राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग
गण्डकी। दैलेखदेखि आएका राउटे समुदायका अगुवाले आइतबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् ।
मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनीहरुले मुख्यमन्त्री पाण्डेसमक्ष राउटे समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।
राउटे समुदायको गासवासको जोहाका लागि आर्थिक सहायता मागेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट रु ५० हजार सहयोग प्रदान गरेका थिए । सो अवसरमा उनले राउटे समुदायको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका थिए ।
राउटे समुदायका अगुवा लालबहादुर शाहीले सहयोग रकम राउटे जातिको खाना र आवासमा खर्च गरिने बताए ।
उनले सातवटै प्रदेश सरकारबाट आर्थिक सङ्कलन गरिने जानकारी दिए। शाहीले लोपोन्मुख राउटे जातिको गासवाससहित जीवकोपार्जनमा नेपाल सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राखे ।
Facebook Comment