भारतीय सुरक्षाकर्मीको १९ हजार गोली, १९९ राइफल, २१ कार्बाइन लुटियो

डिसी नेपाल
२० साउन २०८० १५:२०

काठमाडौं । जातीय द्वन्द्वग्रस्त मणिपुरमा भीडले प्रहरी हतियार भण्डारमा तोडफोड गरी हतियार र गोलाबारुद लुटेको एक दिनपछि प्रहरी महानिर्देशक राजीव सिंहले हतियारको परिमाणबारे जानकारी दिएका छन् ।

उनले लुटपाटमा संलग्नलाई कडा कारबाही गरिने बताए । शीर्ष अधिकारीले भनेअनुसार उत्तरपूर्वी राज्य बिस्तारै सामान्य अवस्थामा फर्किरहेको भए पनि हिंसाका केही छिटपुट घटनाहरू भइरहेका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले भने, ‘हतियार लुटपाटमा संलग्न कसैलाई पनि छाडिने छैन । दोषीलाई कानुनी कारबाही गरिनेछ। भीडले विष्णुपुर जिल्लाको नरंसिनामा रहेको दोस्रो भारतीय रिजर्भ बटालियन (आईआरबी) को मुख्यालयमा प्रवेश गरी एके र ‘घातक’ सिरिजका राइफल र विभिन्न बन्दुकका १९ हजारभन्दा बढी गोली लुटेका छन् ।’

अधिकारीहरूका अनुसार मे ३ मा भीडले विभिन्न राइफलहरूका १९ हजार राउण्ड गोली, एक एके सिरिजको असल्ट राइफल, तीन ‘घातक’ राइफल, १९५ सेल्फ लोडिङ राइफल, पाँचवटा एमपीफोर बन्दुक, १६.९ एमएमको पेस्तोल, २५ वटा अन्य बुलेटप्रुफ ज्याकेट, २१ कार्बाइन, १२४ ह्यान्ड ग्रेनेड सहित हतियार लुटेका थिए ।

मणिपुर राइफल्सका जवान तोरुंगबम ऋषिकुमारलाई श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजीव सिंहले भने, “हिंसाका छिटपुट घटनाहरूको बावजुद स्थिति सामान्यमा फर्कन थालेको छ।” उनले सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरे ।

घाइते तोरुंगबमको बिहीबार राति मृत्यु भएको हो । डीजीपीले ४७ वर्षीय तोरुंगबमको मृत्युलाई “दुर्भाग्यपूर्ण” भने। इम्फाल पश्चिम जिल्लाको सेन्जाम चिराङमा बिहीबार अपरिचित बन्दुकधारीसँगको गोली हानाहानमा तोरुङबम ऋषिकुमारको टाउकोमा गोली लागेको थियो । सिंहले मृतकका परिवारलाई राहत उपलब्ध गराउने बताए ।

मैतेइ समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने मागको विरोधमा पहाडी जिल्लामा गत मे ३ मा मणिपुरमा ‘आदिवासी ऐक्यबद्धता मार्च’ आयोजना गरेपछि सुरु भएको जातीय द्वन्द्वपछि १६० जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् । । मैतेइहरू मणिपुरको जनसंख्याको लगभग ५३ प्रतिशत छन् र तिनीहरू अधिकांश इम्फाल उपत्यकामा बस्छन्। आदिवासी नागा र कुकीहरू ४० प्रतिशत भन्दा अलि बढी छन् र पहाडी जिल्लाहरूमा बस्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *