मणिपुरमा फेरि हिंसा र आगजनी, मैतेइ समुदायका ३ जनाको हत्या

डिसी नेपाल
२० साउन २०८० १०:०७

काठमाडौं । मणिपुरमा फेरि एकपटक हिंसाको आगो बलेको छ । विष्णुपुर जिल्लामा शुक्रबार राति मैतेइ समुदायका तीन जनाको हत्या भएको छ । यसका साथै आतङ्ककारीले धेरै घरमा आगजनी समेत गरेका छन् ।

मैतेइ समुदायका तीन जनाको हत्या भएको विष्णुपुर प्रहरीले जनाएको छ । यसबाहेक कुकी समुदायका घरमा आगजनी गरिएको छ । केही व्यक्ति बफर जोन नाघेर मैतेइ क्षेत्रमा आएर गोली चलाएको प्रहरी स्रोतले जनाएको छ । केन्द्रीय बलले विष्णुपुर जिल्लाको क्वाक्टा क्षेत्रभन्दा दुई किलोमिटर परबाट बफर जोन बनाएको छ।

यसअघि बिहीबार साँझ विष्णुपुरका विभिन्न स्थानमा गोली हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको थियो । अनियन्त्रित भीडको सुरक्षाकर्मीसँग झडप पनि भएको थियो ।

जानकारीका अनुसार विष्णुपुर जिल्लामा रहेको दोस्रो आईआरबी इकाईको पोस्टमा विद्रोही भीडले आक्रमण गरी गोलाबारुदसहित धेरै हतियार लुटेका छन् ।

मणिपुर पुलिसले भनेअनुसार भीडले मणिपुर राइफल्सको दोस्रो र सातौं बटालियनबाट हतियार र गोला बारुद लुट्ने प्रयास गरेको थियो तर सुरक्षा बलहरूले त्यसलाई असफल बनाए ।

यसैबीच सशस्त्र बल र विद्रोहीबीच गोली हानाहान पनि भएको छ, जसमा केही सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा बलहरूले पनि आक्रमणकारीहरू विरुद्ध जवाफी कारबाही गरेका थिए। स्थिति फेरि अनियन्त्रित भएको मणिपुर प्रहरीले जनाएको छ । हातहतियार र गोलाबारुद लुटिएको छ ।

बिहीबार साँझ सुरक्षाकर्मी र आतङ्ककारीबीच हिंसात्मक झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गर्नुपरेको थियो । यससँगै मणिपुरको इम्फाल र पश्चिम इम्फाल जिल्लामा कर्फ्यूमा दिइएको छुट फिर्ता लिइएको छ।

मणिपुरमा ३ मे मा पहिलो पटक जातीय हिंसा सुरु भएको थियो। मैतेइ समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गर्नुपर्ने माग राख्दै पहाडी जिल्लामा ‘आदिवासी एकता मार्च’ निकालिएको थियो ।

त्यसपछि मणिपुरमा पहिलो पटक जातीय द्वन्द्व भयो। हिंसामा हालसम्म १६० जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् ।

मैतेइ समुदायले मणिपुरको जनसंख्याको लगभग ५३ प्रतिशत ओगटेको छ र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्। कुकी र नागा समुदायको जनसंख्या ४० प्रतिशतभन्दा बढी छ । यी मानिसहरू पहाडी जिल्लाहरूमा बस्छन्।

कुकी समुदायले अनुसूचित जनजातिको हैसियत पाए पनि मैतेइ समुदायले पनि अनुसूचित जनजातिको दर्जा पाउनुपर्ने माग गर्दै आएका छन् ।

नागा र कुकी स्पष्ट रूपमा विश्वास गर्छन् कि सबै विकासको फाइदा मूल निवासी मैतेइ लिन्छ। कुकीहरू प्रायः म्यानमार मूलका हुन् ।

मणिपुरका मुख्यमन्त्रीले वर्तमान अवस्थाका लागि म्यानमारबाट भएको घुसपैठ र अवैध हतियारलाई दोष दिएका छन्। कुकीले झण्डै २०० वर्षसम्म राज्यको संरक्षण पाए । धेरै इतिहासकारहरू विश्वास गर्छन् कि अंग्रेजहरूले कुकीहरूलाई नागहरू विरुद्ध ल्याएका थिए।

जब नागाहरूले अंग्रेजहरूमाथि हमला गर्थे, कुकीले उनीहरूको रक्षा गर्दथे। पछि तिनीहरूमध्ये धेरैले क्रिश्चियन धर्म स्वीकार गरे, जसले उनीहरूलाई फाइदा पुर्‍यायो र एसटीको दर्जा पनि पाए।

जवाहरलाल नेहरू विश्वविद्यालयको उत्तर पूर्वी भारतको अध्ययनका लागि विशेष केन्द्रका सहायक प्राध्यापक खुरिजम विजयकुमार सिंहले भने कि मणिपुरमा हिंसा दुई समूहबीचको झगडा मात्र होइन, यो धेरै समुदायहरूसँग गहिरो रूपमा जोडिएको छ। यो दशकौंदेखिको समस्या हो। अहिलेसम्म सतहमा मात्रै देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *