बहुबाटा र पाटाको पहिचान, राज्यको शक्ति
कतिपय अहिले पहिचानको लागि लड्दै छन् राज्यसँग। अर्थात् उनीहरु राज्यसँग आफ्नो पहिचान माग्दैछन्। तर राज्यले उनीहरुलाई पहिचान पत्र धेरै अगाडि दिइसकेको छ।
उनलाई पहिचानको महत्व थाहा नहुँदै राज्यले पहिचान पत्र धेरै अगाडि नै दिइसकेको छ। अहिले जो जो पहिचान को लागि लडेको भनेर नेतृत्व गरिरहेका छन्, उनीहरु राज्यले दिएको पहिचानपत्र खल्तीमा राखेर वा जतनले घरमा दराजमा वा बाकसमा लुकाएर लडिरहेका छन्।
पहिचान बनाउने हो माग्ने होइन। राज्यले पहिचान बनाउन सहजीकरण गरिदिने मात्र हो। राज्यले समान किसिमले कानून बनाएर पहिचान पत्र वा परिचय पत्र दिने हो जो विना भेदभाव दिइरहेको होस्।
कुनै गाउँका एकजना थापा योगी नरहरिनाथको पहिचान बनाएर सनातनी विश्वमा प्रसिद्ध छन्। कुनै गाउँको काले राईको पहिचान भाएको एक अशिक्षित युवाले आफ्नै संघर्ष, अध्ययन र मेहनतले स्वामी प्रपन्नचार्यको सम्मानित पहिचान स्थापित गरेर अमर भएका छन्।
त्यसरी नै फलामसिंह लिम्बूको सामान्य पहिचानको व्याक्ति फाल्गुनन्द नामको सम्मानित पहिचानमा नेपालको आध्यत्मिक संसारमा अमर भएर चम्किरहेका छन्।
पहिचानलाई पदको पहिचानले छोप्छ। कतिपयसँग ठामको पहिचान मात्र पनि हुनसक्छ। पहिचान परिवर्तनशील हुन्छ। एउटै जाति भित्र पनि अनेक पहिचान हुन्छन् भने एउटै व्याक्तिसँग पनि अनेक पहिचान हुन्छ।
अम्बर गुरुङ, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा आदि धेरैले आ-आफनो पहिचान वा परिचय बनाएका छन्। उनीहरुले लगन मेहनत र संघर्षले आ-आफ्नो पहिचान र परिचय बनाएका छन् नेपाली समाजमा।
उनीहरु कुनै पहिचानवादीले खोजे जस्तो संकिर्ण पहिचानमा बाँधिएर बाँचेनन्। उनीहरु त नेपाली गीत संगीतका उपल्लो स्तरका गायक तथा संगितकारको पहिचान बनाएर मृत्यु पछि पनि बाँचिरहेका छन्।
यो र यस्तो पहिचानको लागि पो लड्नु पर्ने हो त पहिचानवादीहरुले। उनीहरुले खोजेजस्तो पहिचान पत्र त राज्यले उनीहरुले पहिचानको आन्दोलन गर्नु भन्दा धेरै पहिलानै दिएकै छ नि। तीन पुस्ते खुलाएर धनी पूर्जामा पहिचान दिएको छ राज्यले।
नागरिकतामा पनि मागेको त्यस्तै पहिचान दिएको छ। जनगणनामा पनि भनेको पहिचान प्रमाणित गरिदिएको छ राज्यले। पेशा, सीप योग्यता व्यवसाय र जिम्मेवारीको पनि पहिचान या परिचय पत्र दिएकै हुन्छ राज्य वा राज्यसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका निकायहरुले।
पहिचान बनाउने हो यो बदलिँदै जान्छ। पहिचानका बहुआयामिक बाटा र पाटा हुन्छन्। पहिचान स्थायी हुँदैन। स्वयं पहिचानवादीको पहिचान फेरिएको छ भनेर उनैले महशुस गरेको हुनु पर्दछ।
उनको पहिचान हिजो गाउमा कुनै जेठा, कान्छा, छेउघरे पिपलबोटे या अरु कुनै पहिचान दिएको कसैको छोरा वा छोरीको पहिचानले चिनिन्थे उनी।
कुनै समय विद्यार्थी वा शिक्षको पहिचान बनाएका थिए होला उनले। कहिले हाकिम भए होला कहिले नेता, सांसद मन्त्री भए होला आदि आदि। नेपालमा देवकोटा थरका धेरै परिवारहरु छन्। कतिपय राष्ट्रिय स्तरमा यो वा उ मा चर्चित भएर आ आफ्नो पहिचान र परिचय बनाएका छन्।
तर यति हुँदा हुदै पनि देवकोटा भन्ने वित्तिकै नेपालीहरुले मुनामदनका रचियता महाकवि लक्ष्मीप्रसाद देवकोटाको नै पहिचान बनाएका छन् मनभरि।
रामायणसँग जोडिएर भानुभक्त आदिकविको पहिचान बनाएर देश विदेशका नेपाली माझमा सम्मानित छन्।
कुनै शेर्पाले हिमालसँग जोडिएर आफनो पहिचान बनाएका छन्। धेरै पल्ट सगरमाथा चढ्ने, थोरै समयमा चढ्ने वा पहिलोपल्ट चढ्ने भनेर।
उद्योगी व्यवसायी विनोद चौधरीले अर्बपति नेपालीको पहिचान बनाएका छन् विश्वमा। पेले,मेराडोना,मेसी,रोनाल्डोको पहिचान वा परिचय केहो भनेर प्रश्न गरो भने खेलकुद अझ फुटबलमा चासो राख्ने जो कोहिले भन्ने छन् उनीहरु फुटबलका महान खेलाडी हुन्। उनीहरुको राष्ट्रियताको पहिचान पनि जान्न चाहनेले भन्नेछन् क्रमशः ब्राजिल, अर्जेन्टिना र पुोर्चुगल।
महम्मद अलिले महान बक्सिङ खेलाडीको पहिचान बनाएका छन्। त्यस्तै रिचर्डसन र सचीन तेण्डुलकरले महान क्रिकेट खेलाडीको पहिचान बनाएका छन्।
पहिचानको लागि लड्नेहरुले कार्लमाक्र्स, शेक्सपियर, गान्धी, माओ, आइष्टाइन आदि आदि जस्ता कति लामो सूची बनाउन सक्छन काम गरेर पहिचान बनाएकाहरुको।
त्यसो त नराम्रो काम गरेर आफ्नो कुपहिचान बनाउनेहरु पनि पाइन्छन् विश्वभरि जताततै। रामायण लेखेर वाल्मिकीले महाभारत लेखेर व्यासले आ-आफ्नो पहिचानलाई अमर बनाएका छन्।
विरोध गरे पनि समर्थन गरे पनि इतिहासमा सधैं चर्चामा भइरहने पहिचान बनाएका छन् राजाहरुले पनि। प्राचीन र आधुनिक नेपालका राजाहरु यालम्बर, अंशुवर्मा यक्ष मल्ल, पृथ्वीनारायण, महेन्द्र आदि आदि।
बिसे नगर्चीले नेपाल एकीकरणमा पृथ्वीनारायणलाई रु एक उठाउने सुझाबसहित रु एक दिएर ऐतिहासिक पहिचान बनाएका छन् आफ्नो।
नेपालको प्रजातन्त्रिक इतिहासमा नेपाल प्रजापरिषदले प्रथम राजनीति दलको पहिचान बनाएका छ भने यसका सभापति टंकप्रसाद आचार्यले नेपालको राजनीति दलका प्रथम सभापति पनि।
यही प्रथम राजनीति दलको निरंकुशता विरोधी प्रजातन्त्रिक लडाइमा होमिने दृढ अठोट बोकेका चारजना युवाहरु क्रमश गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज नेपालका सम्मानित राजनैतिक शहीदको पहिचान बनाएर बाँचिरहेका छन् जहिल्यै नेपाली जनताको मन मस्तिष्कमा।
त्यही प्रजापरिषदको जरो र लहरोबाट विकसित नेपाली कांग्रेसले नेपाली प्रजातन्त्रको प्रतिनिधि प्रमुख राजनीति दलको पहिचान बनाएको छ। र त्यही दलका संस्थापक एवं वैचारिक नेता वीपी कोइरालाले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्रीको पहिचानसमेत बनाएका छन्।
त्यस्तै पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवको पहिचान बनाएका छन् भने मनमोहन अधिकारीले प्रथम कम्युनिष्ट प्रधानमन्त्रीको पहिचान बनाएका छन्।
रामवरण यादवले नेपालको प्रथम गणतान्त्रिक राष्ट्रपतिको र विद्या भण्डारीले नेपालको प्रथम महिला राष्ट्रपतिको ऐतिहासिक पहिचान बनाएका छन्।
अब पहिचानका अरु दृष्टान्त आवश्यक छैन र गौरवशाली नेपाली पहिचानलाई खण्डित वा ओझेलमा पार्ने संकिर्ण र राजनीति स्वार्थको कुनै जातीय पहिचानको आन्दोलनको जरुरी पनि छैन।
जातको पहिचानलाई नामको पहिचानले छोप्न सक्छ। नामको पहिचानलाई कामको पहिचानले छोप्न सक्छ। कामको
पहिचानलाई पदको पहिचानले छोप्छ। कतिपयसँग ठामको पहिचान मात्र पनि हुनसक्छ। पहिचान परिवर्तनशील हुन्छ। एउटै जाति भित्र पनि अनेक पहिचान हुन्छन् भने एउटै व्याक्तिसँग पनि अनेक पहिचान हुन्छ।
पहिचानको फाँट क्षेत्र व्यापक हुन्छ। पहिचान एउटै गुन्द्रीमा पलेटी कसेर बसिरहने कुनै स्थायी विषय होइन। यो परिवर्तन हुन्छ। स्थयी पहिचान भनेको विशेष गुण र विशेष क्षमता मात्र हो।
शिक्षा, ज्ञान, काम क्षमता र समृद्धिले पहिचान बदल्छ, पहिचान दिन्छ। एउटै पहिचानको राजनीति आफैंमा अप्राकृतिक छ।
जहाँ सम्म अधिकारको लडाई छ यो सबैले जारी राख्नु पर्दछ। समानताको लडाईं छ जारी राख्नु पर्दछ। पहिचान र अधिकारको लडाइलाई छ्यासमिस पारियो भने यसले दिने गञ्जागोल् मात्र हो।
आफ्नो सांस्कृतिक पहिचान मेटाउँदै पश्चिामा सांस्कृतिक पहिचान अंगाल्ने अनि आफू आफ्नो पहिचानको लागि लडेको भन्ने पाखण्ड राजनीतिले समस्या मात्र दिन्छ समाधान दिँदैन।
यो पनि साँचो हो जीवनको यात्रामा पहिचानका अनेक चौतारीहरु भेटिँदै जान्छन भने अनेक पहिचानका चौतारीहरु मेटिँदै पनि जान्छन्। पहिचान स्थापित र विस्थापित हुने क्रम चलिरहन्छ। पहिचानको लागि लड्नेहरुले यो तथ्यलाई बिर्सनु हुँदैन।
पहिचान बनाउने हो कागजको फारम भरेर राज्यसंग मागेको पहिचान पत्र राज्यले दिएकै छ। त्यो ठूलो कूरो भएन। नेपालमा भएका जातीय पहिचानलाई विशेषज्ञको राय सुझाव लिएर संविधानमा अनसूची बनाएर सूचीकृत गर्न सकिन्छ।
जातीय पहिचानको राजनीतिले राष्ट्रको साझा पहिचान र संगठित तागतलाई कमजोर र खण्डित पार्न सक्छ भनेर सबै सचेत हुनुपर्दछ। पहिचानको लडाइमा विदेशीहरुले अर्थ र मन्त्रको लगानी गरेर कतिपय मुलुकलाई स्थाइ द्वन्द्वमा फसाएका उदाहरणबाट सबैले पाठ सिक्नु पर्दछ।
क्षमताले दिने पहिचान वा योग्यता क्षमताको जगमा काम र योगदानले दिएको पहिचान दिगो हुन्छ सर्वस्वीकार्य हुन्छ। तपाइले बनाएको पहिचान आजको लागि पनि होस् भोलिको लागि होस् सबैको लागि होस् र सम्मानित पहिचान समाज र राष्ट्रको साझा सम्पति होस्।
जातीय पहिचानको राजनीतिले राष्ट्रको साझा पहिचान र संगठित तागतलाई कमजोर र खण्डित पार्न सक्छ भनेर सबै सचेत हुनुपर्दछ। पहिचानको लडाइमा विदेशीहरुले अर्थ र मन्त्रको लगानी गरेर कतिपय मुलुकलाई स्थाइ द्वन्द्वमा फसाएका उदाहरणबाट सबैले पाठ सिक्नु पर्दछ।
तपाईंको गौरवशाली अतीतका पहिचान बचाउने तागत पनि तपाईं नै हो र भविष्यको पहिचान पनि तपाई नै हो। आफूलाई अतिवादी र संकिर्ण पहिचानको लडाईँको बाटो हिँड्नबाट आफूलाई बचाउने या अल्याग्याउने पनि तपाईं नै हो। आफूलाई पहिचानको फराकिलो फाँटमा लैजाने तागत अरु कोही नभएर तपाईं आफू नै हो।
तपाईंको भाषा, धर्म, संस्कृति, सभ्यता, रिती रिवाज, भेषभुसा, शिक्षा ,कला, रहनसहन, जीवनशैली आदि एकमुष्ठ पहिचानका आधार हुन्। तपाईं यो जोगाउन लाग्नुपर्छ।
तपाईंका यस्ता पहिचानका आधारहरु राज्यले आफ्नो शक्ति र सम्पत्ति ठानेर यिनलाई अधि बढाउने अनुकूल नीति बनाएको हुनुपर्छ। तपाईंका पहिचान राज्यका पनि पहिचान हुन् भन्ने बुझ्न सक्नुपर्दछ। राज्यका सम्पत्ति र शक्ति हुन् भन्ने सबैले बुझ्न सक्नुपर्दछ।
तपाईंले पहिचानको लागि लड्दा राष्ट्रको पहिचान र एकता लड्नु हुँदैन। आफ्नो पहिचान विस्थापित भएर बाह्य पहिचान स्थापित हुनुहुँदैन।
पहिचान जोगाउने, पहिचान बनाउने, जातीय एकता, राष्ट्रिय एकता र राष्ट्र जोगाउने पहिचानको सार हो भन्ने हेक्का राखेमा नेपाल साँचो अर्थको सबै जातको पूmलबारी भएर फक्रनेमा कुनै शंका गर्नु पर्दैन।
Facebook Comment