लम्पी स्किन महामारीको असर
केही समय अघिदेखि नेपाल र भारतसहित दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका केही मुलुकहरूका साथै चीन र ताइवानमा समेत लम्पी स्किन नामक भाइरल रोग महामारीको रूपमा फैलिएर गाईवस्तुहरू निकै प्रभावित भएका छन्।
यसलाई नेपालमा निकै सहज रूपमा लिइएको भएता पनि यदि यस रोगलाई नियन्त्रण गर्न नसकेमा यसले नेपालको कृषि क्षेत्र र समग्र आर्थिक परिदृश्यलाई नै अन्धकारमय बनाइदिन सक्नेछ।
निथलिङ भनेर चिनिने भाइरसको संक्रमणबाट फैलिने लम्पी स्किन रोग खासगरी गाई-भैँसीमा लाग्ने गर्दछ। सो भाइरस झिँगा, लामखुट्टे, भुसुना र किर्नाहरूको माध्यमबाट यी पशुहरूको शरीरमा प्रवेश गर्दछन् र लिम्फ ग्रन्थीमा आक्रमण गर्दछन्। यस्ता किराहरूले संक्रमित पशुबाट अन्य स्वस्थ पशुमा पनि यो रोगको भाइरस सार्न मद्दत गर्दछन्।
थाहा भए अनुसार यो रोग विश्वमा नै पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा महामारीको रूपमा देखापरेको थियो। त्यसपछि सन् १९८० को दशकसम्ममा अफ्रिकाकै दक्षिण अफ्रिका, रोडेसिया (जिम्बाव्वे), बोट्स्वाना हुँदै केन्या, सुडान, तान्जानिया, क्यामेरुन, सोमालिया, इजिप्ट आदि अफ्रिकी मुलुकहरूमा यो रोग फैलिएर लाखौँ चौपायाहरू विरामी हुने तथा मर्नेसम्म भयो।
यी अफ्रिकी मुलुकहरूमा गाईभैँसी वाहेक जिराफमा पनि यो रोग देखिएको थियो। खासगरी होलेस्टाइन र जर्सी जातका गाईगोरुमा यो रोग सहज रूपमा सर्ने देखिएको छ। इजिप्टका केही गाउँमा त मानिसमा पनि लम्पी स्किन रोगका लक्षणहरू देखा परेका छन्।
अफ्रिका महादेश बाहिर पहिलो पटक यो रोग इजरायलमा सन् १९८९ मा महामारीकै रूपमा देखियो। त्यतिबेला त्यहाँ भएका सम्पूर्ण चौपायाहरूलाई मारिएको थियो। यसो गर्नुमा यो रोग मानिसमा पनि सर्न सक्छ भन्ने कुराको शंका कारक तत्व बनेको थियो।
इजिप्टमा जस्तै हाल आएर लम्पी स्किन रोग व्यापक भएका केही मुलुकहरूमा यो रोग केही मानिसमा पनि देखिन थालेको छ। हाल यो रोग पूर्वी युरोप, रुस, मध्य एशियाको कजाखस्तान आदि र मध्यपूर्व तथा एशियाको पनि समस्याको रूपमा देखा पर्दै गएको छ।
दक्षिणपूर्वी एशियामा खासगरी भियतनाम र इन्डोनेशियामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग यदि अष्ट्रेलिया र न्युजिल्याण्डसम्म पुग्यो भने विश्वभर प्रचुर मात्रामा दुध, मासु र छाला निर्यात गर्ने यी मुलुकहरूको अर्थतन्त्र निकै नराम्ररी डगमगाउन सक्ने आशंका गरिएको छ।
त्यसैले यी मुलुकहरूले आफ्नो मुलुकका सबै आगमन नाकाहरूमा विशेष निगरानी राख्नुका साथै मुलुक भित्रका सम्पुर्ण चौपायाहरूलाई खोप लगाउने काम तिव्रताका साथ शुरु गरेका छन्।
विगत केही वर्षदेखि दक्षिण एशियाका भारत, पाकिस्तान र बंगलादेश तथा चीन र ताइवानमा समेत लम्पी स्किन रोगका कारण लाखौँ चौपायाहरू विरामी हुनुका साथै हजारौँ मरेका पनि छन्।
विश्व स्वास्थ्य संगठनको मद्दतबाट बंगलादेशमा खोप लगाउने कार्यहरू गरिँदै आएको छ भने भारतका कृषि अनुसन्धानशालाहरूले यो बारे विस्तृत अध्ययन थालेर स्वदेशमा नै ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गरेर खोप अभियान शुरु गर्नुका साथै एउटा राज्यका पशुचौपाया अर्को राज्यमा लग्न रोक लगाउने कार्य समेत गरिरहेको छ।
नेपालमा भने यस्ता जटिल रोगहरू बारे न कुनै अनुसन्धान भएकै खवर प्राप्त हुन्छ, न नै हाम्रो सरकारले यो महामारीलाई कुनै महत्वका साथ हेरेको पाइएको छ। यो भन्दा पहिले पनि गाईभैँसीमा लाग्ने खोरेत रोगका कारण धेरै चौपायाहरू प्रभावित भएका थिए।
गत चैत्र महिनातिर देखि नेपालको कोशी प्रदेशबाट शुरु भएको लम्पी स्किन रोगको महामारी हाल ७७ वटै जिल्लामा पैmलिइसकेको छ। यसपाली समयमा वर्षा हुन नसकेकोले गाईवस्तु गोठको ओतमा नै राख्ने गर्नाले गोठहरूको सरसफाई राम्ररी हुन नसकेको कारणले पनि रोगका सम्वाहक किटाणुहरूले वस्तुभाउलाई बढी संक्रमण गराइरहेको कुरा सुन्नमा आएको छ।
त्यसमाथि हाम्रो मुलुकमा वस्तुभाउलाई यथेष्ट पौष्टिक आहार पनि खुवाउन नसकिने अवस्था हुने गरेकोले पशुहरू यस्तो रोगका शिकार सजिलै हुने गरेका छन्।
नेपालमा कूल १ करोड २५ लाखको हाराहारीमा चौपायाहरू रहेकोमा यसपटक नेपालमा करिव ११ लाख गाईभैँसी यो महामारीको शिकार भएर ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १ लाख ८४ हजार पशुहरू सक्रिय संक्रमित अवस्थामा छन् र ७ लाख ६५ हजार जति त पुरै तग्रिसकेका छन्।
गाईभैँसी बाहेक हिमाली क्षेत्रका चौरी पनि यो रोगको सिकार हुन थालेका छन्। अहिले आएर निजी क्षेत्रका केही कम्पनीहरूले विदेशबाट करिव १० लाख डोज खोप मगाएकोले हालसम्म करिव ३ लाखमा खोप लगाउने काम सकिएको छ।
नेपालमा भेटेरिनरी जनशक्ति ज्यादै न्युन संख्यामा रहेकोले हालको महामारीलाई नियन्त्रणमा ल्याउन पनि सुरक्षा निकाय र कृषि क्षेत्रका भूतपूर्व कर्मचारी र स्वयम्सेवकहरूलाई तालीम दिएर भएपनि युद्धस्तरमा यो कार्यमा लगाउनु पर्ने देखिन्छ। तर राज्यस्तरमा यो समस्यालाई खासै गम्भीरतापूर्वक हेरिएको देखिँदैन।
यो रोगको शुरुका लक्षणहरूमा पशुको आँखामा चिप्रा आइरहनु र आँखा तथा नाक रसाइ रहनु र दुध दिन कम हुँदै जानु हो भने त्यसपछि कडा ज्वरो आउनुका साथै शरीरमा ठूला ठूला ठेउला देखिन शुरु हुनु हो।
समयमा नै लक्षण पत्ता लगाउनुका साथै भाइरस सार्ने किटाणुहरू विरुद्ध औषधि छर्ने र सफा वातावरण बनाउने गरेमा यो रोगको संक्रमण कम गर्न निकै मद्दत पुग्छ।
त्यस्तै बिरामी वा भर्खरै खरिद गरेर ल्याएका गाइभैँसीलाई केही समय क्वारेन्टाइनमा राखेर मात्र अन्य पशुको बथानमा छोड्नाले र पशुहरूलाई नियमित रूपमा यस्ता संक्रमणकारी किटाणु विरुद्धको खोप लगाइ दिने गरेमा महामारी नियन्त्रण गर्न निकै सहज हुन जान्छ।
संक्रमण भएको करिव १ हप्तामा १०६ डिग्री फह्रेनहाइटसम्म ज्वरो आउने तथा शरीरको छालाका अधिकांश भागमा २ इन्चसम्मका ठेउला जस्ता गिर्खाहरू देखिने र खुट्टा सुन्निएर पशु चौपायाहरू ढुन्मुनिँदै हिँड्नु पर्ने अवस्थामा पुग्दछन् र कैयन् पशुहरू मर्छन् पनि।
बाँचेकाहरूको पनि छाला दीर्घकालीन रूपमा नै अस्वस्थ रहन्छन् भने तिनको प्रजनन शक्तिसमेत क्षीण हुनुका साथै गर्भ नअड्ने, कम दुध दिने र जीवनभर दुर्बलताका शिकार हुने गर्दछन्।
नेपाल एक कृषि प्रधान देश भएको तथा यहाँ लाखौँको संख्यामा साना किसानहरू रहेकोले उनीहरूको घरमा एकाध गाइभैँसी र गोरु हुनु कुनै नौलो कुरा होइन। तर यिनै वस्तु भाउ उनीहरूको जीवन यापनका प्रमुख साधन हुन्।
साना किसानहरूबाटै बटुलेको दूध जम्मा गरेर आज नेपाल दूध र दूधजन्य वस्तुमा आत्मनिर्भरता तिर लम्किरहेको अवस्थामा यसरी लाखौँ चौपायाहरू रोगको सिकार हुनुका साथै पचासौँ हजार मर्नुले किसानको आम्दानी र दूधको उत्पादनमा नै ठूलो असर पार्ने निश्चित छ।
दूधको उत्पादन घट्ने वित्तिकै एकातिर दूध कै आपूर्तिमा समस्या आउन थाल्छ भने यो सँग सम्बन्धित ठूलासाना सबै डेरी उद्योग र त्यसमा भएको लगानी र जनशक्तिलाई समेत असर पर्न जान्छ।
त्यस्तै चिज, पनिर र छुर्पीमा ख्याति कमाउँदै गएको नेपालको यो क्षेत्र पनि नराम्ररी प्रभावित हुने देखिन्छ भने यी सब उत्पादनको मूल्य पनि आकाशिँदै जाने छ।
त्यस्तै नेपालका गाउँघरमा अझ पनि गोरुको मद्दतले हलो जोत्ने प्रचलन रहेकोमा आउँदा दिनमा गोरुको नै अभाव हुने देखिन्छ। यसो भएमा खासगरी पहाडी क्षेत्रमा अनाजको उत्पादनमा निकै कमी आउने सम्भावना रहन्छ।
यसरी निकट भविश्यमा लामो समयको निम्ति खेतीकिसानीमा पनि नकारात्मक असर पर्ने देखिन्छ। यो सब कुराको हिसाब निकाल्ने हो भने नेपालको कृषि क्षेत्रले आउँदा दिनमा खर्बौंको क्षति व्यहोर्नु पर्ने देखिन्छ भने राज्यले ठूलो परिमाणमा कृषि उपज मुलुक बाहिरबाट आयात गर्नुपर्ने देखिन्छ।
खेती किसानी गर्ने परिवारमा जन्मेर नै आज नेपालको शासन सम्हाल्ने हैसियतमा पुगेका धेरै नेता तथा प्रशासकहरू मुलुकको यस्तो विषम परिस्थितिमा पनि नचाहिँदो राजनीति, राष्ट्रघात, विदेशमा आफ्नै नागरिक बेच्ने र स्वदेशमा सुन तस्करी गर्ने, वन तथा वातावरण विनास गर्ने, जग्गा जमीन हडप्ने, धर्म र संस्कृति मास्ने, चरम भ्रष्टाचार र लुटतन्त्रलाई प्रोत्साहन दिने र अथाह सम्पत्ति कमाउने होडमा लागेको देख्दा निकै दुख लागेर आउँछ।
दैवले पनि ती निरिह पशुहरूलाई लम्पी स्किन जस्ता भयङ्कर रोगले ग्रस्त बनाउनु भन्दा सोझा जनता र देशलाई द्रोह गर्ने नरपिचासहरूलाई छानी छानी किन लम्पी स्किन, खोरेत र म्याड काओ डिजिज जस्ता रोगहरू उपहारमा दिएर यो संसारबाट बिदा गर्न नसकेको होला।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।
Facebook Comment