबहादुर क्षत्रीको आशीर्वचनले पल्लवित भएको छ। कथाकारको लेखकीय पनि समावेस भएकाले सङ्ग्रहको विधिविधान पूर्णाङ्ग भएको छ। १९ ओटा कथाको सँगालो याने विषयसूची छ। कृतिको पश्चभागमा कृतिकारको संक्षिप्त परिचय सुन्दराक्षरमा टंकण भएको छ।

त्यसो त पाठक्यौली राख्ने काम पनि गाह्रो हो। लेखनीमा लेखक सार्वभौम हुन्छ। ऊ भाषा, विषय, सन्देश शैली तथा कर्ममा स्वतन्त्र हुन्छ। लेखकले कल्पनाका उडानहरू भरिरहेको हुन्छ। विचारका आरोह अबरोहमा लेखक डुबुल्की मार्छ।

लेखकको अन्तर्यभित्र पाठक पस्नु असम्भव तथा दुर्बेध्य जस्तै हो। तथापि लेखनीभित्र आफ्नो धारणा स्वतन्त्र किसिमले राख्नु पाठकीय धर्म पनि हो। पाठकीय स्वतन्त्रता पनि हो।

पाठक्यौली लेखिरहँदा लेखकको चेतीय परिवेश थाहा पाउन पाए कृति तथा कृतिकारप्रति ज्यादात्तर न्याय हुने सम्भावना हुन्छ। तर म कथाकार मुन्नी सापकोटाको सामाजिक, आर्थिक, मनोवैज्ञानिक तथा समग्र चेतीय अवस्थाबाट बिलकुल अनभिज्ञ छु।

यसो भएकाले मसँग एउटा सीमा छ कि मैले पाठक्यौली लेखिरहँदा कृतिको रहमा अँध्यारोमा ढुंगा हान्नु बराबर हो। न त यसले लेखकको गुह्य थाहा पाउँछ, न त कथाहरूमा वर्णित कार्यपीठिकाको परिवेशको पनि हेक्का रहन्छ।

केवल आफ्नै चेतीय सेरोफेरोमा पाठक्यौली निस्कने भावगत तथा स्वरूपगत सीमा मात्र हुन्छ। सवैले यसलाई यसै रूपमा आकलन गर्नु नै पर्ने हुन्छ।

मैले आफूले जाने जति कुरा भन्ने हो भने कृतिभित्र समावेस भएका कथाहरूले अनेकन विषय तथा समस्याहरू उठाएका छन् । सामाजिक जीवनका चास्नीहरू सँगेलेर चाङ लगाएका छन्। याने समाजलाई विविध सूत्र, मान्यता तथा परिवेशीय अखाडामा राखेर कर्मयोगी सोच प्रस्तुत गरिएको छ।

कथाहरूमा विविध रसका चास्नी प्रयोग भएको छ। भन्न खोजेको कुरा सोझै नभनेर थेगोको प्रयोग गर्ने तथा त्यस्तो बानी भएको पात्रको माध्यमबाट काम बितेको प्रसंग झिकेर हास्य रसयुक्त कथा निर्माण गरिएको छ।

समाज याने संसार विचित्रको छ। सामान्य मान्छे याने कम पढेलेखेका मान्छेमा पनि साहित्य सिर्जना गर्ने शक्ति तथा चेत प्रवल हुन्छ भन्ने सन्देश प्रवाह गरेर मनोविश्लेषण गरिएको कथानक छ। खासमा मुन्नीका कथाहरू सामाजिकवृत्तमा घुमेका हुनाले कथाको केन्द्रमा समाज छ।

अन्तर्यमा सामाजिक अन्तरविरोध छन्। प्रयोजनमा सर्वजन हिताय छन्। बाबुआमाको आफ्ना सन्तानप्रतिको मायाको जाज्वल्य उदाहरण पेस गरिएको छ। विदेश पलायन हुने वर्तमान प्रवृत्तिले नेपाली तथा भारतीय समाजमा उब्जाएको विकट समस्याको उजागर गरेको छ।

देशको लागि सहिद भएको आफ्नो नातिको सम्मान थाप्दा हजुरआमामा आएको गौरवबोध तथा पे्रमिल मनोदशाका बिचमा द्वन्द्व निर्माण गरेर हजुरआमाले प्राण त्याग गरेको विदारक चित्र प्रस्तुत गरिएको छ।

हजुरआमालाई राजकीय सम्मानले अन्तेष्टी गरिएको परिवेश सिर्जना गरिएको हुनाले राष्ट्र तथा राष्ट्रियताको महत्त्व अभिव्यक्त भएको छ। यसैगरी कथाले समाजमा सम्पत्ति कि शक्ति भन्ने दार्शनिक प्रश्न पनि उठाएको छ। यो प्रश्नमा समाज कालान्तरसम्म अल्झिरहने छ।

कफ्र्युृले उब्जाएको कहर र, सेनाको गोली लागि मृत्यु भएको पात्रको मार्मिक चित्र उतारिएको छ। माइती र चेलीको सम्बन्धको महत्त्व दर्शाएको छ। जीवनसँग हारेर पात्रले मृत्युवरण गरेको कथा छ। सामाजिक विभेदप्रति विद्रोह गरिएको छ।

पूर्वोत्तर भारतको शैक्षिक जनजीवन, सामाजिक जनजीवनका बारेमा चर्चा गरिएको छ। नारीको संघर्ष र नियतिको कथा छ। कथामा छोराछोरीलाई पढाएर सबै धनसम्पत्ति स्वाहा पार्ने र पछि छोराले नपाल्नाले बृद्धबृद्धाको जीवन बर्बाद भएको कथानक छ।

सम्पत्तिको महत्त्व बुझाएको कथा तथा गरिबको दसैँको चित्र छ। यो चित्रले समाजको आर्थिक सामाजिक अवस्थाका बारेमा सूक्ष्म ज्ञात गराएको छ।

समाज भोगिरहँदा विजातीय विवाह गर्दा परेको समस्या एकातिर छ भने अर्कातिर टिनेजर्स प्रेम याने कुरकुरे बैँसमा गरेको बिहेको नकारात्मक परिणाम देखाइएको छ। प्रेममा हुने त्याग तथा अन्योलताका बारेमा मिहिन वर्णन छ।

धामीझाँक्री प्रतिको अन्ध विश्वासको कैरन छ। एउटी यौनकर्मी महिलाले आफ्नी छोरीलाई अँध्यारो गल्लीबाट निकालेर सुयोग्य नागरिक बनाउन गरेको यत्न छ। आमाको ममत्वको उदाहरणले समाज पल्लवित भएको छ।

कथाकार मुन्नी सापकोटा सामाजिक कथा लेख्न सिद्धहस्त देखिन्छिन्। उनका कथामा समाजलाई मिहीन तरिकाले उधिन्ने कर्म गरिएको पाइन्छ। त्यसो भएकाले मुन्नीका कथामा नेपाली तथा पूर्वोत्तर भारतीय नेपाली समाजका सङ्गति/असङ्गतिमूलक विशिष्ट विशेषता पाइन्छन्।

वास्तवमा समाजका आधारभूत तत्त्वहरू समयअनुसार परिवर्तन भइरहेका हुन्छन्। तर समाजलाई विश्लेषण गर्ने ज्ञानीय तथा चेतीय सूत्रहरू पुरानै हुन्छन्। समाजमा परम्परावादी, यथास्थितिवादी, प्रगतिकामी तथा क्रान्तिकारी धारहरूले आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका हुन्छन्।

यस्तो अवस्थामा समाजमा पुस्तौनी रिक्तता देखिन थाल्छ र समाजमा यसले निकै ठूला समस्याहरू जन्माउँछ। सामाजिक विचार तथा आवश्यकता अगाडि बढिसकेको हुन्छ, तर परिवेश ज्यूँका त्यूँ हुने हुनाले समाजमा देखिने समस्याको पहिचान गर्नु मुन्नीका कथाहरूको अभिध्येय रहेको देखिन्छ।

दार्शनिक पाटोबाट हेर्ने हो भने मुन्नीका कथाहरू आदर्शवादी देखिन्छन्। त्यसमा पनि चुनौतीविहीन यथास्थितिवादी आदर्श देखिन्छ। समाजमा विद्यमान प्रचलनहरूलाई खल्बल्याउने अभिप्राय छैन कथाकारको।

त्यही विद्यमान प्रचलनलाई सुधारात्मक तरिकाले पस्किएको परिवेश समाजलाई बिनासमस्या आदर्शमूलक बनाउने सन्देश कथामा पाइन्छन्। यसरी हेर्दा जीवनबोधी विशेषता पाइन्छ। जीवनलाई सरलतातर्फ उन्मुख गरी बाँच्ने तथा बचाउने सूत्र उनका कथाको मूल अभिध्येय हो।

सङ्कलित कथाहरूमा मान्छेका समाजप्रति हुने कर्तव्यबोधी दृष्टिकोण प्रक्षेपण मात्र गरिएको छैन, कर्तव्यको इमानमा जिन्दगीको बहाना खियाउने सोच कथाकारको रहेको अभिभूत हुन्छ। सामाजिक सचेतनता पाइन्छ।

त्यसमाथि भारतको नेपाली भाषी खास गरेर पूर्वौत्तर भारतको जनजीवन याने स्थानीयता पाउनु वैशिष्ट्य पक्ष हो। खास गरेर कथाहरूमा प्रयुक्त भाषामा स्थानीयता तथा अग्र्यानिकता पस्केर शब्दमा स्वाद, सम्वादमा तिक्खरता पाइन्छ।

पात्रले बोल्ने भाषामा आवश्यकताअनुसार हिन्दी तथा असमिज भाषा पनि प्रयोग भएकाले कथालाई विश्वसनीय तथा सुन्दर बनाएको कुरालाई कसैले नकार्न सक्दैन।

कथा भन्नु आख्यान हो। आख्यान भन्नु कल्पनाशीलतासहितको सिर्जना हो। यो बुँदाबाट हेर्दा कथाकार मुन्नी सापकोटाले आफ्ना कथाहरूलाई सुन्दर आख्यानीकरण गर्ने यत्न गरेको देखिन्छ। कथालेखनको यो ज्यादै महत्त्वपूर्ण कार्य हो।

कथामा प्रयुक्त सुन्दर पात्र व्यवस्थापन विधानले कथालाई अभिरुचिमय बनाएको देखिन्छ। शैलीगत हिसाबमा कथाले मागेका ठाउँमा गीत हाल्ने शैली रोचक र आकर्षक लाग्छ। त्यसमाथि अझ भन्ने हो भने ग्रेटर असमिया सभ्यता, भाषा, महकता, आदिले समाजको संस्कृति, इतिहास तथा परम्परालाई मजाले उजागर गरेको छ। भाषा तथा शब्द प्रयोगका हिसाबले त मोहनी लाउने खालको भएको छ कृति।

मुन्नीका कथाको मूल चुरो भनेको सन्देशात्मकता तथा सकारात्मकता हो। जीवनका अबडेखाबडे बाटाहरूलाई सहज, सरल तथा सन्देशमूलक तरिकाले अभिव्यक्त गर्नु प्रमुख विशेषता रहेको देखिन्छ।

सकारात्मक तरिकाले जीवनका अस्मेल पहाड छिचोल्न खोज्ने कथाकारको यो अभिदृष्टि निकै सह्रानीय छ। त्यो सकारात्मक सोचलाई अभिव्यक्त गर्न कथाकारले सुन्दर बिम्बको प्रयोग गरेको देखिन्छ।

समाजमा प्रचलित उखान ‘छ गेडी सबै मेरी, छैन गेडी सबै टेढी, वनको बाघले खाओस् नखाओस् मनको बाघले … ’ जस्ता कुराको प्रयोगले कथामा लालित्य मात्र थपिएको छैन, बरु कथालाई समाज र सामाजिक जीवनसँग लगेर जोडेको छ।

कथाकार मुन्नीको शिक्षक व्यक्तित्व कथामा प्रयोग भएको देखिन्छ। त्यसकारण उनका कथामा शैक्षिक मनोविज्ञान उजागर भएको छ (यस्तो दसैँ नआए पनि हुन्छ)। उनी समाजले छोराछोरीमा विभेद गरेको अन्तरवस्तु बताउँछिन्।

अजातीय बुहारीको अवस्थालाई मनोवैज्ञानिक तथा परिवेशीय नाङ्लामा हालेर देखाउँछिन्। खेलाउँछिन्। निफन्छिन्। छोरीबुहारीलाई तेजाब हाल्ने अपराधमाथि प्रहार गर्छिन्। उनका कथामा प्रेम छन्।

सौहार्दता छन्। समानताको अभिध्येय छ। प्रेममा पागल भएका क्षणहरू छन्। असफल भए पनि प्रेममा पागल भएका छन् पात्रहरू। समाजमा महिलालाई हेर्दे कामुक सोचप्रति असहमति राखिएको पाइन्छ।

यसरी मुन्नी सापकोटाका कथाहरू आफैँमा विशेषतायुक्त तथा बगालमा बेगल छन्।

सत्य कुरा के हो भने कथाकार तथा कथाहरू दुवै जिन्दगीका जेनिथ होइनन्। न त पाठक नै जेनिथ हुन्। कथाकार बाँचेको परिवेश, सोच, मान्यतामा निजत्व हुन्छ। संसारका सवै मान्छे एउटै दृष्टि तथा सोचका साथ बाँच्न पाउने अवस्था यो पृथ्वीले बनाएको छैन।

समाजले त्यो समानता दिएको छैन। त्यसैले व्यक्तिका सोच पनि परिवेशीय हुन्छ। त्यसै गरी लेखकले सिर्जना गरेका कृति पनि परिवेशीय तथा चेतीय धागोले अँठ्याएको हुन्छ। अझ यसलाई यसरी भनूँ कि यो संसारका सवै तत्त्वहरू अचुनौतीमय छैनन्।

भगवानका पनि विकल्प भएको यो संसारमा पूर्णता खोज्नु नै अकल्पनीय हो। तथापि मान्छे हुनुको चेतीय धरातलले त्यही अपूर्णताभित्र पूर्णताको आकांक्षा राख्नु नाजायज पनि होइन। यही दृष्टिआधारमा मुन्नीका कथाहरूलाई हेर्दा केही विचारगत, भावगत, स्वरूपगत तथा चेतनागत सुधारको अपेक्षा गर्नपर्ने हुन्छ।

आफ्ना आशीर्वचनमा प्रख्यात आख्यानकार लीलबहादुर क्षत्रीबाट मुन्नीका कथामा ‘कथाको अन्त्य मृत्युगामी नभई चलित व्यवस्थाको विरोधमा क्रान्तिकारीमुखी भएर परिस्थितिसित जुझ्न अग्रसर देखिए हुने’ भन्ने वैचारिक दृष्टिकोण प्रस्तुत भएको छ।

मलाई पनि लाग्छ कि एक पल्टको यो जुनीमा मान्छेले किन मृत्युवरण गर्ने? किन जीवनसँग पलायन हुने ? आखिर जीवन भन्नु सङ्घर्ष त हो।

नेपाली भाषालाई हिज्जे प्रणालीले दुरुह बनाएको छ। हिज्जेमा एकरूपता नहुनाले शुद्ध लेखनीमा समस्या छ। यो कृतिमा पनि यो समस्या निमिट्यान्न भएको छैन। समय र सम्पादन यो कृतिले अझै खोजेको प्रतीत हुन्छ।

कृतिलाई आकारीकरणको हिसाबबाट हेर्दा कथामा छोटाकथा पनि प्रारूपीकरण भएको छ। कथा भन्नु र छोटाकथा भन्नु आकारका हिसाबमा निकै फरक हो। ‘एक मिनट’, ‘पर्खिने समय छैन’ आकारीकरणका हिसाबले कथा होइनन् छोटाकथा हुन्।

आकारीकरणका आधारमा मात्र होइन, रूपविधानका हिसाबबाट हेर्दा कथानक प्रस्तुतिमा प्रसंग परिवर्तन भएपछि पनि अनुच्छेद परिवर्तन तथा आवश्यक ठाउँमा उद्धरण चिन्हको अभाव भएको अनुभूत हुन्छ। यद्यपि यी कुरा भनेका प्राविधिक हुन्।

वैचारिक हिसाबले हेर्दा प्रयुक्त कथाहरूमा समाजको चिन्तन पुरानो शैलीको हो कि भने झैँ लाग्छ। याने कि वर्तमानमा समाजमा विद्यमान रहेको परम्परागत तथा यथास्थितिवादी वैचारिक पक्ष हावी भएको छ।

यसलाई अझ यसरी भन्ने हो कि कथाकारले समाजमा भोगिइरहेका यथार्थलाई टपक्क टिपेको देखिन्छ। याने कथामा भोगाइ छ। देखाइ छैन। किनभने समाजका मान्यता तथा परिवेशहरूमा ठूलै परिवर्तन आइसकेको छ।

पुरानो विचारले समाज चलाउन खोज्दा समस्या देखिएको कुरालाई अझ उजिल्याउनु पर्ने जस्तो लाग्छ। वैचारिक रूपमा पश्चगामी विचार (कामी दमाइँ त होइनन्, प्रधान नै त थिइन् श्रद्धा बैनी, पानी चलिहाल्थ्यो (पृ ३६) जस्ता विचार पस्किनुले यथार्थ भए पनि अग्रगम्यता नभएको प्रतीत हुन्छ।

वास्तवमा कथालेखन भनेको शतप्रतिशत आख्यान हो। आख्यानमा कथाकारले आफ्नो वैचारिक कुरालाई घटना तथा पात्रका माध्यमबाट अभिव्यक्त गर्नुपर्ने हुन्छ। तर कृतिभित्र समेटिएका कतिपय कथाहरूमा पात्र गौण र कथाकार प्रधान भएर बोलेको देखिन्छ।

खासमा भन्ने हो भने कथामा पात्र तथा घटनालाई गौणमा राखेर कथाकार आफैँ बोल्नु कथालेखनको बाधा हो। यो आधारबाट हेर्दा विवरणात्मक पनि भएका छन् कथा।

कथाभित्र पात्रविधानमा पनि कथाकारले अलि हतार गरेको प्रतीत हुन्छ। कथामा एउटै पात्र कतै मदन र माधव (पृ ३१), रञ्जन र रमण (पृ. ७५) उल्लेख हुनु सम्पादनमा अझै विचार पुर्याउनु पर्ने कुराको द्योतक हो।

मूल रूपमा केही कथाका सन्देश (भिखारिनी) दिदी तपाईँले हाम्रा चेलीबेटीलाई बिजातमा अन्धा भई नजाऊन् बरु आफ्नै जातको नराम्रै, गरिबसित बिहे गरून्, आफ्नो मान इज्जत बाँच्ने छ भनी मेरो दुःखको कथा सुनाएर उपदेश दिनु होला पृ. ७१) समयसापेक्ष छैन।

यही हारमा भन्ने हो भने यथास्थितिवादी (छोराको त आस भएन भने छोरीको के आस गर्ने? पृ ८५) भएका छन्। यी तथ्यलाई अलि विद्रोहात्मक, प्रगतिकामी तथा अग्रगम्यता पस्कन पाएको भए हुने भन्ने कुरा पाठकलाई लागि हाल्छ।

अब पुछारमा आइपुगेको छु। यो संसार विचित्रको छ भनेर मानिँदै आएको छ। एउटै नेपाली भाषी समाजले विश्वका अनेकन कुनामा भोग्ने तथा भोगिरहेको समाजको चित्र तथा चरित्र अलगअलग छ।

भारतको पूर्वोत्तरका नेपाली समाजले भोगेको जिन्दगी र काठमाडौँका नेपालीले भोगिरहेको जिन्दगी आधारभूत रूपमा एकै भए पनि तात्त्विक रूपमा फरक हो । पूर्वोत्तर भारतमा भाषा, भेष, साहित्य, समाज, सभ्यताका लागि पनि संघर्ष गर्नुपर्ने हुन्छ।

पहिचानका लागि लागी पर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि असम गुवाहाटीलाई मुकाम बनाएकी मुन्नीले आख्यानकार लीलबहादुर क्षत्रीले भनेअनुसार पनि ‘मुन्नीका सिर्जनाले पर्यावरण चेतना, हिन्दु राष्ट्रियताको भाव जगाउँछ। सामाजिक रुढिबुढीप्रति सचेत गराउँछ ।

वृहत्तर असमभित्र नेपाली साहित्य संस्कृति तथा शिक्षाको क्षेत्रमा सक्रिय अवदान दिने नेपाली नारी हस्ताक्षर मध्ये कवियित्री मुन्नी सापकोटाको स्थान माथिल्लो हारमै परिलक्ष्यित हुन्छ’ ले कथाकृतिलाई सार्वभौम न्याय दिएको छ। त्यसैले कथाकार मुन्नी सापकोटाको यो यत्न कृत्य मात्र होइन, स्तुत्य पनि छ।

वास्तवमा लीलबहादुर क्षत्रीले अभिव्यक्त गरेझैँ छ जीवन । जीवन हामीले कल्पेको चिताएको, खोजेको जस्तो छैन। जीवन त हामीले भोगेको, अनुभव गरेको बाध्यतामूलक हिसाबले हामीसित गाँसिएको चाहिँ हो। यसै भोगाइअनुसार नै जीवनको परिभाषा बन्ने हो।

यही आधारमा हेर्ने हो भने मुन्नीका कथाहरूले समाजका यथार्थताहरू पस्किएका छन्। सांकेतिक रूपमै भए पनि समाजको प्रगतिकामी छन् विचारहरू। समाजलाई आनन्दमय बनाउने प्रवल उत्कण्ठा देखिन्छ। सकारात्मकता कथाको चुरो भएर आएको छ।

यसलाई वृहत् नेपाली साहित्यको आरनमा राखेर हेर्यो भने पनि कृति उम्दा ठहरिने कुरामा दुई मत छैन। द्वन्द्व निर्माणका हिसाबले होस् वा कथावस्तु चयनका हिसाबले होस्, पात्रविधानका हिसाबले होस् वा रूपविधानका हिसाबले होस्, शैलीगत हिसाबले होस् वा प्रयोजनगत हिसाबले होस् कथाहरू उम्दा, उत्कृष्ट तथा उत्प्रेरक भएका छन्।

कथाकार मुन्नी सापकोटालाई यो कथाकृतिका लागि अपार बधाई। यद्यपि कृतिको थप स्तरीय जेनिथका लागि भने अनवरत साधनाको अपेक्षा सदासर्वदा हुने कुरा नै हो भन्ने शाश्वत मान्यता हो। फेरि कुनै लर्कासर्कामा भेटौँला।

सान मार्कोस, अमेरिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *