माओवादीका अधिकांश केन्द्रीय सदस्यले बोल्नै पाएनन्, पाएकाहरूको समय कम भएको गुनासो
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को बुधबारदेखि सुरु भएर आइतबारसम्म जारी केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले बोल्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समितिको बैठक आइतबार सकिँदै छ। केन्द्रीय सदस्यले धारणा राखेर नसकिँदै बैठकको समापन गर्न लागिएको हो।
बैठकमा सम्पूर्ण केन्द्रीय सदस्यहरुले आफ्नो धारणा व्यक्त गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्न थालेका छन्। पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न पाँच मिनेट समय निर्धारण गरिएको थियो।
३८५ केन्द्रीय सदस्यसहित १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, पार्टीका विभिन्न आयोगका प्रमुख, ३२ विभाग र १९ जनवर्गीय संगठनका प्रमुख लगायत ६०० जनाको उपस्थिति रहेको बैठकमा २०० जनाले मात्रै आफ्नो धारणा व्यक्त गरेका थिए।
माओवादीका केन्द्रीय सदस्य कुमार बोगटीले बैठकमा उपस्थित ४०० जनालार्ई बोल्न समय उपलब्ध नगराएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्।
उनले लेखेका छन्, ‘पार्टीको केन्द्रीय समिति बैठकमा ६०० जनाको उपस्थिति छ। बैठकमा जनवादको उच्च प्रयोग त भयो। तर बढीमा २०० जनाको लागि मात्रै बाँकी उपस्थित ४०० जना हामी हेरेको हेर्यै भयौं।’
माओवादीको बैठकमा उपस्थित ६०० जनामध्ये २०० जनाले मात्रै धारणा राखेको र तीमध्ये अधिकांश प्रदेश पदाधिकारी रहेकोे बोगटीले डिसी नेपाललाई जानकारी दिए।
उनले पार्टीका बारेमा रचनात्मक सुझाबसहित केही राजनीतिक विषयमा आफ्ना धारणा व्यक्त गर्ने मनशाय हुँदाहुँदै पनि बोल्न समय नपाएको गुनासो गरे।
उनले भने, ‘पार्टीको संगठनात्मक सुधारका लागि कतिपय विषय उठान गर्ने जमर्को गरेको थिएँ। तर समय नै उपलब्ध गराइएन।’
नेता बोगटीले अधिकांश प्रदेशका पदाधिकारीलाई समय उपलब्ध गराइएको बताउँदै केन्द्रीय सदस्यलाई बेवास्ता गरिएको आरोप लगाए। ६०० जनाको उपस्थितिमा २०० जनालाई मात्रै बोल्न दिएर बाँकी ४०० जनामाथि अन्याय गरिएको उनको भनाइ छ।
माओवादीको केन्द्रीय समितको बैठकमा केन्द्रीय सदस्यलाई पाँच मिनेट समय निर्धारण गरिएकोमा समेत केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन्। विरलै बस्ने बैठकमा आफ्नो धारणा व्यक्त गर्न निर्धारण गरिएको पाँच मिनेटको समय पर्याप्त नभएको भन्दै केही केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेको माओवादी स्रोत बताउँछ।
आइतबार सकिन लागेको केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समितिमा केही सदस्य थप गरेको छ। ३८५ जना केन्द्रीय सदस्य रहेको माओवादीले २२ जना थप गरेको हो। यस्तै वैकल्पिक केन्द्रयि सदस्यमा पनि ६९ जनालाई थप गरिएको बताइएको छ।
Facebook Comment